Menu

सुविधा सहकारीका सञ्चालकलाई सहकारी ऐन बारे सचेतना प्रदान !

बागलुङ, २०७४ माघ १९ । सुविधा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङका सञ्चालकहरुलाई सहकारी ऐन सम्बन्धी सचेतना शुक्रवार प्रदान गरिएको छ ।

हालै जारी भएको सहकारी ऐन २०७४ का विषयमा जानकारी दिई ऐन नियम र विनियम अनुसार संस्था सञ्चालन गर्नका सहज होस् भनेर सचेतना तालिम प्रदान गरिएको संस्थाका अध्यक्ष दिपेन्द्र बाँस्कोटाले जानकारी दिए ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी संघ संस्थालाई विधिसम्मत रुपमा सञ्चालनका लागि ऐन नियम र निर्देशनहरुका बारेमा जानकारी आवश्यक रहेको बताए ।

व्यवहारिकताका नाममा सहकारीको मूल्य, मान्यता, सिद्धान्त र ऐन नियम भन्दा फरक ढंगले सहकारी सञ्चालन गर्न नहुने भन्दै जीसीले नीति, विधि र प्रविधिको अधिकतम उपयोग गर्नु पर्नेमा जोड दिए ।

सहकारी ऐनले दीगो र सक्षम सहकारी निर्माणमा योगदान गर्नका लागि यसका सरोकारवालाहरुले ऐन कार्यान्वयनमा सहजता ल्याउनु पर्ने उनको भनाइ थियो ।

२०४८ सालको सहकारी ऐनलाई खारेज गरी २०७४ असोज ३ गते जारी भई कात्तिक १ गतेदेखि लागु भएको नयाँ सहकारी ऐनले संस्था दर्ता, अनुगमन, नियमयन लगायतका विषयमा सहजता ल्याएको जनाइएको छ ।

सहकारी क्षेत्रमा लगाइदै आएको कर कम गर्नुका साथै एउटै विषयका एक भन्दा बढी सहकारी संस्थामा सदस्य बन्न नपाइने, एउटा भन्दा बढी संंस्थाको सञ्चालक बन्न नपाइने, गैर शेयर सदस्यसंग कारोबार गर्न नपाइने, वचत र कर्जाको ब्याजदरको अन्तर ६ प्रतिशत भन्दा बढी लिन नपाइने, शेयर सदस्य बनेको तीन महिना भन्दा पहिला कर्जा लगानी गर्न नपाइने, संस्थाको कार्यक्षेत्र भन्दा बाहिर गएर कारोबार गर्न नपाइने लगायतका प्रावधान राखेको सो अवसरमा जानकारी दिइएको थियो ।
सहकारीको ऐन विपरितका काम गरेरमा १ लाख जरिवाना र १ वर्ष कैद देखि १० वर्ष कैद र बिगो बराबरको जरिवानाको व्यवस्था नयाँ ऐनले गरेको छ ।
यस्तै सहकारी ऐन अनुसार दर्ता भएका कम्तिमा पच्चिस वटा सहकारी संस्थाहरु आपसरमा मिलेर जलविद्युत आयोजना, रासायनिक मल कारखाना, आवासी परियोजना, यातायात, भारी कृषि उपकरण, फलफूल प्रशोधन,, जडिबुटी प्रशोधन, चिनी उद्योग, शीत भण्डार, अस्पताल, शिक्षालय, प्राविधिक शिक्षालय, प्रयोगशाला लगायत ठुला लगानीका काम गर्न विशिष्ठिकृत सहकारी घ गठन गर्न सक्ने व्यवस्था ऐनले दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *