Menu

माग सम्वोधन नभए नगरपालिका बिरुद्ध सशक्त आन्देलन गर्ने अभियानको चेतावनी !

नगरपालिकाको मनोमानीबाट दर्जनौं नगरवासीको बिचल्ली: जिल्ला प्रशासन/जिविस मौन !

हरि शर्मा , बागलुङ २०७३ माघ २३ । बागलुङ नगरपालिका कार्यालयको कृयाकलापलाई लिएर नगरवासी आन्देलित छन् । नगरपालिका र नगरवासीवीचको दूरी झन भन्दा झन बढीरहेको छ । पछिल्लो नगरपरिषदमै नगरवासीहरु गएर बिरोध गरेपछी तीन घण्टा परिषद नै रोकिएको थियो । राजनीति दलका प्रतिनिधी, नगरपालिका वीचको छलफलबाट नगरवासीले उठाएको माग सम्वोधन गर्ने सहमति भएपछी मात्र नगरपालिकाको आयव्यय सार्वजनिकीकरण गरिएको थियो ।

तर त्यस्को केहि दिनमै नगरपालिकाले सहमति कार्यान्वयन नगरेको भन्दै नगरवासीहरुको नारावाजी सहतिको जुलुसले रातामाटा स्थित कार्यालय र समीक्षालय चेकमा रहेको सेवाकेन्द्रको कार्यालयमा तालाबन्दी गरेका थिए ।

त्यस्को लगत्तै नगर सुधार अभियानको नेतृत्वमा नगरवासीहरुले नगरपालिकाको मनोमानीका विरुद्ध हस्ताक्षर सहितको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए । नगरवासीहरु प्रश्न गर्छन्, हाम्रो पीडा कस्ले सुन्ने ? कार्यालयमा ताल्चा लगाउदा पनि सरोकारवालाहरुको ध्यानाकर्षित हुन सकेन, जिल्ला प्रशासन कार्यालयमा प्रजिअलाई नगरपालिकाको अन्याय र ज्यादतीका बारेमा हस्ताक्षर बुझाउदा पनि कानमा तेलहालेर बस्ने काम भएको छ । समन्वयकारी भूमिका खेल्न सराकोरवाला निकायहरु संवेदनशील देखिएका छैनन् । पीडित नगरवासीहरुको एउटै आवाज छ, ‘नगरपालिकाको मनोमानीबाट पीडित नगरवासीको पीडा कस्ले सुन्ने ?’

नगरवासीका मागहरुलाई समयमै सम्वोधन नगरिनाले नगरवासी र नगरपालिकावीच दूरी बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै नगर सुधार अभियानका अगुवाहरुले आज पत्रकारहरु संग भेटघाट गरेर अन्यायको विरुद्ध आवाज बुलन्द पार्ने उद्घोष गरेका छन् ।

बागलुङ नगरपालिकाको नक्सापासको मापदण्ड सम्बन्धि स्पष्ट नीति नभएको र नगरपालिकाको कार्यशैली नगरबासीका लागि अन्याय र अत्याचार पूर्ण भएको भन्दै आन्दोलित बनेका छन । आइतबार पीडितहरुले पत्रकारहरु समक्ष नगरपालिकाले नगरवासीहरुमाथि गरेको अत्याचार निन्दनीय रहेको बताए ।

आन्दोलनरत पक्षले नगरपालिकाले नियम विपरीत नक्सा पास गरेको भन्दै पीडित नगरबासी मध्येका बानपा ११ का होमलाल शर्मा, राजेन्द्र सापकोटाले मापदण्ड अनुसार डेढ मिटर छोड्दा पनि नक्सा पास नभएको र नगरपालिकामा कार्यारत विकास शर्माले पेश गरेको राजिनामा सम्बन्धमा छानविन हुनुपर्ने बताए ।

त्यस्तै उनीहरुले केही भवनहरु नक्सा पास नभइकन निर्माण हुँदा पनि नगरपालिकाको कुनै ध्यान नजानु र मापदण्ड अनुसार निर्माण भएका भवनहरुको नक्सापास नहुनु कतै नगरपालिकाले आर्थिक चलखेल गरेको त छैन रु भन्ने प्रश्न उठाएका थिए । त्यस्तै बानपा २ बालमन्दिररोड घर भएकी पीडित सावित्रा पौडेलले आफ्नो पैत्रिक सम्पत्तिमा पनि नगरपालिकाले कित्ता नम्वर फरक पर्यो भन्दै नक्सा पास नगरी दिएको र पटक पटक धम्क्याउने गरेको आरोप लगाइन् ।

नगरपालिकाका ठेकेदारहरुले मापदण्ड अनुसार भएको जग्गाको नक्सा पास गर्दिन पछि पछि भन्दै टार्दै गए , पीडित पौडेलले भनिन्, ठेकेदारहरुले घरमै आएर धम्क्याउदा मलाई मानसिक तनाव भएको छ ।

त्यस्तै पीडित सापकोटाले पनि आफुहरुको जग्गा मापदण्ड अनुसार भएपनि नगरपालिकाले नक्सा पास नगरी अन्याय गरेको बताइन् । त्यस्तै बानपा ११ का पीडित गुणनिधी शर्माले छिमेकीको जग्गामा वर्कशप परियोजनाका लागि आफुलाइ असर पर्ने भन्दै र त्यस्का लागि मापदण्ड विपरीत वर्कशप खोल्ने भनेर नगरपालिका र जिविसले पास गर्नु नियम विपरित भएको दावी गरे ।

नगरपालिका ठेकेदारले त्यस्का विपरित निवेदन पेश गरेपनि नगरपालिकाले स्वीकृत नदिएको दुखेसो पोखे । त्यस्तै उनले सुन्दर नगरपालिकालाइ कुरुप बनाउन खोजेको आरोप लगाए । यस्तो कार्यका विरुद्धमा कार्यालयमा पत्रकार,प्रशासनले के गर्न सक्छ हामीलाइ ? भन्ने शव्दहरु पनि आउने गरेकाले पत्रकार मित्रहरुलाइ पनि चुनौती दिएको विषय उनले उठाए ।

त्यस्तै नगर सुधार अभियानका संयोजक पद्मचन्द्र राजभण्डारीले नगरपालिकाले गरेको ज्यादती विरुद्ध आगामी दिनमा अझै सशक्त आन्दोलनका कार्यक्रम गर्ने बताउदै नगरपालिकाको वेवास्ताका कारण ७५ घर भवनहरु अलपत्र परेको जानकारी दिए ।
नगरपालिका माथि कडा आक्रोश पोख्दै उनले आफुले २४ बर्षसम्म यहाँ धेरै कार्यालय प्रमुख सँग सम्झौता गरेको तर अहिलेसम्मकै अत्याचार र अन्याय गर्ने नगरपालिका प्रमुख र ठेकेदार नबेहोरेको बताए ।

कार्यक्रम नगरसुधार अभियानका संयोजक पद्मचन्द्र राजभण्डारीको अध्यक्षता र दिपेन्द्र बास्कोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *