Menu

अन्तरजातिय बिबाह गरेकै कारण मृतक २ महिने छोराको दाह संस्कारमा समस्या !

लोकेन्द्र सुनार/सुमन सुनार, २०७४ माघ ६ । अन्तरजातिय विबाह गरकै कारणले गर्दा मृतक छोराको अन्तीम दाहसंस्कार गर्न घर परिवारले अस्विकार गरे पछि २ दिन देखि विचल्लीमा परेकी निसीखोला गाँउपालिका–७ राजकुतकी विना सुनारको २ महिने छोराको आज दाहसंस्कार गरिएको छ ।

बुबा भक्त बहादुर सुनारका वर्ष २९ की छोरी विना सुनार र बडीगाड गाँउपालिका–७ भिमगिठे, सल्लाखर्क निवासी जोक बहादुर घर्ती मगरको छोरा वर्ष ३० का दुर्गा घर्ती मगरले गत बैशाखका प्रेम विवाह गरेका थिए । उनिहरु विच अन्तरजातिय विबाह भएका कारण परिवारले अस्विकार गरेपछि घर्ती विनालाई छोडेर बेपत्ता भएका थिए ।


मृतक बच्चाकी आमा विना सुनार घर्ती ।

आफ्नो श्रीमान बेपत्ता भए पछि केहि महिना देखि माईती घरमा बस्दै आएकी विनाले गत मंसिर २० गते माईतमा नै छोरा जन्माएकी थिईन् । श्रीमान बेपत्ता भए पछि विनाको माईती पक्षले पटक–पटक प्रहरी उजुरी गरे पनि प्रहरीले निजलाई पत्ता लगाउन सकेको छैन । बेपत्ता श्रीमानको पखाईमा माईती घरमा आफ्नो छोरा सम्हालेर बसेकी विनाले गाँउ समाजबाट पनि निकै अपहेलना सहनु परेको छ ।

विगत केहि दिन देखी उनको छोरा अचानक विरामी परेपछि विना उपचारका लागी विहिबार प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा आएकी थिईन् । स्वास्थ्य केन्द्रका डाक्टरहरुले चेकजाँच पछि बच्चालाई निमोनियाँ भएको र यहाँ उपचार हुन नसक्ने भन्दै तत्काल पाल्पा लैजान आग्रह गर्दै रिफर गरिदिएका थिए । यसरी स्वास्थ्य केन्द्रबाट रिफर गरिदिएपछि पाल्पा जाने तयारीका लागी विना घर फर्किएको र अर्को दिन अर्थात शुक्रबार छोराका उपचारका लागी पाल्पा जान भनी घरबाट बुर्तिबाङ तर्फ आउने क्रममा विहान करिव ९ बजेको समयमा छोराको बाटैमा मृत्यु भएको थियो ।

छोराको मृत्यु पछि उनले अन्तीम दाहसंकारका लागी घरपरिवारमा खवर गर्दा घरपरिवारले सिधै अस्वीकार गर्दै जेसुकै गर्न भनिदिए पछि उनी २ दिन देखि विचल्लीमा पर्नुका साथै दाहसंस्कारमा समस्या भएको थियो ।

परिवारका तर्फबाट अस्विकार भए पछि आफुले अन्तरजातिय विबाह गरेकै कारण छोराको दाहसंस्कारमा समेत समस्या भएको भन्दै स्थानिय जनप्रतिनिधीहरु निसीखोला गाँउपालिका वडा नं. २ का अध्यक्ष कुविर विश्वकर्मा र वडा नं. ७ का वडा अध्यक्ष तेजिन्द्र विक्रम कुवँर नहकुल मार्फत ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा खवर गरिएको थियोे ।

प्रहरी कार्यालयमा खवर गरे लगत्तै ईलाका प्रहरी कार्यालय बुर्तिबाङको निर्देशनमा भिमगिठे प्रहरी चौकीले घर्तीको परिवारलाई भिमगिठेबाट झिकाईएको थियो । प्रहरी प्रशासन र जनप्रतिनिधिहरुको कडा चेतावनी पछि बाध्य भएर आज २ दिन पछि मात्रै विनाका ससुरा जोकबहादुर घर्ती र सासू समेत आई कुलअनुसार प्रहरी, स्थानिय जनप्रतिनिधि, पत्रकारहरुको रोहबरमा अन्तिम दाहसंस्कार गरिएको निसीखोला गाँउपालिका–२ का वडा अध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए ।

दाहसंस्कारमा निसीखोला गाँउपालिका– ७ का अध्यक्ष तेजिन्द्र विक्रम कुँवर नहकुल, दलित अधिकारकर्मी तथा सामुदायिक रेडियो परिवर्तन ९२ मेगाहर्जका प्रबन्ध निर्देशक लोकेन्द्र सुनार लगायत स्थानिय समाजसेवी बुद्धिजिवीहरुको उपस्थीती रहेको थियो ।

नेपालमा जातिय विभेद तथा छुवाछुत विरुद्धका विभिन्न कानुनहरु बने पनि त्यसको कार्यन्वय भने हुन सकेको छैन । कानुन कागजमा मात्रै सीमित हुन पुगेको छ । आजको बैज्ञानिक युगमा पनि हाम्रो समाज अनि समुदाय अझै सचेत हुन सकेको छैन् । अन्तरजातिय विबाह गरेका विना जस्तै कैयौ जोडीहरुको घरपरिवारले अस्विकार गर्दा र समाजबाट अपहेलित हुदा विचल्लीमा पर्ने गरेका त छन नै आत्महत्या समेत गर्ने गरेका घटना समाजमा देखिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *