Menu

गनपा- ३ को अगुवाईमा हटियाको लोकतन्त्र देखी गणतन्त्र चोक सम्म सरसफाई !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ माघ ६ । गल्कोट नगरपालिका वडा नम्बर ३ हटियाले आजदेखि बजार सरसफाई अभियान सञ्चालन गरेको छ । हटिया बजारको लोकतन्त्र चोक, भित्री बजार गौदी खोला सँगै बजार भित्रका प्रत्येक नाली हुदै गणतन्त्र चोक सम्म सरसफाई गरिएको वडा सदस्य झहर बहादुर खत्रीले बताए ।

सरसफाई अभियानमा बजारबासीले हातमा कुचो, डष्टविन लगाएत सरसफाईको सामग्री लिएर बजारमा भएका विभिन्न किसिमका फोहोरहरुलाई कुहिने र नकुहिने छुटाएर नष्ट गरेका छन । सरसफाई अभियानमा बजारबासी, वार्डका सदस्यहरु लगायतको सहभागीता रहेको थियो ।

बजारलाई सफा र स्वच्छ बनाउने उदेश्यले बजार सरसफाई गरिएको हो । गौदी खोलामा बजारवासीले फालेको फोहोर पनि आज विभिन्न ठाँउमा लगेर नष्ट गरिएको छ । यस अघि बजारबाट निस्कने फोहोर खोलामा फाल्दा खोला नै दुषित भएको थियो । आफ्नो घर वा पसलबाट निस्कने फोहोरलाई आफै व्यवस्थापन गर्ने वडाले निर्देशन दिएको छ ।

यसै सन्दर्भमा ईबागलुङसंग कुरा गर्दै वडा अध्यक्ष वीरजङ भण्डारीले हटिया बजार सरसफाई गर्नका लागी वडा नम्बर ३ ले अगुवाई गर्ने बताएका छन् । वडा नम्बर ३ को हटिया बजारलाई सफा र सुन्दर बजार बनाउनका लागी आफनो नतृत्वमा वडाले भूमिका खेल्ने भण्डारीको भनाई थियो ।

हटिया बजारमा जनघनत्व बढ्नु र सवारी साधनको चापले गर्दा दिनानुदिन बजार र गौदीखोला प्रदुषित बन्दै गएको छ । वडा अध्यक्ष भण्डारीले कसैले गौदी खोला वा आसपासको ठाँउमा फोहोर फाले निगरानी राख्ने र आवश्यक अनुसारको जरिवाना तथा कारबाही गर्ने चेतावनी समेत दिए ।

भण्डारीले आफ्नो घर वा पसलबाट निस्कने फोहोर धेरै भई ब्यवस्थापन गर्न नसके नसके वडा कार्यलयमा सम्पर्क राख्न समेत आग्रह गरे । फोहोर व्यवस्थापनको लागि अब केहि समयपछि उचित ठाउको व्यवस्था गरिने समेत अध्यक्ष भण्डारीले जानकारी दिए । वडाले अब देखि प्रत्येक महिनाको २ पटक बजार सरसफाई गर्ने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *