Menu

विचार : अनुशासन र अराजकताको अन्तरविरोध !

– सागर कुवर

अराजकता के हो? किन र कसरी उत्पन्न हुन्छ? अराजकताको श्रोत के हो? यो बारेमा थुप्रै विष्लेशणहरु पाइन्छन। वास्तवमा कम्युनिस्ट पार्टीमा अराजकताको श्रोत के हो? यो बारेमा केही प्रश्नहरु बारम्बार उठ्ने गर्दछन। मार्क्सवादी लेनिनवादि पार्टीमा जनवादी केन्द्रियताको आधारमा सङठनको परिचालन गर्ने गरिन्छ। त्यहाँ माथिल्लो तहका निर्णयहरुलाई कडाइका साथ तल्ला समितिहरुले पालना गर्नु पर्ने हुन्छ।छलफलमा स्वतन्त्रता र काममा एकरुपता मार्क्सवादी लेनिनवादी पार्टीको लागि अनिवार्य शर्त हुन ।त्यो अनुशासनको प्रधान पक्ष हो । त्यसरी अनुशासनको उलंघन भयो भने त्यो अराजकता मानिन्छ । कम्युनिस्ट पार्टीमा विशेष गरेर अरजकता र अनुशाशनविहिताको स्थिती कसरी पैदा हुने गर्दछ र त्यसको ठोस सच्चाई के हो? यस विषय मा केही सवालहरु उल्लेख गर्ने प्रयत्न गरिएको छ।

एक, निम्न पुजीवादी चिन्तन । पार्टीमा लागेका पार्टी नेता/ कार्यकर्तामा जब निम्न पुजीवादी सोचाइले बिजय प्राप्त गर्दछ, उनिहरुले त्यसप्रकारको स्थितिमा पार्टी अनुशासनको उलंघन गर्ने गर्दछन र पार्टीमा अराजकता देखिन्छ। त्यसको पछाडी शिघ्रलाभको अपेक्षाले बढी नै काम गरेको हुन्छ। त्यस प्रकारको अवस्था आउनको लागि वैचारिक हिसाबले पार्टीले सहि प्रकारले आफ्ना कार्यकर्तालाई प्रशिक्षणमा गराएको अभावले पनि उत्पन्न हुने गर्दछ। त्यो बाहेक अन्य स्वार्थहरुले पनि त्यो स्थिती कम्युनिस्ट पार्टीमा निरन्तर देखा पर्ने गर्दछ त्यसलाई नियन्त्रण गरेर अगाडि बढ्नु पर्दछ।

दुई, पार्टीमा कहिले काहीं भड्कावहरु देखा पर्ने गर्दछन। ती भडकावहरु विभिन्न रुपमा देखिन्छ। कहिले क्रान्तिकारी आवरणमा त कहिले उग्रवामपन्थी भडकावमा र कहिलेकाही सिधै दक्षिणपन्थि भडकावमा पनि । देब्रे र दाहिने जुन सुकै कोणबाट पनि त्यस प्रकारका भडकावहरु देखा पर्न सक्दछ। त्यस अवस्थामा पार्टीमा अराजकता र अनुशासनविहिनताको स्थिती पैदा हुन्छ। त्यसतो स्थिती कहिलेकाही त नियन्त्रण भन्दा बाहिर पनि हुने गर्दछ। त्यहाँ विषेश गरेर नियतले काम गरेको पाइन्छ। यो पार्टी आन्दोलन र क्रान्तिको लागि सुखद पक्ष होइन। यसले क्रान्तिकारी आन्दोलनलाई हित गर्दैन।

तिन , वैचारिक स्खलन । जब पार्टी नेतृत्वले वैचारिक सैद्धान्तिक हिसाबले क्रान्तिकारी लाइनलाई तिलाण्जली दिदै जान्छ, त्यो अवस्थामा क्रान्तिकारी विचार र सिद्धान्तको रक्षाको लागि कैयौं क्रान्तिकारी नेता/ कार्यकर्ताले अनुशासनको घेरा तोड्ने गर्दछन। त्यसलाई सस्थापन पक्षले अराजकताको पगरी गुथाइदिन्छ। वास्तवमा त्यो अराजकता यान्त्रिक अनुशासनको भद्दा स्वरुप माथीको प्रहार हो र क्रान्तिकारी विचारको रक्षाको लागी उठाइने महत्वपूर्ण कदम हो। इतिहासका कैयौं समयमा त्यसप्रकारको अवस्था सृजना भएको पाइन्छ

चार, द्वन्द्वात्मक तथा यान्त्रिक अन्तरविरोध। मार्क्सवादी लेनिनवादि पार्टीले अनुशासनलाई सधै द्वन्द्वात्मक तरिकाले हेर्दछ र त्यसलाई लागू गराउने सवालमा द्वन्द्वात्मक पद्धति अपनाउने गर्दछ। जब अनुशासनको पक्षलाई यान्त्रिक प्रकारले लागू गर्ने गरिन्छ, त्यस अवस्थामा स्वभाविक हिसाबले अराजकताको स्थिति पैदा हुने गर्दछ। एउटा जिवित मार्क्सवादी लेनिनवादी पार्टीले दुई लाइन सघर्षलाई आफ्नो पार्टी जिवनको महत्त्वपूर्ण बाटो हो भनी मान्दछ र त्यसलाई व्यवहारिक कसिमा लैजान्छ। तर मार्क्सवादी लेनिनवादी विचार र सिद्धान्तबाट त्यो पार्टी थोरै पनि चिप्लिएर जान्छ, त्यसले यान्त्रिक अनुशासनको विकल्प रोज्दछ। तर वास्तविक क्रान्तिकारीहरुले त्यसलाई स्विकार्न सक्दैनन। त्यस समय त्यस पक्षले अराजकताको बिल्ला भिराइदिन्छ। वास्तवमा भन्ने त्यो अराजकता (ठोसमा अराजकता भन्दा नि त्यो क्रान्तिकारी विचारको रक्षाको लाई उठाइएको कदम) द्वन्द्वात्मक पद्धति सहितको अनुशासनको पक्षमा हुन्छ र वास्तविक क्रान्तिकारी शक्ति निर्माणको पक्षमा हुन्छ।

माथी उल्लेखित सवालमा पहिलो र दोस्रोले पार्टी आन्दोलन र क्रान्तिलाई नोक्सान गर्दछ भने तेस्रो र चौथोले क्रान्तिकारी आन्दोलनको हित गर्दछ। विशेष परिस्थिति जुन माथी नै उल्लेख गरिएको छ, क्रान्तिकारी आन्दोलनमा जब वैचारिक सैद्धान्तिक हिसाबले नै पार्टी नेतृत्वले क्रान्तिकारी आन्दोलनको मुभमेन्टलाई दक्षिणपन्थतर्फ लैजान्छ, त्यस स्थितिमा अनुशासनको मात्र रटानमा जाने जो भने त्यो सिधै बिसर्जनको बाटो हुन्छ। त्यस्तो अनुशासन एउटा मार्क्सवादी लेनिनवादी पार्टीले कायम गर्ने अनुशासन नभएर यान्त्रिक अनुशासन बन्दछ, निरपेक्ष अनुशासन बन्दछ। एउटा मार्क्सवादी लेनिनवादी पार्टीमा सधै भरी अनुशासनको पक्षलाई द्वन्द्वात्मक तरिकाले नै हेरिन्छ र लागू गरिन्छ। त्यो नै क्रान्तिकारी आन्दोलनको लागि सहि अनुशासनको अनुशरण हो।

बागलुङ २०७४ माघ ६ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *