Menu

कर संशोधन लगायतका विधेयकमा सहमती जुट्न नसकेपछी नगरसभा एक महिनालाई स्थगित !

लोकेन्द्र निरासी, बुर्तिबाङ २०७४ माघ ४ । ढोरपाटन नगरपालिकाको दोस्रो नगरसभाको आज तेस्रो पटक कर संशोधन लगायतका विधेयकमा सहमती जुट्न नसकेपछि नगरसभा एक महिनाको लागि स्थगित भएको छ । ढोरपाटन नगरपालिकाको उक्त नगरसभा आगामी फागुन ५ गतेसम्मका लागि स्थगित गरिएको हो ।

ढोरपाटन नगरपालिकाको उक्त नगरसभाबाट नगर कार्यपालिको बैठक सञ्चालन कार्यविधि संशोधन सहित पारित भएको छ । उक्त कार्यविधिको दफा १२ को १, ३, २९ र ३० संशोधन सहित पारित गरिएको छ भने नगरसभा संचालन कार्यविधि समेत संशोधन सहित पारित भएको छ । उक्त दुवै विधेक संशोधनका लागि सभाका सदस्य एवं वडा नं. ४ का वडा अध्यक्ष तिलक पुनले संशोधन प्रस्ताव पेश गरेका थिए । त्यसै गरि सभामा विपत राहत विनियोजित बजेट, भैपरि र आर्थिक सहायता, कृषि तथा पशुसेवा सहायता, कार्यालय कर्मचारी नियुक्ति, कर्मचारी प्रोत्साहन भत्ता, योजना परिवर्तन लगायतका प्रस्तावहरु सर्वसहमतले पारित भए पनि शिक्षा विधेयक, कर संशोधन विधेयक लगायत अन्य प्रस्ताव एवं विधयेकहरुमा सहमती जुट्न नसके पछि पारित हुन सकेनन् ।

शिक्षा नियमावली विधेयकका विषयमा त्यसको लिखित ड्राफ्ट समेत आफूहरुलाई उपलब्ध नगराइएको भनी अधिकांश सदस्यहरुले सभामा आपत्ती व्यक्त गरेका थिए । साथै उक्त शिक्षा नियमावली विधेयक नगर सभाका सबै सदस्यहरुलाई उपलब्ध गराउनु पर्ने र त्यसको निश्चित समय अवधिभित्र अध्ययन गरेर मात्र छलफल गरि पारित गरिनु पर्ने नगरसभाका सदस्यहरुको राय रहेको थियो ।

त्यसैगरि तिलक पुनबाट पेश गरिएको कर संशोधन प्रस्तावमा भने निकै चर्काचर्की चल्नुका साथै सहमती जुट्न नसकेपछि अन्तमा संशोधन प्रस्तावका प्रस्तावक तिलक पुनले उक्त प्रस्तावलाई सभामा निर्णायार्थ प्रस्तुत गर्नका लागि सभा अध्यक्ष समक्ष अनुमती माग गरेका थिए तर नगर प्रमुख देव कुमार नेपालीले उक्त संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने अनुमती नदिई फागुन ५ गते सम्मका लागि नगरसभा स्थगित भएको घोषणा गरेका थिए ।

नगर प्रमुख नेपालीले नगरसभामा संशोधन प्रस्तावहरु आउनु स्वभाविक भएकाले हार्दिकताका साथ छलफल गरि सहमती जुटाएर जानुपर्नेमा जोड दिए । उनले नगरसभामा सबै सदस्यहरुको बराबर अधिकार भएकाले सबैले ल्याएका प्रस्तावहरुलाई सकारात्मक रुपमा लिनुपर्ने र सबै मिलेर नगरपालिकाको विकासका लागि लाग्नु पर्ने बताए । साथै कर संशोधनको विषयमा अझै विषयगत समिति र विज्ञ टोलीसंग समेत छलफल गरि बैज्ञानिक रुपमा समायोजन हुने गरि कर संशोधन गरिनु पर्ने उनको भनाई थियो ।

त्यसैगरी सभामा बोल्दै कर संशोधन प्रस्तावकै विषयमा उप प्रमुख करमती पुनले नगरसभाबाट आफूहरुले नै निर्धारण गरि पारित गरेको कर यस आर्थिक वर्षका लागि संशोधन गर्न नहुने राय व्यक्त गरेकी थिईन् । उप प्रमुख पुन बोल्ने क्रम सकिएपछि प्रस्तावक तिलक पुनले आफूमाथि उप प्रमुख करमती पुनले संशोधन प्रस्ताव व्यक्तिगत र अमर्यादित भएको, आफूले खाने थालमा आफै थुकेको, रिमोट कन्ट्रोलबाट सञ्चालित भएको जस्ता अनर्गल प्रकारका आक्षेप र लाञ्छना आफूमाथि लागाएको भन्दै आपत्ती प्रकट गरेका थिए ।

प्रस्तावक पुनले नियम सम्मत नगरसभामा संशोधन प्रस्ताव पेश गर्नु स्वभाविक र लोकतान्त्रिक अधिकार भएको समेत बताए ।

उता यसै विषयमा बोल्दै वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारीले शुरुमा कर निर्धारण गर्दा व्यापक छलफल हुन नसकेकाले जनताहरु करको मारमा परेकाले कर संशोधन गरिनु पर्ने बताएका थिए । त्यसैगरि वडा नं. २ का वडा अध्यक्ष युवराज महतले कर संशोधन प्रस्तावको पक्षमा आफ्नो धारणा राखेका थिए । वडा नं. ३ का वडा अध्यक्ष हेमेन्द्र घर्ती मगरले आवश्यक छलफल पछि अर्काे आर्थिक वर्षमा संशोधन गर्दा राम्रो हुने बताए । त्यसैगरि वडा नं. ४ का तिलक पुनले जनताको क्षमताभन्दा बाहिर गएर कर लाद्न नहुने भन्दै विधिसम्मत तत्काल कर संशोधन हुनुपर्ने बताएका थिए । त्यसैगरी वडा नं. ५ का वडाअध्यक्ष लक्षमण पुन र वडा नं. ९ का वडा अध्यक्ष हरि बहादुर घर्तीले अर्काे आर्थिक वर्षमा छलफल गरि कर संशोधन गर्नुपर्ने बताए । उता बडा नं. ६ का बडा अध्यक्ष जीवन कुमार पुन, वडा नं. ७ का दिपक थापा र वडा नं. ८ का नन्दे सुनारले कर संशोधन गर्नुपर्नेमा जोड दिएका थिए । सभामा अन्य सदस्यहरुले समेत आ–आफ्नो राय ब्यक्त गरेका थिए ।

विहान १० बजे भनी बोलाइएको भए पनि नगरसभाका अधिकांश सदस्यहरु लामो समयसम्म कुरेपछि दिउँसो झण्डै ३ बजे मात्र सभा सुरु भएको थियो । ढोरपाटन नगरपालिकाका नगर प्रमुख नेपालीको अध्यक्षताा रहेको उक्त सभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *