आयो माघे सक्रान्ति मेला, लागे रुकुमेलीहरु राडी, पाखी, काम्ला बोकेर रुरु क्षेत्र तिर…

बागलुङ २०७४ पुस २५ । केहि दशक पहिले सम्म, रुकुमको हुकाम, मैकोट, तकसेरा लगायतका गाउँपन्चायतहरुबाट स्थानीयहरु उनबाट बनेका राडी, पाखी, काम्ला, घुम्, ओखरको घाँजी बोकेर बागलुङ बजारमा लाग्ने चैत दशैँ मेलामा व्यापारका लागी ताँती लागेर आउँथे । उनिहरु विद्यामन्दिर पछाडीको जग्गामा बस्थे, ग्राहकहरु त्यहिँ नै पुगेर राडी, पाखी, काम्लाहरु खरिद गर्थे । उनिहरु त्यहिँ पकाउने र खाने गर्थे । फर्कने बेला आवश्यक लत्ताकपडा सरसामान खरिद गरी घर फर्कन्थे ।

जब यी गाउँ पन्चायतहरु रुकुम जिल्लामा गाभिए त्यसपछी उनिहरु बन्द व्यापारका लागि आफ्ना घरेलु उत्पादन लिएर बागलुङ बजार आउने क्रमपनि पातलिएर गयो । र अहिले उनिहरु बन्दव्यापारका निम्ति बागलुङ बजार आउन छोडेपनि । व्यापारिक सम्वन्ध नै चुँडियो भनेपनि भयो । यसको निरन्तरताका लागि कुनै प्रयास भएको पनि देखिदैन ।

माघे सक्रान्ति आउन अब केहि दिन मात्र बाँकी छ । गुल्मी, पाल्पा र स्याँजा जिल्लाको पवित्र संगमस्थ रिडीमा लाग्ने माघे सक्रान्ति मेला नेपालकै प्रशिद्ध मेला मानिन्छ । पवित्र काली गण्डकी नदीमा स्नान गर्न माथी उल्लेखित तीन जिल्ला सहित बागलुङ, प्यूठान, अर्घाखाँची, रुकुम, रोल्पा, चितवन, रुपन्देही, कपिलबस्तु लगायतबाट ठुलो संख्यामा श्रद्धालुहरु आउने गर्छन् । माघ १ गते देखी सुरु हुने सक्रान्ति मेला जेठी, माहिली र कान्छी सक्रान्ति गरी तीन देखी पाँच दिन सम्म लाग्ने मेला भएकोले व्यापारका लागि यो मौका उपयुक्त मानिन्छ ।

यहि माघे सक्रान्ति मेलामा व्यापार गर्न रुकुमेलीहरु आफुले उत्पादन गरेका (बुनेका) उनका घरेलु सामाग्री बोकेर बागलुङ जिल्लाको निसी, बुर्तिवाङ, खर्वाङ हुँदै गुल्मीको वामी भएर रिडी जाने क्रम सुरु भएको छ । रुकुमेलीहरु आफना उत्पादनहरु आफै बोकेर रिडीतिर जाँदै गरेको दृश्यहरु बाटोमा देख्न सकिन्छ । यसरी बाटोमा भेटिनेहरुमा महिलाहरुको संख्या बढी रहेको वामीबाट सहकर्मी अनिश शर्मा गैरेले जानकारी दिए ।

निसी हुँदै बुर्तिवाङ बजारमा आईपुगेका रुकुम तकसेराका काम्लो, राडी, पाखी बोकेर आएकाहरु आफनो गन्तव्य रिडीमा लाग्ने माघे सक्रान्ति मेला रहेको बताउछन् । बुर्तिवाङ बजारमा बिक्री गरे हुन्न र ? भन्ने स्थानीयको जिज्ञासामा उनिहरुले यसरी एक दुई थान विक्री गर्न थाले मेलामा रिडी पुग्न नसकिने बताउने गरेको बुर्तिवाङबाट सहकर्मी झरना कँडेलले जानकारी दिईन् ।

वामीबाट सहकर्मी गैरे भन्छन्, हिँजो सोमवार काम्लो र राडीको कुम्लो (भारी) बोकेकी रुकुम तकसेराकी सुष्मिता बुढाले माघे सक्रान्ति मेलामा करीब ३ सय जनाको हाराहारीमा काम्ला, राडी, पाखीको व्यापारका लागि रिडी जाने गरेको बताईन् ।


सुष्मिताले, हामीले वर्ष दिनमा बुनेका उनका सामाग्रीहरु रु १ हजार ५ सय देखी २ हजार सम्ममा विक्री गर्ने गरेको जानकारी दिईन् । उनले बाटोमा दाउरा पानीको व्यवस्था गरेर स्वयं नै पकाएर समुहमा मिलेर खाने गछौँ भनेर बताईन् ।

तस्वीर खिच्न लाग्दा उनिहरुले नरुचाएको सहकर्मी गैरेल बताए । कोहि त झमक्क रिसाए पनि, गैरेले लेखेका छन् ।

तस्वीर- अनिश शर्मा गैरे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *