गुल्मीका जनप्रतिनिधीहरुको (राजनीतिक) अभिलेख खोज्ने प्रयास !

प्रेम सुनार, गुल्मी २०७४ पुस २५ । गुल्मी जिल्लाको राजनैतिक ईतिहासमा अहिले सम्मका जनप्रतिनिधीहरुको कुनै पनि सरकारी निकायमा अभिलेख रहेको छैन । जिल्लाका सिडियो एलडियो लगायतका सरकारी निकायका प्रमुखहरुको अभिलेख उनिहरुको कार्यकक्षमा टाँगिएको छ तर तत्कालिन राष्ट्रिय पञ्चायतका सदस्य देखि जिल्ला सभापति उपसभापति जस्ता जिल्ला हाँक्ने जनप्रतिनिधीहरुको अभिलेख नराख्नु भनेको कर्मचारीतन्त्रबाट लेखाजोखा नहुने गरेको प्रष्ट हुन आउँछ ।

जिल्लाका पुराना राजनैतिककर्मी बैकुण्ठबहादुर चन्द र उनका छोरा भरतबहादुर चन्दका अनुसार २००९ सालबाट गुल्मीमा प्रशासनिक निकाय सुरु भएको थियो । अर्घाखाँचीको खाँचीकोट गुल्मी दरवार, धुर्कोट , ईस्माकोट , मुसिकोट , चन्द्रकोट सहित ६ जिल्ला गुल्मी नामकरण भई गुल्मीको पहिलो बडाहाकीम गिरीप्रसाद बुढाथोकी थिए ।

क्रमशः कुञ्जविहारी प्रसाद सिंह , डोरविक्रम शाह , गुप्तबहादुर गुरुङ्ग, नन्दबहादुर मल्ल र २०१८ सालमा चन्द्रमान थाकाली चर्चित बडाहाकिमका रुपमा आए । उनि आएकै दोश्रो वर्ष धुर्कोटका प्रजान्त्रिक आन्दोलनका योद्धा शम्शेरबहादुर खत्रीको मौला भोग हाल्दै टाउँको काटेर प्रदर्शन गर्दै तम्घासको लाँकुर मञ्चमा ल्याएर लौ हेर तिमीहरुको हालत पनि यस्तै हुने छ भनेर धम्काउन लगाउने उनि नै थिए ।

प्रजातान्त्रिक आन्दोलनका दमनमा उनि बढि उत्रिए पनि हालको सदरमुकाम तम्घासलाई वजारीकरणको सुरुवात गर्ने उनै थिए । उनि पछि जयप्रसाद शर्मा , नरकान्त अधिकारी बडाहाकीम भएर आए । बैकुण्ठबहादुर चन्द कै घरमा वसेका उनले कहिल्लै पनि वजारमा किनेर खान नखाने सधै घरबाट आटो पिठो लिएर खाने गरेको चन्दका छोरा भरतबहादुर चन्द बताउँ छन् ।
उनि नै अन्तिम बढाहाकीम भएको र त्यस पछि लवविक्रम शाह सहायक अञ्चालाधिषका रुपमा कार्यभार सम्हालन आएको चन्द बताउँछन् । चन्दका अनुसार २०१५ साल उताका जनप्रतिनिधीहरुको सम्झना छैन । २०१९ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा पार गुल्मीबाट गिरीप्रसाद बुढाथोकी , यता काँशीनाथ गौतम, निलम्वर पन्थी, पुष्करनाथ उप्रेती निर्वाचित भएका थिए । उनिहरुका कार्यकाल जम्मा दुई वर्ष मात्रै बन्यो ।

२०२० सालको निर्वाचनमा गोकर्ण राज सास्त्री, भिमबहादुर बुढाथोकी, दयानिधी शर्मा निर्वाचित भए । त्यसै बेला राजाले श्रीप्रसाद बुढाथोकीलाई मनोनयन गरेर राष्ट्रिय पञ्चायतमा लगेका थिए । त्यस यता पञ्चायतको अन्तिम काल सम्म श्रीप्रसाद बुढाथोकी र बैकुण्ठबहादुर चन्दको गुल्मीमा एकछत्र राज देखिन्छ ।

जिल्ला सभापतिका रुपमा पहिलो ईतिहास रच्ने व्यक्ति हुन गोकर्णराज सास्त्री । उनि पछि मित्रबहादुर रायमाझी , दयानिधी शर्मा , फेरी दुई कार्यकाल रायमाझी नै जिल्ला सभापति भएका थिए । उनि पछि दुई कार्यकाल बैकुण्ठबहादुर चन्द र रविलाल थापा पञ्चायतको अन्तिम जिल्ला सभापति रहेका थिए । रविलालको विचमा एक पटक कार्यवाहक जिल्ला सभापतिका रुपमा सम्शेरबहादुर कँडेल पनि रहेको चन्दले बताए ।

वहुदालिय व्यवस्था पछि २०४९ सालमा भएको स्थानिय निकायको निर्वाचनमा ८८५ मत ल्याएर कांग्रेसका चन्द्र केसी जिल्ला सभापतिमा विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका कोशल पोखरेलले ३६८ मत ल्याएका थिए ।

उपसभापतिमा पनि कांग्रेसकै सुवर्ण ज्वारचनले ४७७ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पधी एमालेका जंगबहादुर श्रीस्ले ३७७ मत ल्याएका थिए । तत्कालिन गाविस अध्यक्षहरुले मत हालेर जिताउने जिल्ला विकास समिति पदाधिकार सहित १३ ईलाका सदस्य सहित १५ जनाको समिति बन्दथ्यो ।

जिल्ला सदस्यहरुमा कांग्रेसबाट दुर्गाबहादुर राना, विष्णुप्रसाद भण्डारी , विष्णुबहादुर खत्री , बुद्धिप्रसाद वराल , रागबहादुर श्रीस् , पदमपाणी पन्थी, रणबहादुर सिंह ठकुरी , हरिबहादुर थापा , चक्रबहादुर कुँवर , चन्द्रकान्त अर्यालय , एमालेबाट निलकण्ठ गौतम , डिल्लीराज पन्थ , र टंकप्रसाद पोखरेल विजयी भएका थिए । २०५४ को स्थानिय निकायको निर्वाचनमा भने एमालेका कौशल पोखरे जिल्ला सभापति , एमालेकै परमानन्द भण्डारी उपसभापति सहित विजयी हाँसिल गरेका थिए ।

अहिले जिल्ला समवन्व्य समिति बनेको साविको जिविसका कुनै पनि फाँटमा उनिहरुको नामोनिशान छैन् । २०३७ साल फागुन ११ गते देखि स्थानिय विकास अधिकारीले कार्यभार सम्हालेको पाईन्छ । पहिलो स्थानिय विकास अधिकारी गणेश प्रसाद पौड्याल देखि २५ औं स्थानिय विकास अधिकारीका रुपमा पहिलो महिला र समन्व्य समितिकी समिति पहिलो स्थानिय विकास अधिकारी कल्पना श्रेष्ठको समेत कार्यकक्षमा सवैको नाम सहित कार्यभार अवधी टाँगेर राखिएको छ ।

तर जिविस सभापति , उपसभापति र सदस्यहरुको कतै अभिलेख नराख्नुमा पहिलो कर्मचारीको वेवास्ता अर्को कुरा एक देखि अर्को दलले नाम उल्लेख गर्नु नचाहनु अझ भनौं एकले अर्काको अस्तीत्व स्वीकार गर्न नसक्नु पनि हुन सक्ने पाईन्छ । त्यसकारणले गर्दा हरेक जनप्रतिनिधीहरुले आफ्नो ईतिहाँस आफैले गुमाउन पुगेका छन् । यस सम्वन्धमा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीको ध्यानकृष्ट गराउदा एक दमै सहि विषयबारे ध्यानकृष्ट गराईएको बताए । उनले भने–‘ यो कुरा एक दम सहि हो कि न सांसदहरुको जिल्लामा अभिलेख छ न त जिल्ला विकास समितिका प्रमुख उपप्रमुख र सदस्यहरुको छ , ध्यानकृष्ट गराउनु भयो अवमा यसको खोजी निती गरेर अभिलेख उर्तार्ने छु ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख गणेशबहादुर खत्रीले यस्तो अभिलेख राखिनु पर्ने स्वीकार गर्छन् । पहिलो त फोकल पर्शन कार्यालयका रुपमा त्यसै कार्यालयमा हुनु पर्ने वा विकास कार्य हेर्ने जिल्ला विकास समितिमा रहनु पर्ने थियो । यस प्रति कसैको ध्यान गएको छैन् । त्यसो त अहिले पुराना गाउँ पञ्चायत र गाविसको पहिचान हराएको छ । अहिलेका वडा स्तरका जनप्रतिनिधीहरुको समेत अभिलेख राखिन जरुरी छ । विद्यालयका चन्दाताको तस्वीर राखिन्छ भने जनप्रतिनिधीहरुको अभिलेख किन नराख्ने ?
वहुदल पछिका प्रतिनिधी सभा सदस्यको अवस्था पनि उस्तै

पञ्चायतकालका प्रतिनिधी सभा सदस्यहरुको पुत्ला समेत जलाउन चाहने वहुदलवादी जनप्रतिनिधीहरुले जिल्ला भित्रका कुनै एक सरकारी निकायमा पुरानाहरुको अभिलेख राख्ने चेष्टा नगरे होलान । तर २०४६ पछिका वहुदलबादी जनप्रतिनिधीहरुले यस्तो अभिलेख राख्ने निकाय बनाउनु पर्दथ्यो । सांसद सचिवालयमा उनिहरुको अभिलेख रहे पनि पुराना जनप्रतिनिधीहरु को को थिए भनेर भावि पुस्ताले बुझ्न पाउनका लागि जिल्लाको कुनै न कुनै निकायमा हुनुु पर्दछ । यहाँ सम्म की कुनै पनि राजनैतिक दलको पार्टी कार्यालयमा समेत देखिने गरी आफ्नै उमेदवारहरुको अभिलेख राखेका छैनन् ।

सहितका रुपमा मृतक नेता , कार्यकर्ताहरुको तस्वीर र शालिक राखिन्छ भने लामो समय राजनीति गरेर जनप्रतिनिधीको महत्वुपुर्ण भुमिका निभाउने ब्यक्तिका तस्वीर पार्टी कार्यालयमा पनि गौरवमय ईतिहाँसका रुपमा राखिनु पर्ने जरुरी देखिन्छ । जुन कुनै निर्वाचनबाट जितेका हुन वा पाराजित पार्टीका लागि त्यो ठुलो ईतिहाँस हो ।

२०४८ का उमेदवारको मात्रै अभिलेख भेटियो

जिल्ला निर्वाचन कार्यालय संग हाल सम्मका जनप्रतिनिधीहरुको अभिलेख छ कि भनेर सोध्धा एक पुस्तकमा २०४८ सालका जनप्रतिनिधीहरुको अभिलेख भएको पुस्तक फेला प¥यो । उक्त पुस्तकमा उल्लेख विवरण अनुसार साविको क्षेत्र नम्वर १ मा त्यति वेला ५५०९८ कुल मत थियो । खसेको मत संख्या ३३२८८ थियो । सदर मत ३२४६१ र वदर मत संख्या ८९७ थियो ।
जुन अहिलेका तुलनामा धेरै कम हो । जस मध्ये नेपाली कांग्रेसका उमेदवार झकबहादुर पुन १६७६७ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिप्रस्पधी नेकपा एमालेका कमलराज श्रेष्ठले १४१४३ मत ल्याएर पराजित भएका थिए । राप्रपा थापा समुहबाट उमेदवारी दिएका श्रीप्रसाद बुढाथोकीले ७६३ मत ल्याएका थिए ।

राप्रपा आमत्य समुहबाट उमेदवारी दिएका हिमबहादुर क्षेत्रीले ३४१ मत , राप्रपा कै चन्द समुहबाट करुणानिधी शर्माले २७१ र स्वतन्त्रबाट राजेन्द्र सापकोटाले १५६ मत ल्याएका थिए । क्षेत्र नम्वर २ मा त्यति वेला ७३९३५ हजार कुल मतदाता मध्ये ४४९३५ मत खसेको थियो । त्यस मध्ये ४४१२५ सदर र १७५० मत बदर भएको थियो ।

जस मध्ये नेपाली कांग्रेसका भगवत ज्ञवाली २२३६४ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका जिवराज आश्रितले २१०११ मत ल्याएका थिए । राप्रपा चन्द समुहबाट उठेका अशोक थापाले ३७८ मत , थापा समुहबाट उठेका पुर्णबहादुर खत्रीले ३६० मत ल्याएका थिए । स्वतन्त्रबाट उठेका दलबहादु काउछाले ७२ मत ल्याएका थिए । क्षेत्र नम्वर ३ मा कुल मत सख्या ५५१७१ थियो । खसेको ३३९१४६ मध्ये ३३३२४ सदर र ११६० म बदर भएको थियो ।

जस मध्ये कांग्रेसका रुद्रमणी शर्मा भण्डारीले १४९८७ मत ल्याएर विजयी भएका थिए ख । एमालेका टंकप्रसाद पोखरेलले १४९५३ मत ल्याएका थिए । राप्रपा चन्द समुहबाट उठेका बैकुण्ठबहादुर चन्दले १६६० मत र थापा समुहबाट उठेका प्रेमबहादुर काउछाले ९६३ मत ल्याएका थिए ।

२०५१ बाट विरासद गुमाउँदै गयो कांग्रेस

२०४६ को जनआन्दोलनबाट प्राप्त वहुदलिय ब्यवस्थाको देशैभर ठुलो पार्टी बनेको नेपाली कांग्रेस २०४८ को निर्वाचनमा देशैभरको ठुलो पार्टी बन्यो । गुल्मीका तिन वटै क्षेत्रमा उसको जित रह्यो । २०५१ निर्वाचमा तिन वटै क्षेत्र हारेर कांग्रेसले आफ्नो विरासद गुमायो । २०५१ मा क्षेत्र नम्वर १ बाट नेकपा एमालेका रामनाथ ढकाल विजयी भए । क्षेत्र नम्वर २ मा एमाले कै कमलप्रसाद श्रेष्ठ विजयी भए । क्षेत्र नम्वर ३ मा पनि एमालेका टंकप्रसाद पोखरेल विजयी भए ।

२०५६ को निर्वाचनमा पनि एमालेले नै तिन वटै क्षेत्रमा विजयी हाँसिल ग¥यो । क्षेत्र नम्वर १ बाट फटिकबहादुर थापा, क्षेत्र नम्वर २ मा प्रदिपकुमार ज्ञवाली र क्षेत्र नम्वर ३ मा गोकर्णराज विष्ट विजयी भए । त्यति वेला विजयी विष्टका भाईको हात कांग्रेस कार्यकर्ताहरुले काटि दिएका थिए । २०६४ को निर्वाचनमा दुई वटा क्षेत्र एमालेको लालकिल्लामा माओवादीले झण्डा गाड्यो । क्षेत्र नम्वर १ मा सुदर्शन वराल र क्षेत्र नम्वर ३ मा चन्द्रबहादुर थापा ९ सागर ० ले विजयी हाँसिल गरे । क्षेत्र नम्वर २ मा मात्र नेकपा एमालेका प्रदिपकुमार ज्ञवाली दोश्रो पटक जित हाँसिल गरे ।
२०७० को निर्वाचनमा वर्षऔं पछि आएर क्षेत्र नम्वर १ र २ मा कांग्रेसले आफ्नो विरासत फर्कायो । क्षेत्र नम्वर १ बाट वम्पर उपहार जस्तैका रुपमा कांग्रेसका कृष्णप्रसाद छन्त्यालले जित हाँसिल गरे । २ बाट चन्द्र भण्डारीले विजयी भए । त्यसले कांग्रेसजनमा ठुलो उत्सहा छायो । २०७४ को प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा दुई कम्युनिष्टहरु मिलेर कांग्रेसलाई हराए ।

सुदर्शन वरालले ईतिहास रचे

पञ्चायत कालमा राजाबाट मनोनित बुढाथोकी परिवार वाहेक वहुदलिय व्यवस्था र गणतन्त्र सम्म आई पुग्दा क्षेत्र नम्वर १ मा त्यहाँका वासीन्दाले पहिलो पटक नेतालाई जनप्रतिनिधीका रुपमा माओवादी केन्द्रका उमेदवार सुदर्शन वराललाई दोहराएका छन् ।
२०४८ साल देखि न कांग्रेसका न एमालेका उमेदवारलाई क्षेत्र नम्वर १ का जनताले दोश्रो पटक जिताएका थिए ।

एक चोटी चाख्ने दोश्रो चोटी फ्याँक्ने त्यहाँका जनताको मन सुदर्शन वरालले पगाल्न सफल भएका छन यसपालीको निर्वाचनमा । संयोगले साविकको क्षेत्र नम्वर १ प्रदेश नम्वर पनि एक भई दियो । वामगठबन्धनबाट वराललाई चुनावी मैदानमा खडा गरियो ।
प्रतिनिधी सभाका नवनिर्वाचित सांसद प्रदिपकुमार ज्ञवाली भन्छन् सुदर्शन कमरेड साँच्ची नै कमणडर हुनुहुँदो रहेछ उहाँले त्यहाँका वासीन्दाको मन जितेको पाएँ ।

यता प्रदेश २ मा पनि कमलराज श्रेष्ठलाई वर्षऔं पछि जनप्रतिनिधीका रुपमा फर्काए । दुवै सभासदहरु भन्छन्– समाजमा आफुले गरेको योगदानलाई कहिल्लै पनि जनताले भुल्दैनन भन्ने यसको उदाहरण हो वराल अन्तरिम संविधान सभाको विद्यायका समेत रहे । उनको त्यो कार्यकाल र २०६४ को निर्वाचनको जित पछि कालिगण्डकी कोरिडोर परियोजना ल्याउनमा अग्रणी भुमिका खेले । अस्लेवा ठुलो लुम्पेक हुँदै परम्परा सत्यवती र मुक्तिनाथ सम्मको तिर्थ यात्री सडक योजना ।

त्यस्तै भार्सेमा भ्युटावर , सालिमे दह , सत्वती र टिमुरे ताल संंरक्षण , विभिन्न भित्री सडक सञ्जाल , पहिलो पटक क्षेत्र नम्वर १ मा प्राविधिक शिक्षा लगायतका कामको मुल्याङन त्यहाँका जनताले गरेरै आफुलाई उमेदवारहरुको ईतिहाँसमा पहिलो पटक दोहराएको र अव धेरैै पटक मौका दिने र आफुले त्यहाँका जनताको अपेक्षा पुरा गरेरै छाड्ने वरालको दावा छ ।
केन्द्रिय सरकारमा नेपाली राजनीतिको केन्द्रिय भुमिकामा रहेका नेता प्रदिपकुमार ज्ञवालीलाई जिताएकोले पनि आफुलाई त्यहाँका जनताको अपेक्षा पुरा गर्न थप सहज भएको बरालको भनाई छ ।

एउटै गाउँबाट ५ जना केन्द्रमा पुगेर पनि के पाए भार्सेलीहरु ?

गुल्मीको एउटा यस्तो गाउँ भार्से जहाँबाट ५ जना केन्द्रिय सरकारका हर्ताकर्ताहरु भए । वहुदल अघि एकै परिवारका तिन जना मन्त्री बने गिरीप्रसाद , भिमबहादुर र श्रीप्रसाद बुढाथोकी । वहुदल पछि त्यसै गाउँ कांग्रेस नेता झगबहादुर पुनले जिते । गणतन्त्र पछि कांग्रेसबाटै कृष्णप्रसाद छन्त्यालले जिते । तर कसैवाट पनि भार्सेका लागि विकास भएको देखिन्न ।

२०६८ साल तिर माओवादी केन्द्रका नेता तथा तथा तत्कालिन सभासद सुदर्शन वरालले माथी थाप्लमा भ्युटावार र तल भार्सेमा होमस्टेको योजना पारेका थिए । दुई चरणमा गरेर केन्द्रबाट १० लाख रुपैयाँ स्थानिय उपभोक्ता समिति मार्फत आयो ।२०७० कोृ निर्वाचनबाट जितेका कृष्ण छन्त्यालले त्यसलाई अगाडी बढाउन सकेनन् । यसपालीको निर्वाचन ताका सुदर्शन वरालले सोध्धा भ्युटावरका लागि जग समेत नखनेको पाए ।

चुनावी सभामा उनले त्यसको खोजी नीति गर्दा सुटुक्क भन्न थालियो , काम नभए पनि पैसा हामी संग सुरक्षित छ भनेर भने उपभोक्ता समितिका मानिसहरुले । प्रदेश सांसद वराल भन्छन भार्से ऐतिहाँसिक थलो , पर्यटिकिय स्थानका रुपमा अव विकासित गरिने छ ।

भार्सेली युवाहरुले एउटै गाउँ भार्सेबाट ५ जना केन्द्रिय सरकारमा पुग्नुलाई गर्व गर्दछन् । एउटा साधरण सिपाही देखि रक्षा मन्त्री सम् मबनेक गिरीप्रसाद बुढाथोकी परिवारका वारेमा पुस्तक लेखिए पनि जिल्लाको सरकारी निकायमा कतै नाम उच्चारण नभएको प्रति गुनासो गर्दछन् ।

बैकुण्ठबहादु चन्द जसले पाल्पालीहरु संग लडेर तम्घास सम्म मोटरबाटो खने त्यस सडक खण्डलाई उनकै नामकरण गरे उच्च सम्मान प्रकट हुने चर्चा पनि चलाईदै आएको छ । भलै व्यवस्था गलत होला तर जुन सुकै व्यवस्थाका जनप्रतिनिधीहरुको योगदानको कदर गर्नै पर्छ ।

यसर्थ पनि अहिले सम्मका सवै तहका जनप्रतिनिधीहरुको अभिलेख तयार पार्न सम्वन्धित पक्ष जुटोस भन्न कै लागि यो विषय उठान गरिएको हो । यसप्रधि ध्यान जाओस भन्ने हाम्रो आग्रह छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *