Menu

भोलि सकिँदै बागलुङ महोत्सव : दर्शकले रुचाए, नेपाली धुनमा रेगिस्तानी उँटको नृत्य (भिडियो)

किरण आचार्य, बागलुङ २०७४ पुस २२ । पाँचौ बागलुङ महोत्सव तथा प्रदेश नम्बर ४ स्तरिय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला जारी छ । पूर्व घोषित कार्यक्रम अनुसार महोत्सवको समापन भोलि पुस २३ गते हुने छ ।

महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी, बिभिन्न जातजातिको झाँकी प्रर्दशन, बालउद्यान रमाइलो मेला, लाइट हेलीबाट पर्यटकीय स्थलहरुको अवलोकनलाई मुख्य आकर्षणको रुपमा राखिएको आयोजकले बताएका छन् ।

रु १ करोड आम्दानी गर्ने लक्षका साथ सुरु गरिएको यस महोत्सवमा रु ८० लाख खर्च हुने अनुमान आयोजकको रहेको छ । आयोजकको भनाईमा विश्वास गर्ने हो भने महोत्सवमा रु १० करोड भन्दा बढीको कारोवार हुनेछ ।

महोत्सवको आजको आकर्षण खुल्ला भलिबल प्रतियोगिताको फाईनल खेल रहेको छ । महिला भलिबल प्रतियोगित शुक्रवार सम्पन्न भएको छ । लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । लोक दोहारी गीतको प्रस्तुती जारी छ । महोत्सव समापनोम्मुख रहेको छ र दर्शकहरुले यसको समीक्षा गर्न सुरु गरेका छन् ।

‘पाँचौ बागलुङ महोत्सव नाम नै काफी थियो, अधिकाँश दर्शकहरुको भनाईमा ‘प्रदेश नम्बर ४ स्तरिय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला’ भन्ने हरफ न जोडेकै भए बेश । महोत्सवस्थलमा यसलाई पुष्टी दिने त्यति विघ्न स्टलहरु देखिदैनन् । जो छन् त्यसमा बन्दव्यापार त्यत्ति लोभलाग्दो देखिदैन । धेरैलाई त स्टलको भाडा तिर्न पनि हम्मे हम्मे परेको गाईँगुई नसुनिएको होईन । लोक गायकहरुको साँगीतिक प्रस्तुति, लोकदोहोरी गीत, पुरुष तथा महिला भलिबल खेल, लोकनृत्यादि कार्यक्रम दर्शकमाझ बढी लोकप्रिय रहेको देखियो ।

महोत्सवको अर्को आकर्षण रेगिस्तानको उँटको नृत्य देखियो । नेपाली लोकगीत “जहिले रिसाउनी, जहिले रिसाउनी,
कहिले होला मायाँसंग मायाँ बिसाउनी …” को धुनमा घाँटी मर्काई मर्काई, अगाडीका खुट्टाले लेफ्ट राईट गर्दै उँट नाँचेको धेरैले हेरे । पैसा तिरे, तस्वीर खिचाए । उँट मालिकले त उँटलाई विष्णुको अवतार भनेर चिनाउन पनि पछी परेनन् । रेगिस्तानको गर्मीमा रमाउने प्राणीलाई पुसको जाडोमा बागलुङसम्म ल्याएर दर्शकलाई मनोरन्जन प्रदान गर्ने अवसर महोत्सवका आयोजकले दिए ।

महोत्सव स्थलमा अँग्रेजी नयाँवर्षको पूर्व सन्ध्यामा आयोजना गरिएको कन्सर्टले वातारवरण रमाईलो गरायो । महोत्सव स्थलमा अंग्रेजी नयाँवर्षको पूर्वसन्ध्यामा लाइभ कन्सर्ट सन्चालन गर्नु कति उपयुक्त थियो भन्दापनि प्रति दर्शकलाई रु २ सयको टिकट भिडाउनु ठुलो अन्याय भएको व्यापक टीका टिप्पण चल्यो ।

महोत्सव स्थल भित्र मिनी क्यासिनो सन्चालन गरिएको चर्चा बाहिर नआएको होईन । यहाँ त देख्नेका आँखा फुटे सुन्नेका कान भने झैँ, तैँ चूप मैँ चूप । अजब नेपालको गजब जिल्ला बन्दैछ, बागलुङ । महोत्सव केबल मनोरन्जनको लागि मात्र नहुनु पर्नेहो, महोत्सवको गरिमा कायम गर्न आयोजक, दर्शक र प्रशासकको समान उत्तरदायी हुनु जरुरी छ । त्यसको अभाव महोत्सवमा खड्कियो ।

महोत्सव स्थलमा प्रवेश गर्ने सज्जन दर्शकहरुलाई पत्रकारहरुले टिकट बिक्रीगर्ने जिम्मा लिएका छन् । पत्रकार महासंघको निर्माणाधीन भवनको लागि आर्थिक सहयोग जुटाउने हेतु पुसको जाडोमा टिकट बिक्रीमा खटिएका छन् । दर्शकहरु प्राय: ‘पास’ लिएर महोत्सव स्थलमा ‘पास’ भैरहेको दृश्य चित्त बुझ्दो देखिएन । आयोजक बाउवासंघले थुप्रैलाई पास (विना दस्तुर भित्र पस्ने अनुमती) दिएकाले यसको व्यापक विरोध भएको छ ।

कसैको लहड पूरागर्न धर्मको नाममा वर्षैपिच्छे (सालबसाली) धनधान्यान्चल महायज्ञको आयोजना गरेर अर्थसंकलन गर्ने प्रचलन बागलुङमा छ । तर, जिल्लाको गरिमासंग जोडिएको महोत्सवलाई मागीखाने भाँडो हुन बाट जोगाऔँ । बेथिती हटाएर थिती बसालौँ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *