शिरमा टोपी : गर्वको अनुभूति !

यहि २०७४ पुस १४ गते काठमाडौँ उडानका लागि कतार एयरवेजको दोहा हमाद अन्तर्राष्ट्रिय विमान स्थलको विश्राम कक्षमा आराम गरिरहेको अवस्थामा छेउमै आएर शिरमा कालोकालो रंगको मजेत्रो बेरेकी सिर्लिक्ककी एक युवतीले मिठो स्वरमा ‘दाजु यो पानीको बोत्तल लैजाउँ ?’ भनेर अनुमती माग्दा मलाई लाग्यो यी युवती नेपाली रहिछन् । मैले प्रतिप्रश्न गरिहाँले, ‘नेपालमा घर कहाँ हो, बहिनी ?’ उनी हाँसिन र तत्कालै जवाफ पर्काईन्, ‘नाईँ, म नेपाली होईन, बंगाली हुँ दाजू ।’


हमाद अन्तर्राष्ट्रिय विमान स्थल, दोहा

‘तपाईँ नेपाली होईन तैपनि यति राम्रो नेपाली बोल्नु हुन्छ त ।’

‘नेपालीहरु संग काम गर्दा मैले नेपाली बोल्न सिकेकी हुँ ।’

‘अनि म नेपाली नै हुँ भनेर कसरी चिन्नु भो त ?’

‘तपाईँको टोपीले ….’ मिठासपूर्ण उनको जवाफ थियो ।

यसको केहि घण्टा अगाडी कतार एयर वेजकै विमानमा अमेरिका देखी दोहा आउदै गर्दा विमान भित्रै परिचारिकाले सोधेको सम्झना आयो, ‘तपाई नेपाली होईन ?’

लब्जेम्बर्गको राजप्रासाद अगाडी २०७४ पुस ।

हो, कसरी ठम्याउनु भयो म नेपाली हुँ भनेर भन्दा उनले पनि यस्तै जवाफ दिएकी थिईन- ‘तपाईको टोपीले ।’

झण्डै हप्ता दिन अघि युरोपको लब्जम्बर्गमा त्यहाँको राजप्रासाद अवलोकन गरिरहँदा मेरो नजिकबाट हिँडिरहेका चार /पाँच जना युवायुवतीको जमातबाट एउटा शव्द निस्कियो, ‘नमस्ते !’

नेदरल्याण्ड प्रवेश व्दारमा २०७४ पुस ।

मेरो तस्वीर खिची रहेका दिपेन्द्र केसी र महेन्द्र पन्तले भने, ‘सुन्नु भएन तपाईले उनिहरुले नमस्ते भनेको ?’

सुने, तर जवाफ फर्काउनै पाईन, उनिहरु त पर पुगि सकेका थिए । मैले जवाफ दिएँ ।

उनिहरुले मलाई नमस्ते गर्नुको पछीको कारण पनि यहि टोपी नै थियो भन्ने कुरामा ननूनच गर्ने ठाउ छैन ।

लब्जम्बर्ग घुमाईकै क्रममा त्यहाँ स्थित एक चमेना गृहमा महेन्द्रजी र दिपेन्द्रजीले अँग्रेजीमा खानपिनको अर्डर दिईरहँदा टेबुलमा बसिसकेको म नजिकै आएर चमेना गृहकी सुन्दरीले तपाई त नेपाली हो नि, भन्नुस के लिनु हुन्छ ? भनि सोध्दा पन्त र केसी चकित परेका थिए । त्यो पनि टोपी कै कारण थियो ।

त्यसको दुई दिन पछी बेल्जियम लुभेन शहरको मनोरम दृश्यको तस्वीर खिच्ने क्रममा त्यस स्थानमा भेट्टिएका केहि बेल्जियमवासीले यस्तो टोपी कुन देशमा लगाईन्छ भनेर भतिज सन्तोष पन्तसंग सोधेका थिए । नेपाल भनेर पन्तले दिएको जवाफ सुनेपछी उनिहरुको एउटै स्वर निस्केको थियो ओ नेपाल । यस्तो टोपी लगाउने केहि मानिसहरुलाई हामीले यहाँ देख्ने गरेका छौँ उनिहरुले थपेका थिए ।


अमेरिकाको सानफ्रान्सिस्को स्थित गोल्डेन गेट पुलमा २०३९ साल ।

अमेरिकाको एरिजोना राज्यको ग्राण्ड क्यानियनमा २०३९ साल ।

२०३८ सालमा ईजिप्टको नाईल नदी किनारमा ।

२०३९ सालमा पहिलो चोटी अमेरिका भ्रमणमा जाँदा मेरी शिरमा कालो भादगाउँले टोपी देखेर अमेरिकीहरुले सोध्थे तपाई कुन देशको ? नेपाल भनेर भन्दा उनिहरु अधिकाँशको प्रतिप्रश्न हुन्थ्यो, नेपल्स ? कसैले सोध्थे तपाई इन्डानेसियन नागरिक हो ।

(इन्डोनेशियन नागरिकहरुले पनि कालो टोपी लगाउने भएकाले होला, इन्डिोनेशियन भनेको ।)

होईन, इन्डियाको छिमेकी देश नेपाल भन्दा पनि उनिहरुले आश्चर्य मान्थे । ‘माउण्ट एभरेष्ट कन्ट्री नेपाल’ भनेपछि बल्ल उनिहरु भन्थे. ‘ओ, माउण्ट एभरेष्ट !’

२०३७ साल तिर सपत्नी बैकक र हङकङ घुम्दाका बखतपनि मेरो शिरको टोपी निकै नियालेर हेर्ने गरेको मलाई संझना छ ।

नेदरल्याण्डको राजधानी एम्सटर्डममा, २०७४ पुस ।

अर्थात,

अहिले आएर टोपी नेपाल र नेपालीको अन्तर्राष्ट्रिय पहिचान बनेको छ भने नमस्ते यस्को पर्यायवाची । यो हरफ टिपोट गरिरहँदा शिरमा टोपी लगाएकोमा मलाई गर्वको अनुभूति भैरहेको छ । अस्तु:

टोपी : भादगाउले कालो टोपी / ढाका टोपी ।


२०७४ पुस १५, काठमाडौ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *