जनताको अभिमत स्थिरता हो : वाधक बन्नेहरु सावधान ?

रामबहादुर जि.सी.

लोकतन्त्रमा जनता सबै भन्दा ठुला हुन्छन् । तर जनताले जब आफ्नो अभिमत मत मार्फत दलका प्रतिनिधिहरुलाई सुम्पिन्छन् र जनताको अभिमत बोकेर सत्तामा पुगेका व्यक्तिहरुले जव आफुलाई मालिक र जनतालाई रैती सम्झन्छन् तव जनता निरास बन्न थाल्छन् ।
जनताले आफुलाई शासन गर्ने व्यक्ति चुन्छन्, जसले आफ्नो र समाजको विकास र रुपान्तरण गरोस्, तर नेताहरु सत्ता पाएपछि ५ वर्षका लागि जनता विर्सने रोगबाट ग्रसित छन् । सबै यस्ता छन्, त्यो पनि होइन, केहीले गर्न खोजेका पनि छन् तर अत्यधिक बहुमत संख्या जनमत विर्सने भएका कारण सबै त्यही पेरी फेरीमा परेका छन् । सबै खराव हुन् भन्ने अवस्था सिर्जना भएको छ ।

नेपालका राजनीतिक दलहरुले बेला बेलामा जनतालाई ढाट्ने गरेका छन्् । चुनावका बेला उमेदवारहरुले विकास निर्माण देखि समाज रुपान्तरणका लागि व्यक्त गर्ने अभिव्यक्तिहरुलाई संगालेर सिडी बनाउने हो भने त गाईजात्राको सबै भन्दा उत्तम प्रहसन बन्न सक्छ ।
निर्वाचनमा उमेदवारले मात्रै होइन, विजयी भएर देशको नेतृत्व गर्ने व्यक्तिहरुले पनि बेला बेलामा ढाट्ने गरेका छन् । २०४६ सालको परिवर्तन पछि २०४८ को आम निर्वाचनमार्फत देशको प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले भारतमा भएको सम्झौतालाई समझदारी भनेर ढाँटे । उनले समझदारी भनेर ढाटेको मात्रै होइन, ५ वर्षका लागि निर्वाचित संसदलाई ३ वर्षमै विघटन गरेर मध्यावधी निर्वाचनमा देशलाई होमे । सत्ता पाउदा मैमत्त बन्ने प्रवृतिको शुरुवात गिरिजाप्रसाद कोइरालाले गरे । उनले गरेको बल मिच्याई र ढाँटलाई जनताले भत्काई दिए, २०५१ को मध्यावधी निर्वाचनमा कांग्रेस दोस्रो दल बन्यो । २०५१ को मध्यावधी निर्वाचनबा नेकपा एमाले पहिलो दल बन्यो र सो दलका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा पहिलो पटक बामपन्थी सरकार बन्यो । ९ महिनामात्रै शासनको सञ्चालन गरेको एमाले सरकारले जनताको पक्षमा केही सकारात्मक कार्यक्रम ल्यायो । एमालेको अल्पमतको सरकारलाई नेपाली कांग्रेसको अगुवाईमा हटाउने काम भयो । त्यसपछिको ४ वर्ष नेपालको संसदीय इतिहासको सबै भन्दा कालो कार्यकालको रुपमा रह्यो । एमालेको अल्पमतको लोकप्रिय सरकारलाई हटाएर नेपाली कांग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री भए, त्यसपछि लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । उनीहरुले सञ्चालन गरेका कुनै पनि सरकारले जनताको मन जित्न सकेन ।

२०५६ सालमा आम निर्वाचन आयो, नेकपा एमालेले २०५१ सालको अल्पमतको सरकारका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष मनमोहन अधिकारीलाई प्रधानमन्त्रीको रुपमा घोषणा ग¥यो । यद्यपी निर्वाचन अगावै अधिकारीको निधन भयो । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको छवि नेपाली जनतामा राम्रो नदेखेकैले होला नेपाली कांग्रेसले सन्त नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीका रुपमा अगाडि सा¥यो । सभापति कोइरालालाई अगाडि सार्दा जनमत प्राप्त नहुने निष्कर्षका साथ कांग्रेसले भट्टराईलाई अगाडि बढाएको थियो । २०४६ सालको परिवर्तनपछि बनेको अन्तरिम सरकारको नेतृत्व गरेर समयमै संविधान जारी गर्नुका साथै आम निर्वाचन समेत गराएर सहजै सत्ता हस्तान्तरण गरेर जनताबीच लोकप्रिय बनेका भट्टराईलाई अगाडि सारेपछि जनताले नेपाली कांग्रेसलाई बहुमत दिए । एमालेबाट प्रधानमन्त्रीका लागि प्रस्तावित मनमोहन अधिकारीको निर्वाचन अगावै निधन हुनु, एमाले विभाजित भएर बनेको नेकपा मालेले देशभर उमेदवारी दिएको अवस्थाका कारण एमालेले बहुमत ल्याउछ भन्ने जनतामा विश्वास थिएन । नेपाली कांग्रेसले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउने हो भने देशले गति लिन्छ भन्ने ठानेर जनताले आफ्नो अभिमत नेपाली कांग्रेस अर्थात कृष्णप्रसाद भट्टराईको नेतृत्वलाई दिए ।

२०५६ बैशाखमा निर्वाचन सम्पन्न भएपछि जेठमा प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराईलाई सोही वर्षको फागुनमा गिरिजाप्रसाद कोइरालाले हुत्याँइदिए । निर्वाचनमा भट्टराईलाई सेलिब्रेटी बनाएर निर्वाचन जितेको कांग्रेसका तत्कालिन सभापति कोइरालाले सत्ता हत्याएर स्थिर शासन सञ्चालन गर्न सक्ने अवस्थाको अन्त्य गरिदिए ।

गिरिजाप्रसाद कोइरालालाई शेरबहादुर देउवाले २०५८ साउनमा हुत्याइदिए । आम निर्वाचन भएको २ वर्षमा लोकतन्त्रको सच्चा पहरेदार पार्टीले ३ जना प्रधानमन्त्री दियो । ३ जना प्रधानमन्त्री मात्रै दिएन, अन्तिममा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २०५९ जेठमा जननिर्वाचित संसद विघटन गरे, त्यति मात्रै कहाँ हो र उनले स्थानीय निकायसमेत भंग गरेर कर्मचारीलाई शासन सञ्चालनको जिम्मेवारी दिए । आफुलाई लोकतन्त्रको सच्चा पहरेदार भन्दै स्वघोषणा गर्ने नेपाली कांग्रेसले जनमतको यसरी खिल्ली उडायो कि जनता हेरेको हेरै भए ।
नेपाली कांग्रेसकै कारण २०४८ र २०५६ सालमा सुविधाजनक बहुमत भएर पनि शासन सञ्चालन हुन सकेन । जसका कारण देशमा निरंकुश शासन आयो । २०६३÷०६३ को परिवर्तन पछि पनि देशमा स्थिर सरकार बन्न सकिरहेको छैन । देशमा पञ्चायत गएर बहुदल आयो, बहुदल खोसेर निरकुंशता आयो, निरंकुशता फालेर गणतन्त्र आयो तर जनताले स्थिर शासन र आर्थिक तथा सामाजिक रुपान्तरणको सही फल चाख्न पाएका छैनन् ।

यतिबेला देशमा बामपन्थीहरुको बहुमत छ । नेपाली कांग्रेसले बहुमत पाएर पनि सत्ता सञ्चालन गर्न सकेन, देशको आर्थिक विकास गर्न सकेन, सुशासन र स्थिरता दिन सकेन, समग्रमा नेपाली कांग्रेसले देश चलाउन सक्दैन, त्यसकारण हामीलाई मत दिनुस्, हामी स्थिरता, सुशासन, विकास र समृद्धि दिन्छौ भन्ने बामगठबन्धनको प्रतिवद्धतालाई नेपाली जनताले आफ्नो अभिमतमार्फत अनुमोदन गरिदिएका छन् ।

नेपालको इतिहासमा यतिबेला बामपन्थी गठबन्धनले स्पष्ट बहुमत सहितको सरकार सञ्चालन गर्ने जिम्मेवारी पाएको छ । बामपन्थी गठबन्धनका लागि यो अग्निपरीक्षा हो । जनताको अभिमतलाई बामपन्थी दलहरुले सही मानेमा सम्बोधन गर्न सकेनन् भने फेरी देशमा बामपन्थीहरुको बहुमत ल्याउन अलि लामै समय कुर्नु पर्नेछ । त्यति मात्रै होइन देशमा स्थिर शासनको पनि संभावना कम देखिन्छ ।
अस्थिरता निम्त्याउनका लागि नेपाली कांग्रेस मात्रै जिम्मेवार छैन, २०६४ को संविधानसभा निर्वाचन पछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाललाई विस्थापन गरी माधवकुमार नेपाल, नेपाललाई हुत्याएर झलनाथ खनाल र खनाललाई विस्थापन गरी बाबुराम भट्टराई प्रधानमन्त्री बनेको इतिहास पनि नजिकै छ । विगतमा छुट्टा छुट्टै निर्वाचन लडेका दुई दलका कारण स्थिरता भएन, तर यतिबेला दुई दलले बामगठबन्धन बनाएर निर्वाचनमा गएका थिए र उनीहरुले गरेका प्रतिवद्धता अनुसार नै जनताले मत दिएका छन ।

के अब देशमा स्थिर सरकार बन्छ ? जनताको चाहना छ, देशमा स्थिर सरकार बनोस्, विकासले गति लिओस् । तर राजनीतिक दलहरुको गतिविधि हेर्दा आशंका अझै छ । नेपालको राजनीतिमा हुन नसक्ने कुनै विषय छैन । आज एउटा र भोली अर्कै निर्णय भएका हामीले देखि भोगी आएकै छौ ।

जनताको चाहनालाई आत्मसात नगर्दा देश अन्यौलताको भुमरीमा फसेको छ । देशलाई यो भूमरीबाट जोगाउने जिम्मा यतिबेला बामपन्थी नेताहरुको काँधमा आएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले निर्वाचन अगाडि जुन खालको प्रतिवद्धता गरेर निर्वाचन जितेका छन् त्यो प्रतिवद्धता पुरा हुन्छ कि हुदैन ? जनता दुविधामा छन् ।

दलहरुका विगतलाई हेर्ने हो भने फेरी पनि स्थिरता टाढै छ, किनकी कुनै एक दलको बहुमत छैन र सत्ता मोहका कारण गठबन्धन बनाउने र भत्काउने अनेक खेल हुन सक्छन् । तर जनता आशावादी बनेका छन् । विगतबाट चेतेर यसपटक नेताहरुले स्थिरता दिन्छन् । स्थिरताकै पक्षमा जनताले मत दिएका छन् । यो मतलाई सम्मान गर्दै अगाडि बढ्नु बामपन्थी गठबन्धनको जिम्मेवारी हो ।

पार्टी एकीकरणको विषयलाई लिएर गठबन्धन अन्यौलमा परेको आभाष जनताले गरेका छन् । स्वभाविक रुपमा पार्टी एकीकरण हुदा कतिपय व्यक्तिको पद वा हैसियत तल माथि पर्न सक्छ, तर समग्रमा देशले जित्छ, देशमा राजनीतिक स्थिरता हुदा, देश समृद्ध बन्दा आम जनतालाई फाइदा हुन्छ र एकीकरणका कारण पछि परेकाहरुलाई पनि यसैले फाइदा गर्छ । त्यसकारण व्यक्तिगत इच्छा आकांक्षालाई थाँती राखेर यतिबेला जनताको भावना अनुसारको बामगठबन्धनको स्थिर सरकार निर्माण आवश्यक छ र त्यसका लागि जनताका तर्फबाट खबरदारी पनि आवश्यक छ ।

राजनीतिक क्रान्ति सफल भएर त्यो क्रान्तिबाट प्राप्त उपलब्धीको रक्षा गर्ने जिम्मेवारी जनताले बामपन्थी गठबन्धनलाई दिएका छन् । विगतमा नेपाली कांग्रेसले जनताको अभिमतलाई सम्मान गर्न सकेन । बामपन्थीहरुले गर्न सक्छन् भन्ने अपेक्षाका साथ जनताले अभिमत दिएका हुन् । अझै पनि बामपन्थी गठबन्धनलाई पूर्ण रुपमा जनताले साथ दिएका छैनन् भन्ने कुरा समानुपातिकमा नेपाली कांग्रेसले पाएको मतले प्रष्ट पार्दछ । यदी यो अवसरलाई बामगठबन्धनले सदुपयोग नगर्ने हो भने जनताबाट टाढिनुको विकल्प छैन ।

घर राम्रो भयो भने हावाहुरी, आँधीबेरी जस्तोमा पनि बस्न सकिन्छ, घर कमजोर भयो भने अर्काको घरमा आश्रय लिनु पर्ने अवस्था आउन सक्छ । त्यस्तै देश समृद्ध भएन भने हामी कमजोर हुन्छौ र विदेशीको शरणमा जानु पर्ने वाध्यता हुनसक्छ । जनताले स्थिर शासन, दीगो विकास र समृद्धिका लागि बामपन्थी गठबन्धनलाई जिम्मेवारी प्रदान गरेका छन् । यो जिम्मेवारीलाई सहजताका साथ समन्वय गरेर पुरा गर्ने अभियानको अगुवाई केपी शर्मा ओली र प्रचण्डले गर्नु पर्छ र उहाँहरुलाई दुवै पार्टीका अन्य नेताहरु, कार्यकर्ताहरु र आम जनताका तर्फबाट सहयोग हुनुपर्छ । नेताले नराम्रो गरे पनि राम्रो देख्ने अन्धभक्त र विरोधीले राम्रो गरेपनि विरोध गर्ने पूर्वाग्रही सोंच त्यागेर बाम गठबन्धनले ५ वर्ष शासन सञ्चालन गर्न दवाव सिर्जना गरौ । अन्यथा बामपन्थीहरुको अवस्था प्रजापरिषदको जस्तो बन्न पनि सक्छ । एकपटकको जीत सधैका लागि हुदैन । जीतको उन्माद त्यागेर सबैसंग समन्वय र सहकार्य गर्ने गरी जनताको अभिमत अनुसार अगाडि बढ्नका लागि जुटौ ।

जनताले स्थिरताका लागि मत दिएका हुन् । आफ्नो व्यक्तिगत वा पार्टीगत स्वार्थका लागि स्थिरता भाड्नेहरुलाई खबरदारी गरौ । त्यस्ता प्रवृतिका व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई जनताका बीचमा लैजाने काम गरौ ।

लेखक, नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *