Menu

साताको तस्वीर : युरोपीय देशको बेमौसमी यात्रा !

आइसल्याण्ड देखी विमानमा उडेको यो हरफकार झण्डै १० घण्टापछी युरोपको मुटु भनिने बेल्जियमको राजधानी ब्रसेलमा गुडेर पुग्यो । यसो भनिरहँदा पत्यार नलाग्ला उडेको मानिस कसरी गुडेर पुग्छ ? कसैको मनमा आउला, विमानका पाँग्रा विमानस्थलमा गुडेर त अवतरण गर्छ ।

आइसल्याण्डको रमणीय दृश्य ।
तर,

यस पटकको युरोपीय मुुलुकको बेमौसमी यात्राको यो पहिलो अनुभव सोँचे भन्दा बिल्कुलै अर्कै थियो ।

आइसल्याण्डको विमानस्थलदेखी ब्रसेललाई उडेको विमान हिउँका पाटाहरुमाथि हुँदै गन्तव्य तिर अघि बढिरहँदा उडानको तीन घण्टा पुग्नै लाग्दा विमान चालकको आवाज सुनियो, ‘अब २० मिनेट पछी हामी ब्रसेल विमानस्थलमा अवतरण हुँदैछौँ…!’ गन्तव्यमा पुगिन लागेको सु-संदेशले पुलकित बनेको यो मन करीब करीब पौने घण्टा विमान आकाशमै बादल भित्र भित्रै लुकामारी गरिरहँदा सबै यात्रुको अनुहारमा मलिनता आएको स्पष्टै देखिन्थ्यो ।

महेन्द्र पन्त र दिपेन्द्र केसीसंग लम्जेम्बर्ग जाँदै (सेल्फी) ।

यस्तैमा विमान चालकले भने, ब्रसेल विमान स्थल हिउँले पुरिएकोले हाम्रो विमान अवतरण गर्न सकेन, हामी नेदरल्याण्डको रतारडम विमान स्थलमा अवतरण गर्दैछौँ ।’

केहि समय पछी विमान हिमपातवीच रतारडम विमान स्थलमा अवतरण भयो । हिमपात भैरहेको थियो । हेर्दा हेर्दै विमानका झ्यालका सिसाहरु हिउँले ढाकिए, झ्यालबाट बाहिर दृष्टिगोचर हुन छोड्यो, लाग्थ्यो विमान अपहरणमा परेको छ ।

एम्सटर्डममा लेखक ।
झण्डै घण्टा पछी चालकको आवाज आयो, ‘हिमपातका कारणले विमान ब्रसेल कालागि उडान भर्न नसक्ने भएकाले हाम्रो कम्पनिले यहाँहरुका लागि ब्रसेल विमानस्थल सम्मका लागि बसको व्यवस्था गरेको छ ।’ बसबाट चार घण्टा भित्र ब्रसेल पुगिने पनि उनले बताए । यात्रुहरु ओर्लियौँ अर्थात ओरालियो । व्यवस्था गरिएका बसहरु कुन हुन र कहाँ छन भन्ने कुनै जानकारी विमान चालकले दिएनन् न त्यहाँको विमान स्थलका कुनै कर्मचारीले बस सम्वन्धी कुनै आधिकारिक जानकारी दिए । सिर्फ भने, ‘बाहिर बस छन जानुस् ।’

हिउँमा नुहाउँदै आधा घण्टा खोजे’छी बस भेट्टिए । हिउँले ढाकिएका सडकहरु माथि कछुवा गतिमा गुडेका बसहरु झमक्कै रात परेपछी ब्रसेल विमानस्थलमा पुगेर यात्रुहरुलाई अलपत्र छोडेर गए । उता, यस हरफकारलाई स्वागत गर्न ब्रसेल विमानस्थलमा आउदै गरेका मित्रहरु भारी हिमपातले पाँच घण्टादेखी जाममा फसेका रहेछन ।

एम्सटर्डममा दिपेन्द्र केसी ।

पूर्वानुभवको अभावका कारण केहि समय बिचल्लीमा परियो भने अँग्रेजी जानेर’नि नजानेको अभिनय गर्न सिपालु त्यहाँ फेलापरेकाहरुको असहयोगले समेत दिग्दारी बढायो ।

केहि समयको दौडधुप पछी दिपेन्द्र केसी र महेन्द्र पन्तसंग भेट भयो । तीन दशक पहिलेका ‘हामी तीन धौलाश्रीकर्मी’हरुको जब ब्रसेल विमान स्थलमा भेट भयो, त्यो सुखद क्षणको अनुभू्ितको वर्णनका निम्ति मैले शव्द नै पाईरहेको छैन ।

संक्षेपमा भनि दिउँ, तीन दशक पहिले सम्म हामी तीन जना समाचार लेख्थ्यौँ, कम्पोज गथ्यौँ, छाप्थ्यौ त पत्रिका बाँडन हिँड्थ्यौँ, यस्तो थियो हाम्रो दिनचर्या । हामी तीन जनाको यो मिलाप अविष्मरणीय त छँदैछ, यसले हामीवीचको सामिप्यतालाई प्रगाढ बनाएको छ । त्यस बखतका धौलाश्री सहकर्मी महेन्द्र पन्तलाई यहाँ पत्रकार नामबाट चिनोदो रहेछ । साहित्य अनुरागी दिपेन्द्र केसीको आफ्नै पहिचान बनि सकेको देख्दा खुशी लाग्यो ।

महेन्द्र पन्तसंग लम्जेम्बर्ग जाँदै
***
भारी हिमपातले त्यहाँको मौसम निकै चिसो थियो । बाहिर निस्की सक्नु थिएन । त्यस रात र भोलिको दिन हामी तीन जना बीच भला कुसारीमै सीमित रहन पुग्यो । बेल्जियममा रहेका थुप्रै बागलुङवासीहरुसंग भेटगर्ने ईच्छा मौसमको प्रतिकुलताले सम्भव हुन सकेन । खुुसीको कुरा के सुनियो भने, बेल्जियम लगायत आसपासका देशमा बसोवास गर्ने बागलुङवासी अधिकाँशको अवस्था सन्तोषजनक छ । सबै आ आफ्नै पेसामा व्यस्त छन् । खुशीमय जीवन यापन गरिरहेका छन् । दु:ख केमा लागेको छ भने, स्वयं चाहेर पनि बागलुङवासी दाजुभाई दिदी बहिनीहरु सबैलाई भेट्न सकिन । यति हुँदा-हुँदैपनि केहि मित्रहरुसंग प्रत्यक्ष त केहि संग फोनमा सम्पर्क गर्ने अवसर मिल्यो । प्रत्यक्ष भेटहुन नसकेकोमा क्षमा याचना गर्दै जो संग प्रत्यक्ष भेटहुने मौका हात प-यो त्यस्का लागि उहाँहरुलाई आभार व्यक्त गर्न चाहन्छु ।
***
बेल्जियम शहरका केहि रमणीय दृश्यहरु ।

ईटली लगायत यस अघि नघुमेका केहि अन्य युरोपीय मुलुकहरु घुम्ने मनसुवा यसपाली पूरा हुन नसकेपनि लब्जेम्बर्ग र नेदरल्याण्ड (होल्याण्ड) एम्सटर्डमको भ्रमण चाहीँ गरियो । केहि घण्टाको भ्रमणले त्यहाँको सबै कुरा बुझ्ने वा थाहा पाउन सम्भव थिएन तरपनि दिपेन्द्र केसी र महेन्द्र पन्तको सहयोगले त्यहाँको केहि महत्वपूर्ण जानकारी लिन सजिलो भयो ।

एक मंगोलियन अनुहारकी सुन्दरीले ७० वर्ष उकालो लागेको यस हरफकारलाई ३५ वर्षको तन्नेरी भनेर सम्वोधन गर्दाको क्षेण लम्जेम्बर्ग भ्रमणको एउटा रोचक घटना बन्न पुग्यो । कुरा यस्तो थियो, चिसो-चिसो हावा खाँदाखाँदा भोकाएका हामी तिन लम्जेम्बर्गको एक चमेना गृहमा प्रवेश ग-यौँ । हामीलाई देख्दा साथ अँग्रेजीमा बोलिरहेकी ती युवतीले हामी नेपालीमा बोलेको सुनेपछी हामी भन्दा राम्रो नेपाली बोल्दै सोधिन्, ‘तपाईहरु नेपाली हो ?’

ती सुन्दरीका आँखाले यो बुढोलाई ३५ वर्षको तन्नेरी देखेपछी … ।

मैले प्रतिप्रश्न गरिहालेँ- ‘टोपी लगाएको देख्नु भएन र ?’

उनि खुसी हुँदै हाम्रो खातिरदारी गर्न थालिन । उनि रहिछन दार्जिलिंगकी युवती ।

कुरा चल्दै थियो, पन्तजीले मलाई देखाउदै प्रश्न गरे, ‘उहाँको उमेर कति होला ?’

झट्ट उनले जवाफ दिईन, ‘३५ वर्ष ।’

मलाई ३५ वर्षे तन्नेरी गराएर हानेको झटारोले केहीबेर हँसायो ।


क्रिसमसको पूर्वसन्ध्यामा भएको हाम्रो घुमाई निकै रमाईलो थियो । चिसो मौसमले हाम्रो सहयात्रालाई कुनै प्रभाव पारेन । सिमसिम पानीमा गरिएको यात्रा अविष्मरणीय रह्यो ।

माथिको तस्वीर:लम्जेम्बर्ग स्थित स्वतन्त्रताकी देवी (स्वतन्त्रताकी रानी) Gëlle Fra (Luxembourgish for ‘Golden Lady’)

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *