स्थापना दिवसमा मानव सेवा आश्रममा खाद्यान्न वितरण

रबिना बोहरा, बागलुङ, २७ मंसिर । सूचना र सञ्चारको क्षेत्रमा काम गर्ने उदेश्यका साथ धौलागिरिमा नै पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङ बिहीवारदेखि १२ औं वर्षमा प्रवेश गरेको छ । \

२०६३ साल मंसिर २७ गते ३२ जना शेयर सदस्यको ३ लाख २० हजार रुपैया जम्मा गरेर स्थापना गरेको संस्थाले सूचना र सञ्चारका क्षेत्रमा काम गर्नुका साथै वित्तीय तथा अन्य चेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । हाल संस्थामा १ हजार २ सय जना शेयर सदस्य, २ करोड ६० लाख शेयर रकम, ९ करोड बचत र ११ करोड लगानी रहेको संस्थाका उपाध्यक्ष अञ्जु जिसीले जानकारी दिनुभयो ।

१२ वर्ष प्रवेशका अवसरमा संस्थाले मानव सेवा आश्रम बागलुङमा खाद्यान्न सहयोग गरेको छ ।

कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष तथा नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य मनकुमारी केसीले सहकारी आर्थिक विकासको मेरुदण्ड भएकाले समृद्धीसंगै सचेतनामुलक क्रियाकलापमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

पछिल्लो समय सहकारीमा आबद्ध भएर रोजगारी पाउनेको संख्या पनि बढ्दै गएको भन्दै केसीले सहकारीको विकासका लागि राज्य पनि लगानी गर्नुपर्ने बताउनुभएको हो । उहाले सहकारीले आफ्नो स्थापना दिवसको अवसर पारेर आश्रममा सहयोग गर्नु स्रहानिय कार्य भएको भन्दै आगामी दिनमा पनि यस्ता खालका सहयोग तथा क्रियाकलापलाई निरन्तरता दिनुपर्ने भनाई राख्नुभयो । सडकमा रहेका व्यक्तिहरुलाई उद्धार गरी आश्रमले उदाहरणिय कार्य गरेको भन्दै सहकारीले स्थापना दिवसका अवसरमा आश्रमलाई चामल, नुन, तेल, बिस्कुट लगायतका सामाग्रीहरु प्रदान गरेको हो ।

कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, आदर्श सञ्चार सहकारी संस्थाका सल्लाहकार डिलबहादुर कार्कीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा आश्रमका सुमिरा लामाले विदेशीहरुको सहयोग नलिइकन नेपालीको मुट्ठीदानबाट आश्रम चल्नुपर्छ भन्ने योजनाका साथ आश्रम सञ्चालन गरिरहेको बताउनुभयो । २०८० साल सम्म ‘सडक मानव’ मुक्त अञ्चल बनाउने लक्ष्यका सहित आफुहरुले मानसिक बिरामीहरुलाई सडकबाट उद्धार गरेर राखेको आश्रमले जनाएको छ । धौलागिरि अञ्चलका ४ जिल्लालाई लक्षित गरी मानविय सेवामा आश्रम सञ्चालन गरिएको हो । मकवानपुर हेटौडामा मुख्य कार्यालय रहेको मानवसेवा आश्रमले विभिन्न जिल्लामा शाखा विस्तार गर्ने योजना अनुसार धौलागिरि अञ्चललाई लक्षित गरी बागलुङमा पनि सेवा विस्तार गरिएको थियो ।

अहिले आश्रममा बृद्धबृद्धा तथा बालबालिका गरी २४ जना रहेका छन् । कार्यक्रम आदर्श सञ्चार सहकारी संस्था बागलुङका कार्यबाहक अध्यक्ष अञ्जु जिसीको अध्यक्षता, सञ्चालक शान्ती श्रेष्ठको स्वागत र सचिव प्रेम लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबीच सोही अवसरमा संस्थाका शेयर सदस्य रोशन जिसीले आफ्नो जन्म दिनको अवसरमा पारेर मानव सेवा आश्रमका बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् । आफ्नो २३ औं जन्म दिनमा हुने खर्च कटौती गरेर सडक बालबालिकाहरुलाई न्यानो कपडा उपलब्ध गराएको जिसीले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *