महिला सशक्तिकरणका लागि सहकारी उपयुक्त माध्यम

पर्वत, २०७४ मंसिर १७ । युवा महिलाहरुलाई सहकारी मार्फत आत्मनिर्भर गराउने उदेश्यका साथ पर्वतको कुश्मामा सहकारीमा आवद्ध भएका र हुने तयारीमा रहेका युवा महिलाहरुका लागि बहस पैरवी तथा सञ्जालीकरण तालिम सञ्चालन गरिएको छ ।

२ दिनसम्म सञ्चालन हुने तालिममा पर्वतको फलेवास नगरपालिका र व्यादी गाउँपालिकाका विभिन्न समुह र सहकारी संस्थामा आवद्ध १६ देखि ३५ वर्ष उमेर समुहका २५ जना युवा महिलाहरुको सहभागिता रहेको छ ।

आयआर्जन बढाउन, त्यसबाट प्राप्त भएको पैसालाई वचत गर्न तथा समन्वय गरेर एक आपसमा सहयोगी भावनाको विकास गर्दै नेतृृत्व विकास, क्षमता विकास र आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सहकारी उपयुक्त देखिएकाले युवा महिलाहरुलाई सहकारीमा आवद्ध गराउने अभियान सञ्चालन गरिएको इन्प्रेड नेपालका कार्यक्रम संयोजक टुकप्रसाद शर्माले जानकारी दिनुभयो ।

महिलाहरुसग भएको श्रम, शीप र पूँजिलाई परिचालन गरी थप आयआर्जनका लागि सहकारी माध्यम उपयुक्त भएकाले युवा उमेरका महिलाहरुलाई सहकारीमा आवद्ध गराउने कार्य सह्रानिय भएको तालिमका प्रशिक्षक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले बताए ।
उनले सानो सानो पूँजि जम्मा गरेर ठुला ठुला काम गर्न सकिने भएकाले सहकारी संघ संस्थाबाट कर्जा लिएर आयआर्जनका विभिन्न काम गरी आम्दानी बढाउन, आम्दानी भएको रकम पहिला वचत गरी खर्च गर्न, सामुहिक रुपमा काम गरी खर्च कम गर्न तथा आयआर्जनका लागि नयाँ सोच र प्रविधि बारे जानकारी लिनका लागि सहकारी संस्थामा आवद्ध हुन जरुरी रहेको बताए ।

कार्यक्रममा डिभिजन सहकारी कार्यालय बागलुङका सहकारी निरिक्षक होमनाथ ढकालले सहकारीको सिद्धान्त, मूल्य मान्यता र आदर्शलाई आत्मसाथ गरेर अगाडि बढ्न सकेमा आर्थिकसंगै नेतृत्व विकास र सामाजिक रुपान्तरणमा समेत सहयोग पुग्ने धारणा राखेका थिए ।

तालिमका सहभागी युवा महिलाहरु तुलसी सुनार, अमृता थापा, दिपिका भट्टराई, मुस्कान क्षेत्रीले समाजका हरेक क्षेत्रमा महिलाहरुलाई अगाडि ल्याउनका लागि सबै भन्दा पहिला आर्थिक सशक्तिकरणको आवश्यकता पर्ने भएकाले सहकारी मार्फत महिलाहरुलाई आर्थिक क्षेत्रमा सबल बनाउन आफुहरु जुटेको बताएका थिए ।

इन्प्रेड नेपाल पर्वतले प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरेको युवा महिला शसक्तिकरण परियोजना अन्तरगत सञ्चालित तालिममा सहकारीको ऐतिहासिक विकासक्रम, सहकारीमार्फत सञ्चालन गर्न सकिने व्यवसायिक कार्यहरु, सहकारीमा वचत र वचतको महत्व, सहकारीका मूल्य मान्यता र सिद्धान्त लगायतका विषयमा सहजीकरण गरिने इन्प्रेड नेपाल पर्वतका कार्यक्रम संयोजक टुकप्रसाद शर्माले जानकारी दिए ।

दुईदिनसम्म सञ्चालन हुने तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी र डिभिजन सहकारी कार्यालयका सहकारी निरिक्षक होमनाथ ढकालले सहजीकरण गर्नु भएको कार्यक्रम संयोजक शर्माले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *