स्वास्थ्य र धन जोगाउन स्थानीय स्तरमै उत्पादन हुने वस्तुको बढी प्रयोग गर्न आग्रह

पर्वत, २०७४ मंसिर १७ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले आयातित वस्तुको प्रयोगले मानिसको स्वास्थ्यमा समस्या थपिनुका साथै धन समेत खर्च हुने भएकाले स्थानीय स्तरमै उत्पादन हुने वस्तुको बढी प्रयोग गर्न आग्रह गरेका छन्।

सञ्जिवनी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड मोदी गाउँपालिका वडा न २ पर्वतको नवौ वार्षिक साधारणसभाको शनिवार उद्घाटन पछि बोल्दै उनले स्वास्थ्य र धन दुवै विगार्ने खालका खाद्य तथा तरकारीजन्य पदार्थको प्रयोग रोक्नका लागि सहकारी संघ संस्थाहरुले अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिए ।

पछिल्लो समय मानिसहरुको आकर्षण प्याकिङ भएर आउने वस्तुतर्फ बढेको भन्दै उहाँले आफ्नो घरमा उत्पादन भएका पोषिला वस्तुहरु खेर जाने र विषादीको प्रयोग भएका बाहिरी वस्तुको सेवनले स्वास्थ्य अवस्था कमजोर बनाउनुका साथै धन समेत खर्च हुने तर्फ उनले सचेत गराएका थिए ।

सहकारीहरुले वचत तथा ऋणका साथै गाउँ घरमा उत्पादन हुने तरकारी लगायत खाद्यान्नका बारेमा सचेतना प्रदान गर्नु पर्नेमा जोड दिदै जीसीले पहिचान र उत्पादनमा ध्यान नदिएका कारण थुप्रै पोषिला स्रोत खेर गरहेको बताए ।

हामीसंग भएका राम्रा चिजहरु खेर जाने र विषादी प्रयोग भएका र स्वास्थ्यलाई असर गर्ने वस्तुहरु खरिद गरेर खाने बानीको अधिकतम विकास भएकाले यसलाई बेलैमा रोक्न नसके दीर्घ रोगीहरुको संख्या दिन प्रतिदिन बढ्ने उनको भनाइ छ ।

सहकारी भन्दा साथ धेरैको मनमा पैसाको लेनदेन गर्ने भन्ने देखिन्छ, सहकारीले मानिसको जीवन सहज रुपमा अगाडि बढाउन सहयोग पु¥याउनु पर्नेमा जिसीको जोड थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका सहायक अधिकृत विराज पुरी, संस्थाका संस्थापक पूर्व अध्यक्ष हरिप्रसाद सुवेदी, सल्लाहकार मोहन थापा र भीमप्रसाद शर्माले सहकारीमार्फत आर्थिक विकाससंगै सामाजिक रुपान्तरणमा सबैको ध्यान जानु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा ९० वर्षीय जेष्ठ नागरिक जगतबहादुर घर्ति क्षेत्री सहित जेष्ठ नागरिकहरु सीताकुमारी घर्ति क्षेत्री, चन्द्रकुमारी घर्ति क्षेत्री र जमुना जैसीलाई सम्मान गरिएको थियो ।

यस्तै उत्कृष्ट शेयर सदस्यहरु सरिता पौडेल, रत्न लम्साल, प्रेमप्रसाद शर्मा, सरिता गिरी तथा उत्कृष्ट विद्यार्थीका रुपमा शेयर सदस्य विष्णु पौडेलका छोरा गणेश पौडेललाई सम्मान गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष सागर जि.सी.को अध्यक्षता, लेखा समितिका संयोजक तारापति तिमिल्सिनाको स्वागत र सचिव बाबुराम तिमिल्सिनाको सञ्चालनमा सम्पन्न भएको थियो ।

१ सय ८६ जना शेयर सदस्य रहेको संस्थाले गत आर्थिक वर्षमा करिब १ करोड रुपैयाको कारोबार गरेको छ ।

साधारणसभाले आगामी ३ वर्षका लागि बाबुराम तिमिल्सिना अध्यक्ष रहेको ११ सदस्यीय सञ्चालक समिति र तारापति तिमिल्सिना संयोजक रहेको ३ सदस्यीय लखा समिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा शान्ति पौडेल, सचिवमा देवबहादुर कुँवर, कोषाध्यक्षमा टिकाराम पौडेल तथा सदस्यहरुमा जयबहादुर अखेली, कुलबहादुर हमाल, पहलबहादुर कुँवर, सरिता गिरी, सुशिला शर्मा, मिनबहादुर पुन र कुमारी पुन रहेका छन्।
लेखा समितिका सदस्यहरुमा भीमबहादुर थापा र लक्ष्मी अधिकारी रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *