ढोरपाटनमा हिउँ नपरेपनि चिसो ह्वात्तै बढेपछी स्थानीयवासीको जनजीवन बन्यो कष्टकर !

छबिलाल पाण्डे, बुर्तिबाङ २०७४ मंसिर १४ । बागलुङ जिल्लाको पश्चिमी क्षेत्र ढोरपाटनमा यस वर्ष हिउँ परिनसकेको भएपनि गत वर्षहरुको तुलनामा यसपाली निकै चिसो बढेको छ । ढोरबाट स्थानीयवासी असोज महिनाको २४ गते वरपर बेसी (गाउँमा) झरिसकेको भएपनि ढोरमा बस्दै आएकाहरुलाई भने यस वर्षको चिसोले निकै सताएको स्थानीय अस्मिता कायतले बताईन् ।

चिसो मौसममा रमणीय ढोरपाटन उपत्यका ।

ढोरवासीहरु जाडो छल्न र बेसीको अन्नपात स्याहार्न असोजको तेश्रो हप्तातिर बेसी गाउँमा झर्ने प्रचलन नै भएकाले यो बेला ढोरपाटन प्राय: सुनसान रहने गर्छ । स्थानीयबासीहरु आलु, ज्वातो, मकै, स्याउ लगातयका बाली स्याहारी सकेपछी चिसोबाट बच्न र गाउँवेसीको काम गर्नका लागि आफना बालबच्चा पशु चौपाया र आलु, अन्नपात र स्याउ लिएर गांउ झर्ने गर्छन् ।

चैत्र महिनाको पहिलो सातादेखि आलु खेती गर्न ढोरपाटन जाने र बर्षातको समयमा आलु उत्पादन संगै पशुचौपाया चरिचरणका लागि समेत ढोरमै बस्ने चिसो बढेपछि असोजको तेश्रो साता देखि फागनचैत्र सम्म बोबाङ, अधिकारीचौर, निसी लगाएतका गाउमा झर्छन् । ढोरपाटनको पाखाथर, नौथर, स्यालपाखे, नवी, गहुंखेत, कांसस्बाङ, खुंङखोला, भुजी, मस, काङग लगाएतका बासिन्दाले ढोरपाटन स्थित आफना घरमा ताल्चा लगाएर ढोरमा रहेका सरसामान, अन्नपात, घांस दाउरा र घरभित्र राखिएको आलु चोरी हुन नदिनका लागि प्रत्यक टोलले एक/ एक जना चौकीदार राखेर गाउ झर्ने गर्छन ।

यतिबेला ढोरमा बृद्ध अवस्थाका तिब्बती शरणार्थीहरुमात्र बस्ने गर्छन् ।
तर केहि वर्ष यता ढोरपाटनमा मोटर पुगेको र विजुली बत्ती लगायत अन्य सबिधाले गर्दा पहिले जस्तो गाउँनै रित्तिने गरी ढोरवासीहरु बेसी झर्न छोडेकाले त्याहाँ बसिरहेकालाई यो चिसोले निकै सताएको ढोरपाटन स्थित ज्योतिविकास आधारभूत विद्यालयका प्रधानाध्यापक देबबहादुर सुनारले इबागलुङलाई बताए । ढोरपाटन उपत्यकामा बस्दै आएका करिब १२ सय घरपरिवार बोवाङ, अधिकारीचौर लगायत गांउ बेसी झरिसकेको प्रधानाध्यापक सुनारले बताए ।

ढोरपाटन अवलोकन गर्न गएका एक म्यादी प्रहरी ।

उनले ज्योति विकास आधारभूत विद्यालय बन्द गरी बोबाङबाट सञ्चालनमा ल्याईएको जानकारी दिए । कक्षा ६ सम्म सञ्चालनमा रहेको उतm बिद्यालयमा ३ सय ५० जना बिद्यार्थीले अध्ययनगर्दे आएका छन् । यो सिजन गाउतिरै अध्ययन अध्यापन हुने र चैत्र महिनादेखि ढोरपाटनबाटै पुन कक्षा सञ्चालन हुने बिद्यालयका प्रअ सुनारले बताए ।

यस पटक ढोरपाटनमा, ढोरपाटन सामुदायिक होटल र स्थानीय दुई/चारवटा होटल मात्रै सञ्चालनमा रहने तर आन्तरिक र बाह्य प्रर्यटक भने चिसोका कारण धेरै कम जाने गरेको ढोरपाटन सिकार आरक्ष संरक्षणार्थ नेपाली सेनाका कर्मचारी ईन्द्र शाहीले बताए । चिसोसमयमा ढोरपाटनमा बस्दै आएका प्रहरी समेत बोबाङमा झर्ने गरेका छन् ।

तस्वीर- मिथुन भण्डारी, ढोरपाटन, (२०७४ मंसिर १२) ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *