सातसय बगाले थापाको कुल मन्दिरमा बन्धु मिलन कार्यक्रम सम्पन्न, कुलपूजा मंगलबार !

थम्मन थापा सन्देश, गल्कोट, बागलुङ २०७४ मंसिर ११ । सातसय बगाले थापा समाज गल्कोट नगरपालिका–७ मल्ममा परम्परागत कुल पूजा मंगलबार हुने भएको छ । सातसय बगाले थापाहरुको ठुलो पर्वको मानिने उक्त कुल पूजाको सम्पूर्ण तयारी पुरा भएको समाजका अध्यक्ष दल बहादुर थापाले जानकारी दिए ।

पुजाको पूर्व सन्ध्यामा सामुहिक तोरी संकलन गर्ने र उक्त तोरी जेठाजु बुहारी मिलमा गई तोरी पेल्ने र तेलबाट दियो बाल्ने प्रचलन रहेको छ । देशका विभिन्न जिल्लाहरुबाट आएका बगाले थापाहरु बिच जिल्लाको गलकोट नगरपालिका–७ मल्म स्थित कुल मन्दिरमा बन्धु मिलन कार्यक्रम सोमबार सम्पन्न भएको छ । सातसय बगाले थापा समाजका अध्यक्ष दलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम राजबहादुर थापाले स्वागत र सञ्चालन सचिव केयरसिंह थापाले गरेका थिए ।

यतिबेला कुलपूजाको लागि बुटवल, ताराखोला, पोखरा, बुर्तिबाङ, काठमाण्डौ, नारायणघाट, नेपालगंज, भारतको देहरादुन, दिल्ली र विदेशसम्म फैलिएका बगाले थापाहरु गलकोट मल्ममा भेला भएका छन । बन्धुहरु बिच परिचय कार्यक्रम र पूजा सामग्री कुल मन्दिरमा बुझाउने कार्यक्रम समेत सोमबार सम्पन्न भएको छ । मंगलबार बिहानै निशान घरदेखि नौमती बाजा र पञ्चकन्याको साथमा कुल मन्दिरसम्म कलश यात्रा, झण्डोत्तोलन, बलि, पूजा, प्रसाद वितरण र सामुहिक भोजको कार्यक्रम रहेको समाजका संरक्षक एवं गलकोट नगरपालिका ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताए ।

ईतिहाॅस हेर्दा विसं. १२४६ देखि विसं. १५४५ सम्म म्याग्दीको ताकम, ज्यामरुकोट र पुलासम्म थापा राज्य सञ्चालन भएको देखिन्छ । वि सं. १५४५ मा मल्ल राजा दिम्ब बम मल्लले आक्रमण गरेपछि ताकमबाट बगाले थापाहरु गलकोट, स्याङ्जा, गोरखा, काठमाण्डौ लगाएतका ठाउँहरुमा गएको समाजका संरक्षक डा. दिनबहादुर थापा बताए । शनिबार सम्पन्न बगाले थापा समाजको भेलाले बगाले थापाबाट जिल्ला समन्वय समितिमा निर्वाचित दल बहादुर थापा, जनप्रतिनिधि वडा अध्यक्षहरु सुवेदार टिकाबहादुर थापा, कर्ण बहादुर थापा, बमबहादुर थापा, कलाकारहरु वसन्त थापा, मोडल दुर्गेश थापा, पत्रकारहरु राम थापा अविरल, थम्मन थापा सन्देश, उषा पौडेल थापा र ओम थापा र शिक्षा क्षेत्रमा उत्कृष्ट अंक ल्याउने बन्धुहरुलाई अभिनन्दन गर्ने निर्णय गरेको छ ।

समाजले कुल पुजामा प्रकाशन गर्दै आएको स्वाभिमान बुलेटिन प्रकाशन गर्न समाजका पुर्व सहसचिव तथा पत्रकार थम्मन थापा सन्देशलाई प्रधान सम्पादकको जिम्मा प्रदान गरेको छ । समितिको सदस्यमा सचिव केहरसिंह थापा र केन्द्रिय प्रतिनिधि छुम बहादुर थापा रहेका छन । मंगलबार हुन गईरहेको कुलपूजामा मल्म स्थित कुल मन्दिर परिसरमा निर्माण गरिएको मुल पुरुष कालु थापाको शालिकको प्रमुख अतिथि डक्टर बुद्वि बहादुर थापाले अनावरण गर्ने कार्यक्रम तय भएको सचिव केहरसिंह थापाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *