मतदान केन्द्रहरुबाट मतदाता परिचयपत्र वितरण कार्य सुरु

बागलुङ २०७४ मंसिर ८ । पर्सि मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि बागलुङका मतदान केन्द्रहरुमा कर्मचारी र सुरक्षाकर्मीको टोली पुगि सकेको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतले नियुक्तपत्र लिएर निर्वाचन गराउन सुरक्षाकर्मीको साथमा निर्वाचन सामग्री सहित निर्वाचन केन्द्रमा पुगेका हुन् ।

बुधवार दुर्गम स्थानका टोली गएको र बिहीबार नजिकका मतदान स्थलका सबै कर्मचारीको टोली सम्वन्धित मतदान स्थलमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी विकासचन्द्र पौडेलले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार निर्वाचनका लागि १ हजार ५ सय ९२ जना कर्मचारी परिचालन गरिएको छ । केन्द्र पुगेका उनीहरुले आज शुक्रबारदेखि मतदाता परिचयपत्र समेत वितरण गर्ने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामकुमार थापाले जानकारी दिए ।

दुई निर्वाचन क्षेत्र र चार प्रदेश रहेको बागलुङ जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि तिन दर्जन बढी उम्मेदवार चुनावी मैदानमा छन् ।

यसैवीच मुख्य निर्वाचन अधिकृत सहितको टोलीले विभिन्न स्थानका मतदान केन्द्र र मतदाता शिक्षाको अवस्थाबारे स्थलगत अनुगमन गरेको छ ।

मुख्य निर्वाचन अधिकृत प्रकाश पण्डित सहितको टोलीले विहिबार काठेखोला गाउँपालिकाको विहुँ र गल्कोट नगरपालिका भित्रका पाँच वटा मतदान स्थलको अनुगमन गरेको हो ।

अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापा, बागलुङ, म्याग्दी र मुस्ताङ्ग जिल्लाको निर्वाचन अनुमगन अधिकृत बाबुराम गौतम, बागलुङका अनुगमन प्रमुख अर्जुन खड्का, सशस्त्र प्रहरी बलका प्रमुख बहादुरसिंह थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सुशिल महत लगायतको सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी श्याम थापाले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *