बागलुङमा बामगठवन्धन र काँग्रेस विच नै चुनावी प्रतिस्पर्धा

कमल पौडेल

मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको रौनकता बागलुङमा वढ्दै गएको छ। खासगरि संविधान सभाको निर्वाचन २०७० मा नेपाली काँग्रेसले क्लिन स्वीप गरेको बागलुङमा ठूला वाम दल नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले गठनवन्धन गरेपछि चुनावी प्रतिश्पर्धा रोचक वन्ने अनुमान गरिएको छ। राजनैतिक दलहरु गाउँगाउँमा पसेका छन् र चुनाव प्रचार प्रसार अभियानलाई व्यापक वनाएका छन्। निर्वाचनको लागि काग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टि संग तालमेल गरेको छ भने अर्कातिर वाम गठवन्धन भएकोले चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको हो। त्यस्तै विगतको भन्दा निर्वाचन क्षेत्रको भौगोलीक अवस्था र राजनैतिक समिकरण वदलिएकोले चुनावी परिणाम तथा प्रतिश्पर्धा रोचक वन्ने छ। बागलुङमा यस पटक एक लाख ६७ हजार दुई सय ६२ मतदाता रहेका छन्। २ वटा निर्वाचन क्षेत्र रहेको बागलुङको क्षेत्र नं. १ मा ८६ हजार ७ सय ५७ जना र क्षेत्र नं. २ मा ८० हजार ५ सय २६ जना मतदाता रहेका छन्। यस पटक अघिल्लो निर्वाचनमा भन्दा १० हजार वढि मतदाता थपिएका हुन्।

संघिय समाजवादी फोरमले उमेद्वारी दिएपनि खासमा चुनावी प्रतिस्पर्धा वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धनकै विचमा हुनेछ। जस अन्तर्गत क्षेत्र नं. १ मा काँग्रेसको तर्फवाट सहकारी तथा गरिवि निवारण राज्य मन्त्रि चम्पा देवि खड्का र वाम गठवन्धनको तर्फवाट नेकपा एमालेका डा. सुर्य पाठक विचमा प्रतिश्पर्धा हुने छ। प्रतिश्पर्धामा रहेका दुवैले आफैले जित्ने दावि गरेका छन्। गठवन्धनको मत धेरै भएको, युवा भएको र राजैनैतिक स्थितरताको लागी वाम गठवन्धन भएको र सम्बृद्धि बागलुङ बनाउन योजना आफु संग भएको ले जित्ने पाठकको दावी छ। उता खड्काले पनि आफ्नो पुरानो मत सुरक्षीत राखेको, आफु महिला भएको, र बागलुङको सम्बृद्धिको योजना आफु संग भएको ले जित्ने दावी छ।
भने क्षेत्र नं. २ मा नेपाली काग्रेसको तर्फवाट पूर्व संविधान सभा सदस्य समेत रहेका नर वहादुर पुन निरज र वाम गठवन्धनको तर्फवाट नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल विच चुनावी भिडन्त हुने छ। पुनले आफु स्थानिय भएको, सधै सुख दुखमा संगै रहेको र लोकतन्त्रको रक्षाको लागी आफुले जित्नु पर्ने वताएका छन् भने पौडेलले बागलुङलाई केन्द्र संग जोड्ने, र सम्बृद्धिको योजना आफु संग भएकोले आफैले जित्ने दावी गरेका छन्।

उमेद्वारको परिचयः

डा. सूर्य पाठक (उमेद्वार बामगठवन्धनको तर्फवाट बागलुङ क्षेत्र नं. १)

बाम गठवन्धनको तर्फवाट प्रतिनिधि सभातर्फ बागलुङ क्षेत्र नं. १ का उमेद्वार नेकपा एमालेका युवा नेता डा. सूर्य पाठक २०३२ साल पौष २२ गते बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरमा (साविक अमलाचौर गाविस) जन्मिएका हुन्। राजनिति शास्त्रवाट विद्यावारिधि गरेका पाठक २०४५ सालमा अनेरास्ववियु पाचौंको सदस्यता लिएपछि राजनीतिको सुरुवात गरेका थिए। सदस्यता लिएकै वर्ष राजकाज मुद्धा खेप्नुपरेको थियो। २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका पाठक २०४७ सालमा अनेरास्ववियूको जिल्ला सदस्य तथा २०४८ सालमा सहसचिव वनेका थिए। २०५१ सालमा एमालेको संगठित सदस्यता प्राप्त गरेका पाठक २०५४ सालमा अनेरास्ववियू त्रिचन्द्र क्याम्पसको प्रारम्भिक कमिटि अध्यक्ष, २०५५ सालमा अनेरास्ववियूको जिल्ला कमिटि सहसचिव, २०५६ सालमा त्रिचन्द्र क्याम्पसमा स्ववियू सभापति पदका उमेद्वार वनेका थिए। सन् २००० मा अध्ययनको लागी जापान पुगेका पाठकले जापान पुग्दा साथ प्रवासी नेपाली मञ्च जापानको सदस्यता लिएका थिए। २००५ मा प्रवासी नेपाली मञ्च जापानको उपसचिव हुदै २००७ देखि २०११ सम्म अध्यक्ष पदमा काम गरेका थिए। जापानको पढाई सकेपछि २०७२ सालको दोश्रो संविधानसभाको निर्वाचनमा बागलुङ क्षेत्र नं. २ वाट एमालेको उमेद्वार वनेका पाठक अहिलेका बलिया उमेद्वार हुन्।

चम्पादेवी खड्का (उमेद्वार नेपाली काँग्रेसको तर्फवाट बागलुङ क्षेत्र नं. १)

हाल सहकारी तथा गरिवी निवारण राज्यमन्त्री समेत रहेकी पूर्व सांसद चम्पादेवी खड्काको जन्म २०२१ साल असोज २१ गते बागलुङ नगरपालिका वडा नं. १३ पैय’पाटामा (साविक पैँय’पाटा) भएको हो। हाल बागलुङ नगरपालिका वडा नं. २ मा वस्ने खड्काले राजनैतिक यात्रा २०४३ सालमा सुरुवात गरेपनि २०४७ सालमा नेपाली काँग्रेसको क्रियाशिल सदस्यता लिएपनि प्रत्यक्ष राजनीतिमा कमै देखिएकी थिइन्। २०७० सालको दोश्रो संविधान सभाको निर्वाचनमा बागलुङ क्षेत्र नं. १ वाट विजयी खड्काका पति हरि बहादुर खड्काको २०७२ सालमा सडक दुर्घटनामा परी निधन भएपछि भएको उपनिर्वाचनमा नेपाली काग्रेसको तर्फवाट उमेद्वार वने संगै सक्रिय राजनिति पुन शुरु भएको थियो। २०७३ सालमा नेपाल महिला संघको महाधिवेशन प्रतिनिधि वनेकी खड्का, संसदीय दलको सदस्य वन्दै, राज्यमन्त्री सम्म पुगेकी छन्। आमा मिलन केन्द्र सहकारी संस्था लिमिटेडको अध्यक्षको जिम्मेवारी समेत वहन गरिसकेकी खड्का अहिलेको वलियो उमेद्वार हुन्।

देवेन्द्र पौडेल (उमेद्वार वाम गठवन्धनको तर्फवाट बागलुङ क्षेत्र नं. २)

वाम गठवन्धनको तर्फवाट प्रतिनिधि सभा बागलुङ क्षेत्र नं. २ को उमेद्वार नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलको जन्म २०२१ साल पुस २८ गते बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरमा भएको हो। २०३७ सालमा नेकपा मसालवाट सक्रिय राजनीति गरेका पौडेल हाल नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य रहेका छन्। अखिल क्रान्तिकारीको केन्द्रिय कोषाध्यक्ष, उपाध्यक्ष, महासचिव हुँदै केन्द्रिय अध्यक्ष भएका पौडेल माओवादी जनयुद्धको समयमा बागलुङ जिल्ला इन्चार्ज हुँदै गण्डकि उपव्यूरो इन्चार्ज, लुम्बिनी व्यूरो इन्चार्ज, उपत्यका व्यूरो इन्चार्ज, नारयणी व्यूरो इन्चार्ज लगाएतको जिम्मेवारी समालेका छन्। पञ्चायति व्यावस्थाको विरोधमा संघर्ष गर्दा ३ वर्ष जेल जिवन र दर्जनौ पटक हिरासतमा परेका नेता पौडेल माओवादी आन्दोलनका महत्वपूर्ण हस्ति भन्न सकिन्छ। दर्जन वढि देशहरुमा विकास भ्रमण गरेका पौडेलले प्रधानमन्त्रिको प्रमुख राजनीतिक सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन्। नेपाली परिवर्तन र विचारको पक्षमा दर्जन वढि पुस्तक प्रकाशित गरेका पौडेल सुनिल उपनामले चिनिन्छन्। नाफाको वाँकी जिवन जनतामा समर्पित गर्ने भन्ने पौडेल अहिले वलियो उमेद्वार हुन्।

नर वहादुर पुन (उमेद्वार नेपाली काँग्रेसको तर्फवाट बागलुङ क्षेत्र नं. १)

नेपाली काग्रेसको तर्फवाट प्रतिनिधि सभा बागलुङ क्षेत्र नं. २ का उमेद्वार नर वहादुर पुनको जन्म २०१५ साल माघ २९ गते गल्कोट नगरपालिका वडा नं. ११ पाण्डवखानीमा (साविक पाण्डवखानी गाविस) भएको हो। लामो समय शिक्षण पेशामा रहेका पुनले २०४७ साल देखि राजनैतिक यात्रा सुरु गरेको देखिन्छ। २०४९ देखि २०५२ सम्म क्षेत्रिय समिति रहेका पुनले २०५३ सालमा पार्टिको क्रियाशिल सदस्य प्राप्त गरेका थिए। २०५३ देखि २०६८ सम्म जिल्ला कार्यसमितिमा ३ कार्यकाल काम गरेका पुन नवौं देखि १३ औं महाधिवेशन सम्म प्रतिनिधि वनेका थिए। २०४९ देखि २०५१ सम्म शिक्षक संघको केन्द्रिय प्रतिनिधि, २०५८ देखि २०६७ सम्म नेपाल आदिवासी जनजाति संघको केन्द्रिय सचिव रहेका पुन २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा बागलुङ क्षेत्र नं. ३ वाट विजयी भएका थिए। २०४५ साल देखि २०५९ सम्म पाण्डवखानी माविको प्रधानाध्यापक रहेका पुन अहिले वलियो उमेद्वार हुन्।

यसो त उमेद्वारहरुमा आरोपहरुपनि लाग्ने गरेको छ। क्षेत्र नं. १ का वाम गठवन्धनका डा. सुर्य पाठक नयाँ युवा भएकोले अनुभव कम छ भन्नेहरु पनि छन् भने लोकतान्त्रिक गठवन्धनका चम्पा खड्कालाई राज्यमन्त्रि हुँदा सम्म बागलुङमा केहि गर्न नसकेको र आफ्ना कारणले भन्दा पनि स्वर्गिय श्रीमान्का कारण राजनितिमा आएको आरोप लाग्ने गरेको छ।
उता क्षेत्र नं. २ का वाम गठवन्धनका उमेद्वार देवेन्द्र पौडेललाई जिल्लामा ध्यान नदिएको, आगन्तुक उमेद्वार भएको आरोप लागेको छ भने काँग्रेसका उमेदवार नर वहादुर पुन निरजले २०६४ मा निर्वाचन जितेपनि आफ्नो दायित्व पुरा गर्न नसकेको, विकास निर्माणमा कुनै पहुँच पुर्याउन नसकेको आरोप लागेको छ।

लेखक, रेडियो सारथीका स्टेसन म्यानेजर (पत्रकार) हुन् ।

२०७४ मंसिर ७
बागलुङ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *