एकैदिन बागलुङ पश्चिमका पाँच ठाउँमा बामगठबन्धनको चुनावी सभा सम्पन्न

राम सुवेदी, बुर्तिवाङ २०७४ मंसिर ५ । बागलुङ पश्चिमका विभिन्न पाँच स्थानमा आज बाम गठबन्धनको चुनावी सभा सम्पन्न भएका छन् । सभामा बोल्ने बक्ताहरुले देश बदल्ने शक्ति कम्युनिष्टहरु नै भएको भन्दै एक भएर चुनावी अभियानमा आएको बताएका छन् । बक्ताले एक ढिक्का भएको बामपार्टि बागलुङ जिल्लामा भारी बहुमतका साथ जित्ने दावी गरेका छन् । बागलुङ जस्तै सन्देश देशै भरीबाट आउने भएकाले यो एकतालेनेपाली जनतामा समेत उत्साह जागेको र जनलहर बढ्दै गएको बताएका छन् । बामपार्टिले अव देशमा जनचाहना अनुसारको राज्य सञ्चालनमा अग्रसरता लिएकाले बामपार्टि उमेदवारलाई मतदान गरि भारि मतले विजयी बनाउन जनता आतुर रहेको वक्ताहरुले जोड दिएका छन् ।

जिल्लाको पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाको बोहोरागाउँ, निसीको पुतली वजार, तमानखोला गाउँपालिकाको खोलेसबाङ, नर्जा र लाममेलामा आज दएकै दिन पहिलो पटक चुनावी सभा सम्पन्न भएको जनाइएको छ ।

यसैबीच निसीखोला गाउँपालिकाको बोहोरागाउँ झिवाखोलामा भएको सभामा साझा बामपार्टि उमेदवार टेकबहादुर घर्तिले प्रमुख अतिथिका रुपमा बोल्दै, विभिन्न ठाउँमा छरिएका बामपन्थी शक्ति एकताबद्ध भएर निर्वाचनामा आएपछि काँग्रेस अतालिएको बताए । थप बोल्दै प्रदेश सभा उमेदवार घर्तिले, काँग्रेस अव प्रतिपक्षको भुमिकामा बस्न तयारी गर्न आग्रह गर्दै सबै जनतालाई स्थायी सरकार निर्माण र विकासको गति दिने बाम लहरमा उकतावद्ध भई बाम उमेदवारहरुलाई मतदान गरि विजयी बनाउन अनुरोध गरे ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथि ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले, जनताको राज्य सक्ता बामपन्थीहरुले छिट्टै लिने र देश विकासको तीव्र गति अंगाल्ने बताए । नेपालीले आजसम्म सरकारमा पठाएर काँग्रेस पालियो अव आजसम्म पालेर केही नगर्ने काँग्रेसलाई फाल्ने दिन समेत नजिकिएको भन्दै, सबै सचेत नेपाली जनताले बामगठबन्धनका उमेदवारलाई मतदान गर्न आहवान समेत गरे ।

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन गर्दा प्रतिनिधि सभामा देबेन्द्र पौडेल र प्रदेश सभामा टेकबहादुर घर्तिलाई मतदान गरि भारी मतले विजयी गराउने अभियानमा गाउँ गाउँमा उत्साहका साथ लाग्न समेत सबैलाई नगर प्रमुख नेपालीले आग्रह गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य तथा निसीखोला गाउँपालिका निर्वाचन परिचालन समितिका संयोजक खीम विक्रम शाही, नेकपा माओवादी केन्द्र ढोरपाटन नगर अध्यक्ष चन्द्रलाल अर्याल लगायतले मन्तव्य राखेका थिए ।

माओवादी केन्द्रका नन्दबहादुर चन्दाको अध्यक्षता, एमाले जिल्ला सदस्य रुद्र पौडेलको स्वागत मन्तव्य र मिलन हमालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ । चुनावी सभामै बोहोरागाउँ स्थित ४० भन्दा बढी संघ संस्थाले प्रदेश सभा उमेदवार घर्ति र नगर प्रमुख नेपालीलाई सम्मान गरेका थिए ।

यस्तै निसीखोला गाउँपालिकाको निसी स्थित पुतली बजारमा पनि आजै चुनावी सभा सम्पन्न भएको छ । माओवादी केन्द्रका धनुसुर घर्ति मगरको अध्यक्षता रहेको कार्यक्रममा ढोरपाटन नगर प्रमुख देवकुमार नेपालीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथिका रुपमा बोल्दै नेपालीले, निसीखोलाको विकास र यहाँका जनताको उन्नति , समृद्धिका लागि सबै जनता बाम पार्टिमा गोलबन्द हुन आग्रह गरे । अवको सरकार बामपार्टिको दुई तिहाई बहुमत सहित हुने निश्चित भएको भन्दै नेपालीले, जनता अन्त कतै अलमलमा नपर्न समेत आग्रह गरे ।

सभामा विशिष्ट अतिथि एवं प्रदेश सभा उमेदवार टेकबहादुर घर्तिले, प्रदेशदेखि केन्द्रसम्म बामपार्टिहरुको बहुमत सहितको सरकार बन्ने निश्चत भएको भन्दै आफ्नो ठाउँको विकासका लागि बामपार्टिमै अवद्ध हुन सबैलाई आग्रह गरे । प्रदेश सभा उमेदवार घर्तिले, अझै पनि गाउँ गाउँमा पैसा वाँड्ने, अनावश्यक आस्वासन दिने र भ्रमको खेति गर्नेहरुको दिन गएको भन्दै सही र सत्यको पछि लाग्न जनतालाई आग्रह गरे । अखिल नेपाल महिला संघ क्रान्तिकारीकी कमला पुनको स्वागत मन्तव्य तथा कुशल बुढाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमकै अवसरमा नयाँ शक्ति पार्टि नेपालका वडा नं. ५ का संयोजक जस बहादुर विक सहितको सबै टिम बामगठबन्धन प्रवेश गरेको बताइएको छ । नव प्रवेशीलाई प्रमुख अतिथि नेपाली र प्रदेश सभा उमेदवार घर्तिले संयुक्त रुपमा टिका लगाएर स्वागत गरिएको बताइएको छ ।

उता तमानखोला गाउँपालिकाको खोलेसबाङमा पनि आजै चुनावी सभा सम्पन्न भएको छ । नगर प्रमुख देव कुमार नेपालीको प्रमुख आतिथ्यता, प्रदेश सभा उमेदवार टेकबहादुर घर्ति र माओवादी नेता चन्द्र अर्यालको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा तीनै जना वक्ताले बामपार्टि उमेदवारहरुलाई मतदान गर्न मतदातालाई आग्रह गरेका थिए । एमालेका लिलाबहादुर पुनको अध्यक्षता, माओवादी केन्द्रका सुर्य सिर्पालीको स्वागत मन्तव्य तथा राष्ट्रिय जनमोर्चाका डोरबहादुर क्षनेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यस्तै तमानखोला गाउँपालिकाकै नर्जा र लाममेलामा पनि आजै सभा सम्पन्न भएको बताइएको छ । चुनावी सभामा ढोरपाटन नगर प्रमुख देवकुमार नेपाली, प्रदेश सभा उमेदवार टेकबहादुर घर्ति र माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा ढोरपाटन नगर अध्यक्ष चन्द्रलाल अर्यालले संबोधन गरेका थिए । सभामा स्थानीय झाँकी पञ्चेवाजा र आमा समुह लगायतका स्थानीय संघ संस्थाले सम्मान समेत गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *