नेताका चुनावी आश्वासन र जिल्ल जनता !

— राम सुवेदी

यतिवेला गाउँ गाउँमाचुनावसँगै विकासे हल्ला छ । हुन त यो हल्लै, हल्ला गर्ने देश हो । हल्ला सुन्ने र जिल्ल पर्ने हामी नेपालीको दैनिकी सदियौं पूरानो बानी पनि हो । चुनाव आएको छ । राजनीति तातिएको भन्छन सबै । तर म भन्छु, राजनीति होईन लाजनीति तातिएको छ । जनतालाई आश्वासनका नाममा धोकाका पोका वितरण हुँदैछ । टाँठा बाठाहरु लाटा सोझा जनताको अभिमत खरिद विक्रीमा तल्लिन छन् । यो कुनै महान पर्व विशेष पनि रहेछ । जनताको नाममा गाउँका बाठाहरु कमाउने धन्दामा रमाएका छन् । विभिन्न दलका नेताहरुसँग बार्गेनिङ गर्ने, पार्टी बदल्र्ने र गाउँका सोझा जनताको कमजोर अवस्थासँग दलाली गर्ने । यहाँ यस्ता कार्यकर्ताको पनि बोलबाला चलेको छ ।

हाम्रा नेता, साँसद, मन्त्री सबैलाई थाहा छ, गाउँमा सडक पुगेको छैन, जनताको घरदैलोसम्म पुग्ने सामान्य भन्दा सामान्य सडक सञ्जाल छैन । उपचारका लागि स्वास्थ्य संस्था र भएका स्वास्थ्य संस्थामा चिकित्सक छैनन् । गतिलो स्कुल छैन भएकामा राज्यले शिक्षक व्यवस्था गरेको छैन । जनता जीवनभर त्यो अफ्ठेरो बाटोमा आफ्ना दैनिकीमा आवश्यक पर्ने सरसामान सहित भीर पहराकोबाटो भएर ओहोर दोहोर गर्छन ।
मैले कताकता देख्छु । यहाँ दुनियाँ हसाँउने अभिनय गर्न नेताहरुको होड चलेको छ । गाउँमा गतिलो बाटो बनाउने योजना ल्याउन नसक्ने हुतियाराहरु किसानको बारीमा खेत जोतेको फोटो सामाजिक सञ्जालमा भरिदिन्छन् । अनी तिनका भरौटेहरु लेख्छन, हाम्रा पार्टीका नेता जनताको दुःख सुःखमा । यस्ता नौटंकी किसानका खेतमा भेटिए, खेतका गराहरुमा भेटिए, कोदोबारीमा भेटिए, भारी बोक्ने मजदुरसँग नाम्लो फेरेको देखियो । एक मतका लागि आज जे जे नौटंकी गरिएको छ नि । सक्छौं उनको दैनिकी फेर्न तिमी काम देखाइदेऊ । बारीमा जानु पर्दैन । अहिलेका बकम्फुसे तस्वीर सामाजिक सञ्जालमा भरेर गाइजात्रा गर्नपनि पर्दैन ।

जामुने खर्कका जुठे दाईले मलाई देखेर भने, केहि बिकासका योजनाको आश्वासन लिएर आउनु भएको होला भोट माग्न बाबु पनि । हामीलाई त पुगी सक्यो, राख्ने ठाउँ नै छैन । तपाई भन्दा पहिले आउनेहरुले नै सबै दिई सके, हामीले माग्न पर्ने नै केहि रहेन ।

सधैभरी चिप्लो बाटोमा हिडने गरिव जनताको दैनिकीको व्यथा कुनै पत्रपत्रिकामा हाम्रा पत्रकारहरुले लेख्ने उछार पाएनन् । मलाई अचम्म लागेको कुरा, आज तिनै देशका नेता जो वर्षौंसम्म केन्द्रमा सुख सुविधा भोगचलन गरे, हिजो जनताका बीचमा वाँडेका आश्वासनहरु यत्तिकै थला टेकाएर जहाँको तही बसे । फेरि उनीहरुले लौरे टेकेर गाउँका मतदातासँग पूराना आश्वासन दोहो-याउन हिँडेका तस्वीर सहितको नेताका कहानी किन लेख्छौ ? जनताको यो अवस्था किन आयो भनेर किन प्रश्न गरेनौँ । जनतालाई परेका पीर मर्काका कुराहरु किन लेखेनौं ? जनताको समस्या के हुन र के छन भन्ने जनतासँग गएकोवेला सात्क्षत्कार किन गर्न अझै भ्याएका छैनौं ? हाम्रो धर्म यसैमा सीमित हो त ? रंग रमाइलोका कुरा आ आफ्ना ठाउँमा राखौं । वास्तविकता तर्फपनि हाम्रा आँखा डुलाउन सिकौं । गाउँ गाउँमा जनता खानेपानी सुवधा नभएर प्यासा बनेका छन् । हाम्रा खोला नाला र गल्छीहरुमा पुल पुलेसा छैनन । गरिव दिनदुखी जनताका बालबच्चा पढ्न गाउँमा स्कुल छैन । भएका स्कुलमा शिक्षक व्यवस्था राज्यले किन गरेन ? दुर दराजका जनता साँझ विहान हात मुख जोड्न ज्यान जोखिममा राखेर जीविको चलाइरहेका छन् । किसान भनिन्छ किसानमुखी कार्यक्रम छैन । किसानका नाममा कर्मचारीमुखी कार्यक्रम मात्र गरेर राज्यको पैसा ब्रह्मलुट गरिएको छ । स्थानीय तहमा आएका विकासे कार्यक्रम सत्ता र सरकारमा भएका पार्टीका धपौरेहरुले भ्रष्ट्राचार गर्ने बैधानिक माध्यम बन्यो । सही ठाउँमा वजेट परेन । जनताका समस्या बुझिएन । जनताको घरदैलोमा सामान्य प्राथमिक उपचार सेवा पुगेको छैन । यसको जवाफ के अव पनि नेताहरुले कागजमा देखाउँदै आएको घोषणापत्र र झुठको प्रतिवद्धता खोक्रा भाषणमा मात्र हो ? वास्तविक प्रतिवद्धता र जनउत्तरदायी राज्य कहिले कस्ले चलाउने ? पारदर्शी प्रशासन कस्ले कस्को पालामा ल्याइदिने हो ? अव तमाम कुरा जनताले मनदेखि सोचेर बसेका छन् । हिसावकिताव मतदानकेन्द्रमा पुगेर मतपत्रमा छाप लगाउँदा प्रस्तुत गर्नेछन् ।

जनताले बुझेका छन् । अव पनि अचेत छैनन् । देशमा यतिलामो समयसम्म राज्यमा यिनै आश्वासन वाँड्ने पार्टी र यिनकै मन्त्रीले राज चलाए । हिजो जनतालाई यसरी नै नमस्कार गरी जनमत लिएर गएक प्रतिनिधिहरुले शहरमा आफ्ना घर बनाए, गाडी किने, छोराछोरी विदेश पढन पठाए, आफू विरामी हुँदा विदेशमा उपचार गरे । राज्यकोष लुटेर सम्पत्ति कुम्ल्याए । आज उनै मान्छे र उनकै पात्रहरु पटकथामा गाउँ छिरेका छन् । समुन्नत समाज रे, समृद्ध नेपाल बनाउने रे ? देशको विकास आफूले गर्ने अरे ? आफू नभए देश डुब्छ रे ? आफ्नो जीत नै जनताको जीत हो रे ? बिचरा हो । नकचरो बोलीको त्यो कचकरो भाषण जनताले अझै कति सुन्नु पर्छ ?
नेपाली जनताले अहिलेकै संस्कृति युक्त राजनीति देख्न हामी मतदाताले भोट हालेको हो ? देश लुटेर खान सिकाउने उत्ताउलो विधीको पक्ष पोषण गर्न हामी मतदाता भएका हौं ? वा तिम्रा आफन्त, नातेदारलाई रोजगारी दिने बाटो हाम्रो मतदानले खुलाइदिएको हो ? हामी उपचार नपाएर गाउँमा थलापर्ने तिमीलाई विदेश उपचार गराउन हामीले मतदान फेरी गर्नु पर्ने हो ? कि तिम्रो शहरमा अर्कोघर थपिदिन हामी तिमीलाई मतदान गर्ने हो । वास्तविकता हव हामीलाई बताउ । हामी किन मतदान गर्ने ? प्रश्नै प्रश्नको खातमाथि मतदाताले छाप हान्ने र आफ्नो भविष्य विगार्ने अभिमतको खेति कहिले अन्त्य होला ? हाम्रो प्रश्न यही हो ।
हामी नेपाली जनता अव पनि कतिदिन आफ्नो अमूल्य अभिमत बेचेर आफू गरिब हुने ? कतिदिन यो कुसंस्कृति पाल्नेहरुलाई नेता, साँसद, मन्त्री मान्ने ? आफ्नो अभिमतले मोटाएका यिनलाई प्रश्न गर्न मिल्छ कि मिल्दैन ? यदि मिल्छ भने, हिजो जितेर गएका ठाउँमा के के गरेर देखायौं ? जनताको आसा अभिलासा किन पुरा भएनन ? जनमतको दायित्व बोध नहुनेहरुलाई फेरि मत किन चाहियो ? आज जनताकाबीचमा लाखौं यस्ता प्रश्नहरु छन् । प्रश्न हुँदा हुँदै पनि भाषणका स्वरहरु सुन्दै सुन्दै आएका जनता, आश्वासन र भरोसाका नयाँ वात सुनेर मख्ख परेका मतदाता, अझ भनौ समर्थक, कार्यकर्ता चुनावी महान पर्वमा छन् । हाम्रो संस्कृति र पर्वहरुमा जुवा खेलिन्छ । त्यो मान्यता राख्ने परम्परा र धर्म हो । जुवाको खालमा दुई दर्जन बढी पात्रहरुको रस्साकस्सी चलिरहेको छ । मंसिर १० पछि समग्र पर्व सहित जुवाको खाल उठने छ । कसैले जित्ने छन् कसलेै हरुवा भएर थमारिनेछन् । तर थाहा छ यो खाल जुटाइदिनेहरु न कहिल्यै जित्ने छन न कहिल्यै हारेको भनेर घोषणा हुने छ । चुनावी पर्वमा आएका एक हुल कोही शहर चाप्ने छन कोही साथमा रहने छन् । जनता फेरी अर्को पाँच वर्ष पछि यिनै नेताको आश्वासन सुन्न पर्खी बस्नेछन् ।
बुर्तिवाङ २०७४ मंसिर ५ ।
लेखक, ईबागलुङ डटकमका संपादक हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *