पाठकको प्रश्न, सांसदले पाउने ३ करोड परिचालन बाहेक अन्य क्षेत्रमा के प्रगती भयो ?

रामबहादुर जीसी, बागलुङ, २०७४ कात्तिक २७ । निर्वाचन प्रचारका क्रममा सोमबार बिहान बागलुङ बजारको नारायणचोकमा आयोजित कार्यक्रममा बोल्द बाम गठबन्धनका तर्फबाट बागलुङ क्षेत्र नं. १ मा प्रतिनिधिसभाका उमेदवार डा.सूर्य पाठकले बागलुङ जिल्लालाई पर्यटनको गन्तव्यको रुपमा विकास गर्नका लागि स्पष्ट योजना आवश्यक रहेको बताएका छन् ।

पाठकले संभावना प्रशस्त भएर पनि पर्यटकले एक दिन पनि बस्ने नसक्ने स्थानको रुपमा बागलुङ बजार बन्दै गएको बताए । देशकै एक मात्र शिकार आरक्ष ढोरपाटन बागलुङमा पर्छ भनेर हामी दंग छौ, तर ढोरपाटन जाने पर्यटकले बागलुङ बजारको मुख देख्दैनन् ।

कालिका भगवती मन्दिरको दर्शन गरेर बाङ्गेचौरबाट फिर्ता हुने पर्यटकहरुलाई कम्तिमा एक दिन बागलुङ बसौ भन्ने पार्न, बागलुङ बजार हुदै पर्यटकहरुलाई ढोरपाटनसम्म जाने अवस्था सिर्जना गर्नका लागि बागलुङ बजार र यससंग जोडिने सडक सञ्जाललाई व्यवस्थित गराउनुका साथै पञ्चकोट लगायत यहाँका धार्मिक, सांस्कृतिक संम्पदाहरुको संरक्षण आवश्यक रहेको उनको भनाई थियो ।

विकासका लागि पर्यटन, जलस्रोत, कृषि र जडिबुटीको क्षेत्रमा योजना आवश्यक रहेको भन्दै पाठकले सम्बन्धित क्षेत्रका विशेषज्ञहरुसंगको परामर्शमा बागलुङको समग्र विकासका लागि आफु निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

यस भन्दा पहिला निर्वाचित भएर गएका प्रतिनिधिहरुप्रति प्रश्न गर्दै पाठकले ४÷५ वर्ष माननीय भएर यो समाजको विकासका लागि गरेका राम्रा ४ वटा काम देखाउन चुनौती दिए । सबै सांसदले पाउने ३ करोड परिचालन बाहेक अन्य क्षेत्रमा के प्रगती भयो ? बागलुङको समृद्धिका बारेमा संसदमा कति पटक आवाज बुलन्द गर्नु भयो ? भुकम्प पीडित बागलुङेहरुको उद्धारका लागि कहिले र कहाँ आवाज उठाउनु भयो ? भन्दै पाठकले संसदमा जानु भनेको केवल ताली बजाउन होइन पाठकले भने ।

कार्यक्रममा प्रदेशसभाका प्रत्यक्ष साझा बाम उमेदवार इन्द्रलाल सापकोटाले ४ नं. प्रदेश र सिंगो बागलुङको समृद्धिका लागि जलस्रोत नै प्रमुख माध्यम भएको बताए । जलस्रोतलाई उपयोग गर्ने नीति निर्माण गर्न, पर्यटन प्रवद्र्धन, कृषिमा आधुनिकीकरण गरी समृद्ध नेपाल निर्माणका लागि बाम गठबन्धनलाई विजयी गराउन आव्हान गरे । उनले राजनीतिक अस्थिरताका कारण मुलुकको आर्थिक विकास हुन नसकेको भन्दै स्थिर सरकार, दीगो विकास र सामाजिक रुपमा जनतालाई सुरक्षा प्रदान गर्नका लागि बामपन्थी गठबन्धनको विकल्प नभएको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *