बाम गठबन्धनका नेताहरुमाथि भएको आक्रमण पराजीत मानसिकताको उपज : ओनसरी घर्ती

रामबहादुर जीसी, बागलुङ, २०७४ कात्तिक २६ । निवर्तमान सभामुख ओनसरी घर्तीले बामपन्थी गठबन्धनका नेताहरुलाई केन्द्रीत गरी भएका आक्रमणहरु गठबन्धनबाट अत्तालिएका शक्तिहरुको पराजीत मानसिकताको उपज भएको बताएकी छन् ।

बागलुङ जिल्लाको ताराखोला गाउपालिकाको साबिक अर्गल गाविसमा वर्षेनी मनाईने साँस्कृतिक महत्वको भुस पोल्ने मेला (पर्व)मा सहभागी हुन शनिवार साँझ बागलुङ सदरमुकाम आई पुगेकी घर्तीले बामपन्थी गठबन्धनका तर्फबाट आयोजित स्वागत कार्यक्रममा बोल्दै बामपन्थी गठबन्धनले धक्का दिएका शक्तिहरु यतिबेला यो गठबन्धन तोड्ने तथा नेताहरुलाई त्रसित पार्ने अभियानमा लागेको आरोप लगाईन् । उनले यस्ता क्रियाकलापबाट हतोत्साही नहुन आम नेता कार्यकर्तालाई आग्रह समेत गरिन् ।

देश बामपन्थी मय भइसक्यो, निर्वाचनपछि बामपन्थीले सरकारको नेतृत्व गर्छन र देशमा स्थिरता कायम गरी देशलाई समृद्ध बनाउछन् भन्ने चिन्ता गर्नेहरु विभिन्न षडयन्त्रमा लागेको भन्दै उनले यस्ता षडयन्त्रले गठबन्धन झन बलियो हुने बताईन् ।

आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पछि यो देशमा समाजवाद निर्माणको अभियान शुरुवात हुने भन्दै उनले त्यसका लागि यो निर्वाचनलाई अर्जुनदृष्टि बनाएर बाम गठबन्धनका उमेदवारलाई विजयी बनाउनु पर्नेमा जोड दिईन् ।

अब देशमा एउटै कम्युनिष्ट पार्टी बन्नेछ, त्यसका लागि आम जनताको तर्फबाट सहयोग, समन्वय र दवाव आवश्यक रहेको भन्दै घर्तीले बामपन्थीहरुले देशको आर्थिक विकास र सामाजिक रुपान्तरणको नेतृत्व गर्ने बताईन् ।

विगतमा निर्वाचन लगायत विभिन्न समयमा हामीहरुबाट भएका कमी कमजोरीहरुलाई सुधार गर्न, एमाले र माओवादी केन्द्रका नेता कार्यकर्तामा रहेका तुषहरुलाई विर्सेर आगामी दिनमा एउटै पार्टी हुने हो भन्ने भावनाका साथ निर्वाचन अभियानमा होमिन उनले आव्हान गरिन् ।

गठबन्धनका कारण निर्वाचनका बेला कसैको मन भाचिएको हुन सक्छ, यदि असन्तोष छ भने पनि त्यसलाई थाँती राखेर बामपन्थीहरुको स्पष्ट बहुमत सहितको सरकार निर्माण र देशमा स्थिरता कायम गर्नका लागि सक्रिय भएर लाग्न आग्रह गर्दै त्यसपछि अवसरहरु प्रशस्त आउने भएकाले साना तिना समस्यामा अल्झेर यो महान अभियानलाई कमजोर बनाउन नहुने बताईन् ।

कार्यक्रम नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला स्तरीय निर्वाचन परिचालन कमिटिका सदस्य मनकुमारी जिसी केसीको अध्यक्षता, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला स्तरीय निर्वाचन परिचालन कमिटिका सदस्य कृष्णबहादुर केसीको सञ्चालन र एमाले केन्द्रीय निर्वाचन कमिटिका सचिवालय सदस्य ममतादेवी शर्माको स्वागतमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *