घुम्ति पत्रकार सम्मेलन : समृद्धिका लागि स्थानीय स्रोत परिचालनमा जोड दिन्छौ- पाठक

राम बहादुर जीसी, बागलुङ, २०७४ कात्तिक २२ । बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा बागलुङ क्षेत्र नं. १ का साझा उमेदवार नेकपा एमालेका युवा नेता डा.सूर्य पाठकले नेपालको आर्थिक विकासका लागि स्थानीय स्रोत साधनको परिचालन आवश्यक रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल र प्रगतिशिल पत्रकार संघ बागलुङले बुधवार बागलुङ नगरपालिका १४ नारायणस्थानमा आयोजना गरेको घुम्ति पत्रकार सम्मेलनमा बोल्दै उमेदवार पाठकले यस्तो बताएका हुन् ।

थुप्रै स्रोतहरु पहिचान, उत्पादन र परिचालनको अभावमा खेर गैरहेका छन्, राज्यको नीति स्थानीय स्रोतको परिचालन भन्दा पनि आयात गर्नेतर्फ केन्द्रीत भएकाले देशको आर्थिक विकास हुन नसकेको बताए ।

उनले जनतासंग भएको श्रम, सिप र पूँजिलाई परिचालन गरी देशलाई आर्थिक रुपमा सवल बनाउन सकिने थुप्रै संभावना भए पनि राज्य सञ्चालकहरुको ध्यान नपुग्दा देश गरिव भएको दावी गर्दै । स्थानीय स्तरमा रहेका स्रोतको परिचालन गर्न सके स्वदेशमै रोजगारी हुने र युवा पुस्ता विदेशिने समस्या कम हुदै जाने बताए ।
पाठकले संघीय संसदमा जितेर गएपछि स्थानीय स्रोत परिचालनका लागि सक्दो पहलकदमी गर्ने र जनतालाई आत्मनिर्भर बनाउने नीति निर्माणमा योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे । अध्ययनका क्रममा प्रवासमा रहदाँ हासिल गरेको ज्ञान, सीप र दक्षतालाई इमान्दारीका साथ नेपालको अधिकतम हितमा लगाउनका लागि उमेदवार भएको भन्दै पाठकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गर्न पहल गर्ने बताए ।

पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै एमाले नेता पाठकले मंसिर १० गते हुने निर्वाचनमा बागलुङमा बामगठबन्धनले धेरै मतको अन्तरमा जित हासिल गर्ने दावी समेत गरे ।

नेकपा एमाले लगायत बामपन्थी दलहरुले राष्ट्रियता, जनजिविका, विकास निर्माण, सामाजिक सुरक्षा लगायतका विषयमा गरेका काम र स्थिर सरकार निर्माणका लागि बामपन्थीहरुबीचको एकता र सहकार्यबाट जनता उत्साहित भएकोले बामपन्थीको जित सुनिश्चित भइसकेको पाठकको दावी छ ।

कार्यक्रममा बागलुङ–१, प्रदेशसभा (२) का उमेदवार तथा राष्ट्रिय जनमोर्चाका पूर्व जिल्ला अध्यक्ष कृष्ण थापाले आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि बामपन्थीलाई मत दिन जनता आतुर रहेको बताए ।

नेपाली कांग्रेसले लामो समय सत्तामा बसेर पनि जनताका समस्यालाई सम्बोधन गर्न नसकेको र बामपन्थीहरुले छोटो समय सत्ता पाउदा पनि बढी काम गरेकोले यस पटक बामपन्थीलाई बहुमत सहित जिताउने प्रतिवद्धता गरेको उनको भनाइ छ ।

उनीहरुले लामो समयदेखि बन्द रहेको बलेवा विमानस्थल सञ्चालन गर्ने प्रतिवद्धता गरेका दुवैजना उमेदवारले विमानस्थलका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिएका छन् ।

कार्यक्रम प्रेस सेन्टर बागलुङका अध्यक्ष राम थापाको अध्यक्षता, प्रेस चौतारीका सुवास गौतमको स्वागत र प्रगतिशिल पत्रकार संघका विजय रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *