संगिनीको एक दिने सहकारी प्रशिक्षण : ‘महिलालाई आर्थिक रुपमा सक्षम बनाउन सहकारी सहयोगी’

म्याग्दी, २०७४ कात्तिक १८ । राष्ट्रिय सहकारी बैंकका केन्द्रीय सदस्य रामबहादुर जिसीले ग्रामिण क्षेत्रका महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाई राज्य हरेक क्षेत्रमा महिला सहभागिता वृद्धिका लागि सहकारी अभियान सहयोगी हुने बताएका छन् ।

वित्तीय रुपमा पहुँच नभएका महिलाहरु हरेक क्षेत्रमा पछि परेको भन्दै जीसीले सामाजिक रुपमा अग्रसर हुनका लागि आर्थिक रुपमा व्यवस्थित हुन आवश्यक रहेको बताए । विकासका लागि महिलाको अनिवार्य सहभागितामा जोड दिदै जिसीले समृद्ध मुलुक निर्माणका लागि महिलाहरुलाई वित्तीय रुपमा सक्षम बनाउनु पर्ने बताए ।

संगिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनी म्याग्दीले शनिवार आयोजना गरेको एक दिने सहकारी प्रशिक्षण कार्यक्रममा बोल्दै जिसीले यस्तो बताएका हुन् ।

सहकारी विकासको साधक हो, तर सहकारीका बारेमा धेरैलाई अझै जानकारी छैन, त्यसैले सदरमुकामका सहकारी संघ संस्थाहरुले ग्रामिण क्षेत्रका सहकारीलाई यसको मर्म र भावना अनुसार अगाडि बढाउनका लागि सहकारी शिक्षामा जोड दिनु पर्ने उनको भनाइ छ ।

देशमा राजनीतिक परिवर्तन भयो, अब आर्थिक परिवर्तनका लागि महिला र पुरुष संगसंगै विकास यात्रामा लाग्नु पर्नेमा जोड दिदै जिसीले सबैलाई मालिक बनाउने व्यवसायका रुपमा रहहेको सहकारी क्षेत्रलाई प्रभावकारी बनाउन ध्यान दिनु पर्ने बताए ।

कार्यक्रममा जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्की, नेपाल पत्रकार महासंघ म्याग्दीका पूर्व अध्यक्ष सुरज केसी लगायतले सहकारीमार्फत महिलालाई राज्यको मुल प्रवाहमा ल्याउनका लागि राज्यले बनाएका नीति नियमहरुको पालना गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।
संस्थाको पाचौ वार्षिक साधारणसभासंगै आयोजित प्रशिक्षण कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीमा सदस्य, सञ्चालक र व्यवस्थापनको भूमिका, दीगो सहकारी संस्था बनाउने उपायहरु, सहकारीमार्फत सञ्चालन गर्न सकिने व्यवसाय लगायतका विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष साधना श्रेष्ठको अध्यक्षता, निवर्तमान अध्यक्ष अमृता भण्डारीको स्वागत र सचिव गंगा बाँनियाको सञ्चालनमा सम्पन्न भएको थियो ।

म्याग्दीका महिलाहरुलाई आर्थिक रुपमा सक्षम, सामाजिक रुपमा शसक्त बनाउने लक्ष्यका साथ स्थापित संस्थामा हाल ३ सय १६ जना शेयर सदस्य, डेढ करोड शेयर रकम, साढे दूई करोड निक्षेप र ३ करोड कर्जा लगानी रहेको संस्थाका उपाध्यक्ष नविना रावलले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *