कालीगण्डकी कोरीडोरको ट्रयाक खुलेपछी, कुस्मीसेरा देखी सात घण्टामा सिधै सुनौली !

किरण आचार्य, बागलुङ २०७४ कात्तिक १७ । नेपाली सेनाले निर्माण गरिरहेको कालीगण्डकी कोरिडोरको ट्रयाक खुलेपछी धौलागिरी यातायात बस व्यवसायी समितिले बागलुङ जैमिनी नगरपालिकाको केन्द्र कुस्मीसेरा देखी सुनौलीसम्म सिधा यातायात सेवा सञ्चालनमा ल्याएको छ । कुस्मीसेराबाट बिहान ७ बजे छुटेको बस दिउँसो ३ बजे सुनौली पुग्ने समितिले जनाएको छ । हाल यात्रुहरु पोखरा, नारायणगढहुँदै सुनौलीसम्मको घुमाउरो यात्रा गर्न बाध्य छन् ।

पश्चिम नेपाल यातायात व्यवसायीले पाल्पा, रिडीहुँदै कोरिडोरको ट्रयाकमा केही दिनदेखि सिधा बस चलाएको भएपनि धौलागीरी बस ब्यवसायी समितीले भने पहिलोपटक बस सेवा सञ्चालनमा ल्याएको हो । यातायात सञ्चालनमा आएपछि जैदी, छिस्ती, अर्जेवा लगायतका बासिन्दाले बुटवलदेखि आउने भाडामा समेत ५० प्रतिशत कमी आएको समितीका अध्यक्ष उमेश केसीले बताउदै कुस्मीसेराबाट उल्टो सदरमुकाम आएर बुटवल तथा सुनौली जाने दक्षिणका सर्वसधारणको बाध्यता सकिएको बताए । कुस्मी सेराबाट सुनौली सम्मको भाडा रु ४ सय २५ तोकिएको समितिले जनाएको छ ।

कुस्मीसेराबाट सुनौलीका लागि छुट्ने बसले गुल्मी स्याङ्जा, पाल्पा र बुटवलका नागरिकलाई सिधा यात्रा गर्न पाउदा सहज हुने बताउदै अध्यक्ष केसीले बागलुङ साविकका ३० भन्दा बढि गाविसका सर्वसाधारण यो सेवाबाट लाभान्वित हुने विश्वास व्यक्त गरे ।

नेपाली सेनाले निर्माण गरेको मालढुगा-टाकुरीहुँदै गुल्मी सिमानाको ३६ र गुल्मी र पाल्पातर्फको गरी ८० किलो मिटर खण्डमा ट्राक खुलेपछि बुटवलदेखि सिधा बस र जिप चल्न थालेको निर्माण कार्यदलका प्रमुख सेनानी रेश्मीराज भट्टराईले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *