तमानखोलामा मिडिया सम्वाद सम्पन्न, बुँगादोभानमा पत्रकारिता तथा उद्घोषण तालिम जारी

राम थापा अबिरल, बागलुङ, २०७४ कात्तिक १५ । सञ्चारको सहज पहुँचबाट बञ्चित तमानखोला गाउँपालिकामा बुधबार सरोकारवाला पक्षहरुकाबीच मिडिया सम्वाद सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र पत्रकार महासंघ बागलुङ शाखाको संयोजनमा भएको सम्वाद कार्यक्रमबाट सात बुँदे घोषणापत्र जारी गरिएको छ । सम्वाद कार्यक्रममा जनप्रतिनिधि, सामाजिक अभियानकर्मी, बुद्धिजिवी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

तमानखोला गाउँपालिकालाई केन्द्रीत गरि सञ्चारमाध्यमको स्थापना गर्न पहल गर्ने घोषणापत्रको पहिलो बुँदामा उल्लेख छ । यस्तै, कृषि, पर्यटन, जडीबुटी लगाएतका सम्भावनाको व्यापक खोज गरि स्थानीय बासिन्दाको जीवनस्तर उकास्न टेवा पु¥याउने लक्ष्य राखिएको छ । गाउँपालिकाका सम्भावना, समस्या र गतिविधिलाई सञ्चारमाध्यमबाट प्रकाशन, प्रसारण गर्ने र उक्त कार्यका लागि हाल बुर्तिबाङमा सञ्चालित एफ.एम. रेडियोहरुसँग सहकार्य गर्ने बारेमा घोषणापत्रमा जोड दिइएको छ । विकृति, विसङ्गति, भ्रष्टचार, अन्धविश्वास जस्ता सामाजिक समस्याको अन्त गर्न सञ्चारमाध्यमलाई प्रभावकारी बनाइने समेत उल्लेख छ ।

तमानखोलामा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा, भाषा, कला, संस्कृति आदिको संरक्षण र प्रवद्र्धनमा समेत विशेष पहल गरिने घोषणापत्रमा उल्लेख छ । सम्वाद कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले ‘तमानखोलामा सञ्चारको आवश्यकता र सम्भावना’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि विभिन्न वक्ताहरुले टिप्पणी गरेका थिए । सम्वाद कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जोकलाल बुढाले सञ्चार सेवाबाट बञ्चित तमानखोलामा सञ्चारमाध्यम स्थापनाका लागि गाउँपालिकाले पहिल लिने बताए ।

उनले सूचना र सञ्चार क्षेत्रको विकासका लागि गाउँपालिकाले जस्तोसुकै सहयोग गर्न तयार रहेको उल्लेख गरे । ‘यस गाउँपालिकामा एउटा पनि सञ्चार माध्यम छैन, अन्यत्रको पनि राम्रो पहुँच छैन’ अध्यक्ष बुढाको भनाई थियो ।

गाउँपालिकामै सञ्चारमाध्यम खुले सञ्चारको सहजता आउने भन्दै सम्वाद कार्यक्रममा भएको छलफलपछि स्थानीय बासिन्दा पनि खुसी छन् । विद्युतीय, छापा र अनलाइन मध्य स्थानीय आवश्यकता र अनुकुलता हेरेर तत्काल सञ्चार माध्यम खोल्न प्रकृया अघि बढाइने गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मानसरी शेरचन, रेडियो परिवर्तन बुर्तिबाङका प्रबन्ध निर्देशक लोकेन्द्र सुनार, रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छविलाल पाण्डे, रेडियो परिवर्तनका स्टेशन म्यानेजर झरना कँडेल, गाउँपालिकाका कार्यकारी अधिकृत खिम विक लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच, तमानखोला गाउँपालिकाको आयोजना र पत्रकार महासंघ बागलुङको संयोजनमा गाउँपालिका केन्द्र बुङ्गादोभानमा मंगलबारदेखि चलिरहेको पाँच दिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम पनि जारी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *