लोकतन्त्रको रक्षा र मुलुकको निकास र विकासमा हातेमालो गर्न काँग्रेसलाई मत दिन आग्रह !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ कात्तिक ११ । जिल्लामा तीन बाम गठबन्धन विरुद्ध एक्लै निर्वाचनमा होमिएको नेपाली काँग्रेसले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्र बनाएको छ । आसन्न निर्वाचनमा नेपाली काँग्रेसलाई मतदान गरी लोकतन्त्रको रक्षा र मुलुकको निकास र विकासमा हातेमालो गर्न आग्रह गर्दै काँग्रेसका उम्मेदवार सहितको टोलीले घरदैलो तथा मतदाता भेटघाट गरेका हुन् ।

नेपाली काँग्रेस बागलुङका सभापति एवं बागलुङ क्षेत्र नम्बर १ प्रदेश सदस्य १ का उम्मेदवार दीपेन्द्रबहादुर थापा नेतृत्वको टोलीले बागलुङ नगरपालिका—१ रामरेखामा मतदाता भेटघाट गरेको छ ।

जिल्ला सदस्य खिमानन्द पौडेल, नगर सभापति महेन्द्र आचार्य, अमर कार्की, महिला संघ केन्द्रीय सदस्य पार्वती आचार्य, तेजेन्द्र आचार्य, डिलप्रसाद शर्मा लगायतको टोलीले काँग्रेसको पक्षमा मत माग्दै घरदैलो गरेको हो ।

चार चार जना कम्युनिष्टहरुले देशको नेतृत्व गर्दा पनि जारी हुन नसकेको संविधान नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको भन्दै अबको विकास अगुवाई पनि काँग्रेसले गर्ने भएकाले काँग्रेसलाई मतदान गर्न उनीहरुले आग्रह गरेका थिए ।

नेपाली काँग्रेस क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नरबहादुर पुन निरजले गल्कोट नगरपालिका अन्तर्गतको मल्म झिर्कामा मतदाता भेटघाट तथा घरदैलो गरेका छन् । आफु हरेक सुख दुःखमा क्षेत्र नम्बर २ का जनतासंगै रहेकाले आफुलाई मतदान गर्न उनले आग्रह गरे ।

उनले अहिलेको समयमा लोकतन्त्रमाथि पुनः खतरा देखिएकाले पनि लोकतन्त्रको रक्षा र देशको समृद्धिका लागि नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गरेका थिए । क्षेत्र नम्बर २ प्रदेश सदस्य नम्बर १ का काँग्रेस उम्मेदवार मञ्जेश बम मल्ल नेतृत्वको टोलीले ताराखोला गाउँपालिका अन्तर्गत ताराखोलाको करिमेलामा घरदैलो तथा मतदाता भेटघाट गरेको छ ।

क्षेत्र नम्बर २ को प्रदेश एकलाई आर्थिक रुपमा समृद्ध बनाउनका लागि रुख चिन्हमा मतदान गर्न उनीहरुले आग्रह गरेका थिए । नेपाली काँग्रेस क्षेत्र नम्बर २ प्रदेश सदस्य २ का उम्मेदवार जीत शेरचन, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढामगर लगायतको टोलीले जिल्लाको ढोरापटन नगरपालिका अन्तर्गत वडा नम्बर १, २, ३ र ४ मा घरदैलो गरेको छ । देशको समृद्धिको एक मात्र विकल्प काँग्रेस भएकाले अहिलेको निर्वाचनमा काँग्रेसलाई रुख चिन्हमा मतदान गर्न आग्रह गरेका थिए ।

यसैवीच नेपाली काँग्रेस नगर समिति बागलुङले निर्वाचन परिचालन तथा प्रचार प्रसार समिति गठन गरेको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सदस्य निर्वाचनमा नेपाली काँग्रेसको चुनावी अभियानलाई तीव्र बनाउन नगर सभापति महेन्द्र आचार्यको संयोजकत्वमा १ सय १ सदस्यीय समिति बनाईएको काँग्रेसले जनाएको छ ।

नगर समितिको बैठकले नगरपालिका भित्रका सबै वडा सभापतिको संयोजकत्वमा चुनाव प्रचार प्रसार तथा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकले बागलुङमा नेपाली काँग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउनका लागि भातृ तथा सुभेच्छुक संस्थालाई समेत परिचालन गरी काँग्रेसको पक्षमा चुनावी माहोल सिर्जना गर्ने निर्णय भएको नेपाली काँग्रेस नगर सभापति महेन्द्र आचार्यले बताए । निर्वाचन परिचालन अभियानलाई तीब्रता दिन नेपाली काँग्रेस गल्कोट नगरपालिकाले पनि समिति बनाएको छ । नगर सभापति नारायणध्वज मल्लको संयोजकत्वमा एक हजार एक सदस्यीय समिति बनाईएको हो ।

नगर भेलाले गार्खबहादुर भण्डारीको संयोजकत्वमा युवा परिचालन, दानबहादुर बोहोराको संयोजकत्वमा भूपू सैनिक परिचालन, गुमानसिंह भण्डारीको संयोजकत्वमा युवा विद्यार्थी परिचालन, हरि चालिसेको संयोजत्वमा शिक्षक परिचालन समिति बनाएको छ ।

निर्वाचन परिचालन अभियानलाई व्यवस्थीत बनाउनका लागि १७ सदस्यीय कार्यसम्पादन समिति समेत बनाएको नेपाली काँग्रेस गल्कोटले जनाएको छ । नारायणध्वज मल्लको संयोजकत्वमा रहेको समितिमा जिल्ला सदस्य फमबहादुर खत्री, रामप्रसाद कँडेल, यम श्रीस, मञ्जु चालिसे, देबेन्द्र खत्री लगायत गल्कोट क्षेत्रबाट उम्मेदवार आकाँक्षी देखिएका पार्टीका जिल्ला स्तरीय नेताहरु सदस्य रहेको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *