शिव लेकाली जीवन ज्योति युवा क्लवको देउसी भैलोबाट ९७ हजार संकलित

प्रेम रोका मगर, गल्कोट ताराखोला २०७४ कात्तिक ११ । बागलुङ ताराखोला गाउँपालिका–१, माझखर्कमा शिव लेकाली जीवन ज्योति युवा क्लवले आयोजना गरेको देउसी भैलोबाट ९७ हजार रकम संकलन भएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्षपनि क्लवले देउसी भैलो आयोजना गरेको थियो ।

क्लवको भवन निर्माणार्थ खेलिएको देउसी भैलो कार्यक्रमबाट प्राप्त रकम मध्ये २५ प्रतिशत भवन निर्माणमा खर्चिने र अन्य रकम छात्रबृत्ति अक्षयकोषमा समाहित गरिने भएको छ ।

माझखर्कमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरी २ वर्ष अगाडि स्थापना गरिएको उक्त छात्रबृत्ति अक्षयकोष प्रजातन्त्र विकास मा।वि।माझखर्कबाट वितरण गरिँदै आएको क्लवका कोषाध्यक्ष बम बहादुर घर्तीले जानकारी दिए ।

त्यस्तै क्लबले देउसी भैलो कार्यक्रमको अवसर पारेर अमर प्रा।वि। माइस्थानलाई विद्युत जडानको निम्ति नगद रू १२ हजार सहयोग गरेको थियो । गत साउनमा मगर पञ्जेबाजा माझखर्क र क्लवले संयुक्त सौजन्य गरेको एक सेट कम्प्युटर र एक सेट प्रिन्टर्स चलाउन साथै अन्य विद्युतीय प्रायोजनको लागि विद्यालयमा विद्युत समस्या भएपछि विद्युत जडानको लागि भन्दै थप रकम सहयोग गरेको क्लवका अध्यक्ष दलबहादुर रोकाले बताए ।

यो वर्ष क्लवले स्थानीय तहपछि बनेको नयाँ संरचना अनुसारको टोलहरूमा कात्तिक ३ देखि ५ गते सम्म देउसी भैलो खेलेको थियो ।

सो अवसरमा ताराखोला गाउँपालिका–१ का वडा अध्यक्ष याम बहादुर श्रीस, वडा सदस्य खर्क बहादुर घर्ती,। साविक अमरभूमी गाविसका पूर्व अध्यक्ष नन्दलाल गैरे, अमर प्रा।वि माइस्थानका वि।व्य।स। अध्यक्ष प्रेम प्रसाद गैरे, प्र।अ। भीम बहादुर क्षेत्री, शिक्षक एवं समाजसेवी बम बहादुर घर्ती, टोल नं। १ का संयोजक काजिमान घर्ती, टोल नं। २ का संयोजक पूर्ण बहादुर रोका ‘पुरन’, टोल नं। ३ संयोजक हिरामति नाइसा, टोल नं। ४ संयोजक बाबुराम नाइसा, टोल नं। ५ का संयोजक इन्द्र बहादुर घर्ती, नमुना युवा क्लवका अध्यक्ष कृष्ण प्रसाद गैरे, शिक्षक एवं नवयुवा खेलकुद परिवारका अध्यक्ष नर बहादुर पुलिसा, कालिलेक युवा क्लवका अध्यक्ष पूर्ण बहादुर पुन, टोलका महिला विकासका पदाधिकारीहरू, स्वयम्सेविकाहरूलगायतको उपस्थिति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *