अपांगलाई दयाको पात्र नबनाउन वक्ताहरुको जोड

बागलुङ २०७४ कात्तिक १० । अपांगता भएपनि अबसर पाएमा जस्तो सुकै काम गर्न सकिने भन्दै अपांगतालाई केवल दयाको पात्र बनाउन नहुने एक कार्यक्रमका सहभागीले जोड दिएकाछन् । अपांगता सरोकार संघ बागलुङको छैठौ साधारणसभाका सहभागीले राज्यले दिएका अधिकारको ग्यारेन्टी गर्नुपर्ने, अपांगलाई जीवन जीउने सीप र पूजिको ग्यारेन्टी गर्नुपर्ने माग गरेका थिए ।

राजनीतिक, सामाजिक र सास्कृतिक क्षेत्रमा पनि अपांगता भएकाहरुलाई उत्तिकै अवसर दिनुपर्ने उनीहरुको निष्कर्ष छ । राज्यले परिचयपत्र वितरण गरेको भन्दा धेरै संख्यामा अन्य अपांगहरु रहेको भन्दै सबैलाई राज्यले सेवा सुविधा पाउने वातावरण तयार गर्नुपर्ने बताएका छन् ।

‘राजनीतिक दलले अनिवार्य भनिएको अपांग कोटामा पनि अरुलाई पठाएका छन् । अपांगलाई वेवास्ता गरेको संघका अध्यक्ष चुडाबहादुर कुँवरले बताए । ‘कानूनी रुपमा पाएको अवसरलाई पनि राजनीतिक दल र समाजका अगुवाले खोसेको कुवँरले जिकिर गरे । अधिकारबाट वञ्चित भएकालाई कानूनले संरक्षण गरेपनि कार्यान्वयनको अवस्था फितलो भएको उनको टिप्पणी थियो ।

कानूनले तोके अनुसार सवारी साधनमा सहुलियत, अपांग मैत्री हुनुपर्ने, सरकारी तथा सार्वजनिक महत्वका भवनहरुमा अपांग मैत्री व्यवहार र हिल चियर जाने बनाउनुपर्ने, परिचयपत्रको आधारमा राज्यको सेवा सुविधा पाउने कामलाई अधिकारको रुपमा स्थापित गर्नुपर्ने साधारणसभाले माग गरेको छ ।
कार्यक्रममा महिला विकास अधिकृत डिलकुमारी शर्माले परिचय पत्र वितरणको काम आफ्नो कार्यालयले गरेपनि सेवा सुविधाको व्यवस्था स्थानीय तहले गर्नुपर्नेमा जोड दिईन् ।

परिचयपत्र पाएकाहरुलाई सहुलियत जस्तै अवसर पनि दिनुपर्ने उहाँको भनाई थियो । अपांग सरोकार संघ बागलुङका अध्यक्ष चुडाबहादुर कुँवरको अध्यक्षता, सचिव टिकाराम सापकोटाको संचालन र उपाध्यक्ष चिजा श्रीषको स्वागतमा सम्पन्न कार्यक्रममा बानपा–२ का वडा अध्यक्ष जीवन आचार्य, अपांग समन्वय समितिका पूर्व उपाध्यक्ष होमनाथ शर्मा, जमुना आचार्य, बहिरा संघका अध्यक्ष सन्तोष पौडेल, रेशम केसी लगायतले बोलेका थिए ।
कार्यक्रममा सचिव टिकाराम सापकोटाले प्रगती प्रतिवेदन र कोषाध्यक्ष धर्मराज आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले यो आर्थिक बर्ष्भित्र अपांगता भएकाहरुको दिगो आर्थिक विकासका लागि सहकारी संस्था स्थापना मार्फत काम थाल्ने निर्णय समेत गरेको छ ।

साधारणसभाले अध्यक्षमा दृष्टीविहिन चिजा थापालाई चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा दृष्टीविहिन प्रेमबहादुर केसी, सचिवमा अभिभावक टिकाराम सापकोटा, सहसचिवमा बहिरा संघका संस्थापक बसन्त जंग राजभण्डारी, कोषाध्यक्षमा शारिरीक अपांग धर्मराज आचार्यलाई चयन गरेको हो । सदस्यहरुमा बहिरा नलबहदुर थापा, शारिरीक अपांग बिजयकुमार श्रीष र कल्पना भट्टराई तथा अभिभावक सीता खड्कालाई चयन गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *