काँग्रेसको चुनावी अभियान सुरु : संविधान कार्यान्वयन र अवको विकासका लागी काँग्रेसलाई भोट !

बागलुङ २०७४ कात्तिक १० । नेपाली काँग्रेस जिल्ला कार्य समिति बागलुङले शुक्रबारदेखि चुनावी प्रचारप्रसार तथा घरदैलौ अभियानको शुभारम्भ गरेको छ ।
शुक्रवार विहान बानपा—१ रामरेखाबाट शुरु गरिएको चुनावी प्रचार प्रसार अभियानको उद्घाटन कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एंव निवर्तमान सांसद रत्ना शेरचनले गणतन्त्रको संस्थागत विकास र संविधान निर्माण नेपाली काँग्रेसको नेतृत्वमा भएको भन्दै संविधान कार्यान्वयन र अवको विकासका लागि नेपाली काँग्रेसका उम्मेद्वारहरुलाई रुख चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गरिन् ।

सोही कार्यक्रममा क्षेत्र १ बाट प्रतिनिधी सभा सदस्य उम्मेद्वार राज्यमन्त्री चम्पादेवी खड्काले जिल्लाको स्थायी विकास तथा गरिवी न्युनीकरण गर्नका लागि नेपाली काँग्रेसको नेतृत्व आवश्यक रहेको भन्दै आगामी मंसिर १० गते हुने निर्वाचनमा रुख चिन्हमा मतदान गरी काँग्रेसलाई विजयी गराउनुपर्ने बताईन् ।

सो अवसरमा नेपाली काँग्रेसका निवर्तमान सभापति एवं क्षेत्र १ (२)का प्रदेश सभा सदस्यका उम्मेद्वार प्रकाश शर्मा पौडेलले जनताको अधिकार नयाँ संविधान निर्माण संँगै त्यस्को कार्यान्वयन र अधुरा र गर्न बाँकी रहेका विकास निर्माणका कामहरुका लागि नेपाली काँग्रेसलाई विजयी गराउनु पर्ने बताए ।
कार्यक्रमका अवसरमा नेपाली काँग्रेस बानपा १ का क्रियाशील सदस्य दुर्गाबहादुर आचार्यले केन्द्रिय सदस्य तथा उम्मेद्वारहरुलाई फुल माला सहित अग्रिम बधाई तथा स्वागत गरेका थिए ।

प्रचारप्रसार अभियान शुभारम्भ कार्यक्रम पश्चात क्षेत्र १ का प्रतिनिधी सभा सदस्य उम्मेद्वार चम्पादेवी खड्का र (१) का प्रदेश उम्मेद्वार दीपेन्द्रबहादुर थापा सहित कार्यकर्ताहरु बानपा—१ का घरघरमा पुगेर मतदातालाई रुख चिह्नमा भोट दिएर विजयी गराउन आग्रह गरेका थिए ।
कार्यक्रम नेपाली काँग्रेस बानपा—१ का अध्यक्ष तेजेन्द्र आचार्यको अध्यक्षता, नेपाल महिला संघका केन्द्रिय सदस्य पार्वती आचार्यको स्वागत र सुर्य गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैवीच नेपाली काँग्रेसका बागलुङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारहरुले घरदैलो तथा मतदाता भेटघाटलाई तीब्र बनाएका छन् । क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार नरबहादुर पुन निरज र क्षेत्र नम्बर २ का प्रदेश सदस्य १ का उम्मेदवार मञ्जेश बम मल्लले गल्कोटको आँगाखेत, मल्म, हरिचौर लगायतका ठाउँमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरेको छ । नेपालमा लोकतन्त्रको रक्षाका लागि काँग्रेसको विकल्प नभएकाले काँग्रेस उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै घरदैलो कार्यक्रम सञ्चालन गरिएको उम्मेदवार नरबहादुर पुन निरजले जानकारी दिए ।

क्षेत्र नम्बर २ का प्रदेश सदस्य नम्बर २ का उम्मेदवार जीत शेरचनले तमानखोला—२ र ढोरपाटन नगरपालिका—३ मा मतदाताहरुसंग भेटघाट गरेका छन् । नेपालको विभीन्न कालखण्डमा नेपाली काँग्रेसले देशमा राजनीतिक परिवर्तनका लागि नेतृत्व गरेको, काँग्रेसकै नेतृत्वमा संविधानसभाबाट संविधान जारी भएको र त्यसको कार्यान्वयन र विकासको नेतृत्व पनि काँग्रेसले नै गर्ने भएकाले अबको निर्वाचन काँग्रेस उम्मेदवारलाई मतदान गर्न उनीहरुले आग्रह गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *