बाम तालमेलपछि निर्वाचन जितेको घोषणा गर्न मात्रै बाँकी रहेको नेतृ केसीको उद्घोष !

बागलुङ, २०७४ कात्तिक ८ । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तालमेल गरेर निर्वाचनमा होमिएका बागलुङका तीन बामपन्थी दलहरुले संयुक्त रुपमा निर्वाचन प्रचार अभियानको शुरुवात गरेका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं. १ र सो अन्तरगतको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ अन्तरगतको चुनावी अभियानको नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा संयुक्त बामपन्थी निर्वाचन परिचालन उच्चस्तरीय जिल्ला समन्वय समितिका सदस्य मना केसीले उमेदवारहरुलाई सगुन खुवाएर अभियानको शुरुवात गरेकी हुन् ।

सो अवसरमा बोल्दै एमाले नेतृ केसीले बामपन्थीहरुको चुनावी तालमेलपछि निर्वाचन जितेको घोषणा गर्न मात्रै बाँकी रहेको दावी गरिन् । उनले नेतृत्व सम्हाल्ने जिम्मेवारी आउने भएकाले संयमित र जिम्मेवार भएर निर्वाचनमा सहभागी हुन आव्हान पनि गरिन् ।

कार्यक्रममा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य गोविन्द नेपाली, प्रदेश सभा सदस्य श्रीप्रसाद शर्मा, केन्द्रीय उर्र्जा तथा जलस्रोत विभागका सदस्य युवा नेता हिरा केसी, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष कुमार विक्रम क्षेत्री, राष्ट्रिय जनमोर्चा समर्थित युवक संघका केन्द्रीय अध्यक्ष तिलक थापा, स्थानीय कमिटिका तर्फबाट नेकपा माओवादी केन्द्रका सुरेन्द्र बोहरा लगायतले मुलुकको समृद्धिका लागि बामपन्थी गठबन्धनलाई सहयोग गर्न जनतासंग अपिल गरेका थिए ।

कार्यक्रममा बागलुङ प्रतिनिधिसभा क्षेत्र नं. १ का साझा बाम उमेदवार डा.सूर्य पाठक र प्रदेशसभाका उमेदवार इन्द्रलाल सापकोटाले बामपन्थी शक्तिहरुको लक्ष्य प्राप्तीसंगै जनताको समृद्धीका लागि आफुहरुको योगदान रहने भन्दै सहयोग गर्न आव्हान गरेका थिए ।

कार्यक्रम निर्वाचन परिचालन कमिटिका संयोजक रामजीप्रसाद शर्माको अध्यक्षता, एमाले जिल्ला सचिव लालबहादुर थापाको सञ्चालन र राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष थानेश्वर सुवेदीको स्वागतमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *