साताको तस्वीर : कालिकाको सौन्दर्य !

कालीगण्डकी र काठेखोलाको दोभान माथी बाँगेचौरको पूर्वी भागमा अवस्थित बागलुङ कालिका देवीलाई बिसं १५९१ सालमा पर्वतका राजा प्रतापी नारायण मल्लले स्थापना गरेका हुन् । उनको विवाह पाल्पाली राजा मुनिमुकुन्द सेनकी राजकुमारी संग बिसं १५९१ मा भएको थियो । पाल्पा देखी ल्याईएकी कालिका देवीलाई पाल्पामा माझकी देवी भनेर पुकारिन्थ्यो । राजकुमारी माझकी देवीकी परम्भक्त थिईन् । त्यसैले माझकी देवीलाई राजकुमारीले आफना बुबा राजासंग मागी ल्याएकी हुन् ।

प्रतापी नारायण मल्लले आफ्नी महारानीले पाल्पा देखी बुबा राजासंग मागी ल्याएकी माझकी देवीलाई खनियाघाट देखी दुई घण्टाको दुरीमा रहेको राजधानी ढोरथाना नलगेर कालिगण्डकी र काठेखोलाको संगमस्थल देखी केहि उच्चभागमा रहेको खुल्ला बाँगेचौरको पूर्व डिलमा स्थापना गर्नु पछी निश्चित रुपमा केहि कारणहरु छन् ।*

पर्वतका राजाहरु वैष्णव संप्रदायमा बढी आस्था राख्दथे । उनिहरुबाट प्रदत्त ताम्र एवं कागजपत्रको शिरमा श्रीराम लेखिएबाट पनि यो कुरा प्रष्ट हुन्छ । राजा डिम्ब स्वयं जगन्नाथका भक्त थिए । जगन्नाथ मन्दिर रहेको क्षेत्रको वरपर यद्यपि काटमार गर्न र माछा, मासु, हाँस कुखुरा, मदिरा आदिको सेवन गरिदैन । कसैले यसो गरेमा उसको विनाश हुन्छ भन्ने मान्यता रहि आएको छ ।** यस अवस्थामा कालिका देवीलाई गाजने वा ढोरथानामा प्रतिष्ठापित गर्नु उपयुक्त नहुने भएकाले राजा प्रतापीले माझकी देवीलाई हालको स्थानमा राखिएको संभावनालाई नकार्न सकिदैन ।

जुनकारणबाट कालिका देवीको मन्दिर बाँगेचौरमा स्थापना गरिएको भएपनि यो स्थान धार्मिक दृष्टिले अत्यन्तै पवित्र हुनुका साथै राजनैतिक, साँस्कृतिक, आर्थिक एवं सामरिक आदि कारणहरुले उपयुक्त थियो भन्नु अत्युक्ती हुने छैन ।

मन्दिर भित्र रहेको मण्डपमाथीे बायाँतिर चाँदीले ढाकेको तीन थुम्काहरु नै महाकाली, महालक्ष्मी र महासरस्वती प्रतिमुर्ति हुन् ।
पाल्पा देखी माझकी देवीको खड्ग समाती आउने चक्र पुवाँरलाई खड्गा उपाधि दिएर पूजारी बनाई राजदम्पति ढोरथाना गएका थिए । यिनै पुजारी चक्र पुवाँर खड्गा (का) र उनका सन्ततिले कालिका देवी स्थापना गरिएको वरपर साल र सल्लाका बोट विरुवा ल्याएर लगाएका हुन् । शनै: शनै: यो पवित्र स्थानमा साल र सल्लाका बोट विरुवा बढ्दै गएर हरियाली छाउँदै गयो र अहिले रमणीय जंगलको रुपमा विद्यमान छ ।

जंगलको हरियाली बीचबाट कालिका देवीको दर्शन गर्न जाँदा कुन श्रद्धालु भक्तको मन अल्हादिद नहोला ? जस्तै रिस, राग र कलुषित मनोभाव भएकाहरुपनि एकान्तमय जंगलको स्वच्छ र रमणीय वातावरणले प्रशिद्ध कालिका देवीको मन्दिर पुग्दा सम्म हृदयदेखिनै दुर्भावना लुप्त भै कालिका देवी प्रति निश्चल भावनाले समर्पित हुन उत्प्रेरित गरेको छ । यस मनोहर जंगलको प्राकृतिक रसस्वादनबाट कुनैपनि श्रद्धालु बिमुख रहन सक्दैन ।

तीन दशक पहिले यस्तो थियो जंगल र भित्रको बाटोको दृश्य ।

कालिका देवीको सौन्दर्यको रुपमा रहेको यस रमणीय जंगलको खास विशेषताहरु छन् । यस जंगलमा पुर्खाहरुले लगाएका सालका रुखहरुको बोक्राको रङ अन्य वन जंगलमा पाईने सालका रुखहरु भन्दा फरक छ । यहाँका सालका रुखका गिँडहरु जहाँ लगेपनि पहिचान गर्न सकिन्छ । त्यो भन्दापनि अर्को खास विशेषता कालिका देवीको मन्दिर वरपर रहेका सल्लाका विशालकाय रुखहरु हुन् ।

एकजना वन विज्ञका अनुसार सामान्यतया सालका रुखहरुको जंगलमा सल्लो प्रजातिका बोट विरुवा हुँदैनन् न सल्लाको जंगलमा सालका बोट विरुवा नै हुन्छन् । तर कालिका देवीको सौन्दर्यको रुपमा रहेको यस मनोरम जंगल (वनबाटिका) मा यो सम्भव देखिनु कालिका देवीकै चमत्कार हो ।

पछिल्लो समय जंगल पातलिदै गएको छ, भीमकाय सल्लोका रुखहरु ढल्दै, काट्दै, घट्दै गर्दापनि पुर्खाले लगाएको यस रमणीय जंगलले पाँच सय वर्ष सम्म आईपुग्दा आफनो सौन्दर्यलाई कायम राखेको छ ।

खुदीगेडीका बोटविरुवाले जंगल झ्वाम्म देखिएको छ, साल सल्ला लगायतका सुकाठहरुका बोटविरुवा लगभग छैनन् । सल्लोका विरुवाहरु त जंगलमा एउटै छैनन् भने हुन्छ । समयले यसको संरक्षण र विकासमा ध्यान केन्द्रित हुन घच्घचाई रहेको छ । सल्लोका रुखहरु नाश हुँदै गएका छन् । यसको बिकल्पमा अहिले रहेका सल्लोको प्रजाति बारे संज्ञान लिएर यसका विरुवाहरु लगाउनु जरुरी छ । सालका पथराहरु बिकशित हुन पाउने अवस्था सिर्जना हुनु आवश्यक छ । जंगलभित्र सुकेका र आयु सकिन थालेका रुखहरुको ठाउँमा रिप्लान्टेशनको अवधारणा हुनु पर्छ ।

वर्षै पिच्छे कालिका मन्दिरको रुप फेरिएकोछ, जंगल भित्र भौतिक संरचनाहरु थपिदै गएका छन् । त्यहि हिसाबले जंगलको संरक्षण र सम्वद्र्धन गरियोे र आहाराको जोहो गर्न सकियो भने परेवा मात्र नभएर जंगलमा जनावर देखिएलान् । केहि वर्ष पहिले सम्म मौसम अनुसार विभिन्न प्रजातिका साना ठुला चराहरुको सुरिलो आवाजले जंगलको वातावरण गुन्जयमान रहन्थ्यो भने चैत महिना लागि नसक्दै न्याउली चराको उराठ लाग्दो एकोहोरो आवाजले दिग्दारी हुन्थ्यो । सालको रुखहरुमा खुर खुर दौडिने लाहाचे चरोले लामो जिब्रो बाहिर निकालेर कमिला सोहर्ने गरेको दृश्य अहिले कमै देख्न सकिन्छ ।

यस्तो देखिन्छ, आकाशबाट कालिका देवीको रमणीय जंगल ।

जंगलको पूर्वी दिशामा भ्यू टावर नजिक एउटा दुलो गुफा रहेको छ, त्यस बाहेक अन्यत्र त्यस्तो दुलो वा गुफा कतै रहेको देखिदैन । जंगलको दक्षिण पट्टी काठेखोला साईडमा पात घुमाउने भीर छ । त्यस ठाउँबाट पातमा सानो टुक्रा माटो वा केहि बस्तु वा थुक राखेर छोड्यो भने त्यो पात फिरिरी घुम्दै माथितिर उडेको दृश्य अत्यन्तै मनमोहक देखिन्छ । पात घुमानउनेको भीरमा रहेको पहरामा केहि वर्ष पहिले सम्म सयौँ मलेवा (परेवाको प्रजाति) बस्थे (गुँड थियो) । त्यस पहराबाट मलेवा उड्दा र बास बस्न आउदाको दृश्य हेर्न लाएक हुन्थ्यो । त्यसलाई व्यवस्थित गर्न सकिए जंगलको रमणीयता अवलोकन गर्न आउनेहरुका लागि थप आकर्षणको थलो बन्न सक्छ ।

* लेखकको प्रकाशोन्मुख ‘कालिका देवी’ पुस्तकमा यस सन्दर्भमा थप प्रकाश पार्ने प्रयास गरिएको छ ।
** डा. दिलबहादुर क्षेत्री, गलेश्वर शिवालय तथा पुलाहश्रम क्षेत्र संक्षिप्त परिचय– पृष्ठ ३७

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *