साताको तस्वीर : बुर्तिवाङमा तिहार !

बिमल खड्का, बुर्तिवाङ २०७४ कात्तिक ३ । तिहार आए संगै बुर्तिबाङ बजार देउसी भैलोमय बनेको छ । देउसी भैलो खेल्नेहरुले बजारको रौनकता बढाएका छन् । बिभिन्न जनजाती, क्लब, संघसंंस्था, समुह, राजनीतिक दलहरुमा आवद्ध बाल बालिका, युवा युवती, अधबैशे, बृद्ध सबैतप्कका जनसमुह दिनभर जसो भैली खेल्दै नाँच्दै बुर्तिवाङ बजार तताएका छन् ।

एकातिर उमेर ढल्केकाहरुको समुह देउसी भट्टाउदै पारम्परिक शैलीमा भैलो खेलिरहेको देखिन्छ भने अर्कोतिर बाल बालिका युवापीढी आधुनिक गीतहरुको साउण्डट्राक बजाएर भैली खेलिरहेको देख्न सकिन्छ ।

बुर्तिवाङ बजारमा यसपाली पाका उमेरका कलाकारहरुले आफ्नै परम्परागत शैलीमा देउसी भैलो खेलेको देखियो । पुराना प्रचलनहरु क्रमश लोप हुँदै गएको देखेर पाका कलाकारहरुले आफ्नै मौलिकतालाई बचाउने उद्देश्य सहित सडकमा उत्रिएको बताउछन् ।

खासगरी देउसी भैलोका सहभागीहरुले देउसी भैलोबाट रकम संकलन गरी सामाजिक कृयाकलापमा खर्चिने बताई रहेका छन् भने कतै कसैले बनभोज गर्ने उद्देश्यले भैलो खेलेको बताएका छन् । भैलोबाट संकलित रकम अधिकांश रचनात्मक काममा खर्चिने सहभागीहरुको भनाई छ ।

पछिल्लो समय बुर्तिवाङमा देउसी भैलो भट्टाएर नृत्य गर्ने प्रचलन लुप्त प्राय बनेको छ । प्राय हिन्दी र नेपाली आधुनिक गीत संगीत बजाएर त्यहि तालमा नृत्य गरेर देउसी भैलो खेल्न थालिएकोले दर्शकहरुले यसबाट खासै सन्तुष्टि नपाएको विचार व्यक्त गरेका छन् ।

नेपालीहरुको दोश्रो ठुलो चाड तिहार मनाईरहदा बुर्तिवाङ बजारमा जति देउसी भैलो खेल्ने समुहहरु देखिएका छन् त्यत्ति मानिसहरुको चहल पहल भने छैन । भैलो टोली पसल पसलमा नृत्य गर्ने र पैसा उठाउने गरेको देखिन्छ ।

तस्वीर- झरना कँडेल, सुमन सुनार, बिमल खड्का ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *