या देवी सर्वभूतेषु लक्ष्मी रूपेण संस्थिता । नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमो नमः॥

बागलुङ २०७४ कात्तिक २ । आज लक्ष्मी पूजा, तिहारको महत्वपूर्ण दिन, नेपालीहरुले घरघरमा धनधान्य एवं सम्पन्नताकी देवी लक्ष्मीको पूजा अराधना गरी श्रद्धापुर्वक मनाईदै छ । बिहान सवेरै देखी देवी लक्ष्मीको मन्दिरहरुमा श्रद्धालु भक्तहरुको भीड लागेको छ ।

श्रद्धालुहरु सवेरै कालिका देवीको मन्दिरमा पुगेर लक्ष्मीको पूजा आराधना गरिरहेका छन् । खासगरी कालिका मन्दिरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजन गरिन्छ ।

आज घरका सम्पूर्ण भागमा लिपपोत सरसफाई गरेमा लक्ष्मी घरमा प्रवेश गर्ने विश्वास छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरिने पूजा कोठा वा ढुकुटीसम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो एवम् अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । लक्ष्मीलाई आमन्त्रण गरेपछि धार्मिक विधिपूर्वक लक्ष्मी पूजा गरिन्छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाई पूजा गरिने परम्परा छ । दिपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित थालीमा अष्टदल लेखेर लक्ष्मीको प्रतिमा स्थापना गरेर गरगहना, पैसालाई पनि पूजा गरी फलफूल, सेलरोटी र फूलमाला चढाईने गरिन्छ । लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने गरिन्छ ।

आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वाससमेत रहेको छ ।

आज साँझ युवा युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *