स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्थाव्दारा सञ्चालक जिसी सम्मानित

बागलुङ, २०७४ असोज २८ । साढे दुइ दशक सम्म सहकारी अभियानमा लागेर सहकारी क्षेत्रको प्रवद्र्धनमा योगदान गरेको भन्दै बागलुङको स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारीकर्मी रामबहादुर जिसीलाई शनिवार सम्मान गरेको हो ।

संस्थाको आठौ वार्षिक साधारणसभाको अवसर पारेर राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीलाई संस्थाका तर्फबाट दोसल्ला ओढाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

२०५० सालमा जिल्ला सहकारी संघ बागलुङको कर्मचारीका रुपमा सहकारी अभियानमा लागेर निरन्तर रुपमा सहकारी क्षेत्रको विकास, विस्तार र जनतालाई सहकारीप्रति आकर्षित गर्ने काममा लागेर योगदान गरेकोले सम्मान गरिएको संस्थाका सचिव सूर्यबहादुर महतले जानकारी दिए ।

स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था स्थापनादेखि हालसम्मको अवस्थामा आउनका लागि समेत जिसीले निरन्तर सहयोग, समन्वय र सहकार्य गर्दै आएको उनले बताए ।

साधारणसभाको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि समेत रहेका जिसीले सहकारी व्यवसायको महत्व र यसले देशको दीर्घकालिन विकासमा पर्ने प्रभावका बारे अझै धेरैलाई जानकारी आवश्यक रहेको बताए ।

सही अर्थमा सहकार्य गर्ने परम्परा अझै विकास नभएको भन्दै जिसीले प्रत्येक सहकारीहरुले सहकारीको मूल्य, मान्यता, आदर्श र सिद्धान्तलाई आत्मसाथ गरी सहकारी मार्फत आर्थिक विकास र सामाजिक रुपान्तरणमा योगदान गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष अञ्जु जिसी, क्षेत्री समाज बागलुङका अध्यक्ष बाबुराज कार्की, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका उपसभापति राजेन्द्र आचार्य, संस्थाका सल्लाहकारहरु रुद्रबहादुर महत र दिपेन्द्र बास्कोटा, लहरेपीपल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रुद्रबहादुर केसी, नवरत्न बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बलबहादुर खड्का, शेयर सदस्यहरु हुमादेवी खड्का र हिराबहादुर केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष भीमबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष शिवकला थापाको स्वागत र सचिव सूर्यबहादुर महतको सञ्चालनमा सम्पन्न भएको थियो ।

साधारणसभामा सचिव महतले प्रगति प्रतिवेदन, व्यवस्थापक महेन्द्रसिंह रायमाझीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

३ सय ९३ जना शेयर सदस्य रहेको संस्थामा ९५ लाख ५५ हजार शेयर रकम, २ करोड ४० लाख वचत, २ करोड ५० लाख लगानी रहेको व्यवस्थापक रायमाझीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *