सशस्त्र जनयुद्धका उपलब्धीलाई प्रचण्डले एमालेमा पतन गराउन लागेका छन् -पुन

कोपिला कंडेल, बागलुङ, २०७४ असोज २७ । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिट्ब्युरो सदस्य ओम प्रकाश पुनले नेपालमा पुरानै संसदीय सामन्ती ब्यवस्था फर्किएको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध राष्ट्रिय युवा जनस्वयंसेवक बागलुङको तेस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले जनयुद्ध अझै जारी रहेको दाबी समेत गरे ।

पुरानो संसदीय ब्यवस्था बिरुद्ध आफुहरुले लामो सशस्त्र जनयुद्ध गरेपनि त्यसका उपलब्धीलाई प्रचण्डले एमालेमा पतन गराउन लागेका छन, पोलिट्ब्युरो सदस्य पुनले भने नेपालको राजनीतिलाई नाफाघाटाको रुपमा लैजाने दलाल ब्यवस्था बिरुद्ध फेरी एक पटक आन्दोलनको आँधीबेहेरी सृजना गर्न जरुरी छ ।
नेपालमा गणतन्त्र स्थापना भएपनि वास्तविक किसान मजदुर लगायत उत्पीडित जनताले गणतन्त्रको अनुभुति गर्न नसकेको भन्दै कम्युनिष्ट पार्टीका नेता पुनले नेपालको बैज्ञानिक समाजबादी क्रान्ति पुरा गर्नका लागि युवाहरु एकजुट हुन आव्हान समेत गरे ।

राजनीतिक नेतृत्वले पटक पटक सर्वहारा वर्गको नारा दियो तर सत्तामा पुगेपछि परिबार र आफन्त केन्द्रित भयो, यो दलाल राज्यशक्ता फेर्नका लागि क्रान्तिको अभिभारा हाम्रो काँधमा थपिएको पुनको भनाई थियो । पुनले भने अवको लडाई भ्रष्टाचारी घुसखोर कमिशन लगायत संसदीय ब्यवस्था बिरुद्ध हुनेछ भन्दै संसदीय दलाल ब्यवस्थाले गर्दा कैयौ युवा बिदेशीन बाध्य भएको एबं मुलुकमा भ्रष्टाचार मंहंगी बिकृति र बिसंगती मौलाएदै गएको आरोप समेत लगाए ।

उनले बैज्ञानिक समाजबादी क्रान्ति पुरा गर्नका लागि आफ्नो तर्फबाट जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने बताए ।

सो अवसरमा अनेम संघ क्रान्तिकारीका केन्द्रिय अध्यक्ष बन्धु चन्द र राष्ट्रिय युवा जनस्वयंसेवक सघंका केन्द्रिय सदस्य एबं धौलागिरी ब्युरो ईन्चार्ज नविन कँुवरले राष्ट्रीयता र सर्वहारा बर्गको हितका लागि आफुहरुको आन्दोलन निरन्तर जारी रहने बताएका थिए । कार्यक्रमको संचालन राष्ट्रिय युवा जनस्वयं सेवकका जिल्ला अध्यक्ष सुमित घर्ति मगरले गरेका थिए । अधिवेशनले नयां नेतृत्व चयन गर्ने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *