राप्रपा जस्तो सुकै अवस्थामापनि आफ्नो नीति, विचार र सिद्धान्तप्रती प्रतिबद्ध छ – अध्यक्ष थापा

काठमाडौं, २०७४ असोज २३ । नेपाललाई हिन्दुराष्ट्र कायम गराउन आगामी प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन सँगै जनमत संग्रहको माग गर्दै पार्टीले राजधानीमा दबावमूलक विशाल जनसभाको आयोजना गरेको छ ।

सो सभालाई सम्वोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा जस्तो सुकै अवस्थामा पनि आफ्नो नीति, विचार र सिद्धान्तप्रती प्रतिबद्ध रहेको स्पष्ट पारे ।

नेपाललाई हिन्दुराष्ट्र कायम गराउन आगामी प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन सँगै जनमत संग्रहको माग गर्दै पार्टीले आयोजना गरेको दवावमुलक सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले निर्वाचन मार्फत जनताको मन जितेर आफ्नो एजेन्डा स्थापित गर्न राप्रपा प्रतिबद्ध रहेको बताए ।

मंसिरमा हुने निर्वाचन सँगसँगै हिन्दूराष्ट्र बारे जनमत संग्रह हुनुपर्दछ भन्ने पार्टीको स्पष्ट धारणा रहेको बताउँदै थापाले संकटमा परेको नेपालीको पहिचानलाई जोगाउनु सबै नेपालीको कर्तव्य रहेको बताए ।

पार्टीको एजेण्डा स्थापनार्थ उच्च मनोबलका साथ निर्वाचनमा होमिन कार्यकर्ताहरुलाई अध्यक्ष थापाले निर्देशन समेत दिए । मुलुकमा विखण्डनकारी समुहको विजारोपण भएको, विदेशी चलखेल तिब्र रुपमा बढेको तथा विदेशी धर्मलाई जबर्जस्ती स्थापित गने प्रपञ्च हुँदैगरेको वर्तमान अवस्थामा त्यसलाई निश्तेज पार्न राप्रपाका कार्यकर्ता तथा प्रत्येक स्वाभीमानी नेपालीले शिर ठाडो गरेर जनतामाझ जानुपर्नेमा अध्यक्ष थापाको जोड थियो ।

काठमाडौंको बसन्तपुरमा आयोजीत कार्यक्रममा पार्टीका उपाध्यक्ष राजीव पराजुली, केन्द्रीय सदस्य मा. विक्रमबहादुर थापा, केन्द्रीय सदस्य निरञ्जन थापा, नेपाल सनातन धर्म संस्कृती संगठनका संयोजक पुष्पराज पुरुष, राप्रपा भक्तपुरका क्षेत्रीय अध्यक्ष श्यामप्रसाद नेपाल लगायतका नेताहरुले सम्बोधन गरेका थिए । पार्टीका काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको सभापतित्वमा सम्पन्न सो आमसभामा ‘तारकेश्वर खैंजडी भजन समिति’ले भजनमार्फत हिन्दुराष्ट्रको माग गरेको थियो ।

बागलुङमा पनि जुलुस र कोणसभा

सहकर्मी कोपिला कँडेलका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्रको बिषयमा जनमत संग्रह गर्नुपर्ने माग राख्दै प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र पठाएको छ । आज पार्टीका कार्यकर्ताहरुको एक जुलुसले बजार परिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालय बागलुङ्ग मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाएको हो ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले ज्ञापन पत्र प्रधानमन्त्रीको कार्यालयमा पठाईदिने प्रतिबद्धता जनाएका थिए । सो अवसरमा राप्रपाले कोण शभा समेत सम्पन्न गरेको थियो ।

कोणसभालाई सम्बोधन गर्दै राप्रपाका केन्द्रिय उपाध्यक्ष दिल बिकास राजभण्डारी, केन्द्रिय सदस्य देबी प्रसाद कंडेल केन्द्रिय सल्लाहकार टिकाराम साप्कोटा, जिल्ला उपाध्यक्ष नविनचन्द्र सेर्वुजा लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम राप्रपा बागलुङ्गका अध्यक्ष सुरेन्द्र बहादुर खड्काको अध्यक्षता र सचिव बिष्णु साप्कोटाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *