प्रदेश कमिटीले स्थायी कमिटीमा कस्लाई सिफारिस गर्ला ? यस्तो छ, बागलुङ एमालेको बास्तविकता !

बागलुङ, २०७४ असोज २३ । मंसिर १० गते हुने प्रतिनिधि प्रदेश सभा निर्वाचन अन्तरगत बागलुङका ६ वटा निर्वाचन क्षेत्रका लागि नेकपा एमाले बागलुङले प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ २९ जना गरी ९ कम ५० जनाको नाम सिफारिस गरेको जिल्ला सचिव लालबहादुर थापाले जनाएका छन् ।

प्रतिनिधि सभा क्षेत्र न. १ र सो अन्तरगतका २ वटा प्रदेश सभा निर्वाचनका लागि प्रदेश निर्वाचन क्षेत्र संगठन कमिटि, प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कमिटि र जिल्ला कमिटिले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, निवर्तमान अध्यक्ष श्रीप्रसाद शर्मा, पूर्व उपाध्यक्ष तथा केन्द्रीय उर्र्जा विभागका सदस्य हिराबहादुर केसी र युवा नेता डा.सूर्य पाठक चार जनाको नाम एकमुष्ट सिफारिस गरेका छन् ।

प्रदेश संगठन कमिटि र क्षेत्रीय संगठन कमिटिमा धेरैको नाम आए पनि कार्यदल गठन गरी ४ जनाको मात्रै नाम पठाउने सहमति भएको प्रदेश संगठन कमिटिका सदस्य तथा कार्यदलका सदस्य प्रकाश शर्माले बताए । ३ वटा निर्वाचन क्षेत्रका लागि ४ जनाको नाम सिफारिस भएपछि एक जना कसलाई पार्टी स्थायी कमिटिले बाहिर राख्छ ? यतिबेला एमाले बागलुङमा यो विषयले चर्चा पाउन थालेको छ ।

सिफारिस भएका ४ जना मध्ये प्रतिनिधि सभा क्षेत्र नं. १ का लागि सबै जनाले उमेदवार हुन पाउछन् भने प्रदेश अन्तरगत सापकोटा र केसी काठेखोला र बानपा १ देखि ११ वडा रहेको १ प्रदेशमा तथा शर्मा र पाठक बानपा १२, १३ र १४ तथा जैमिनी, बरेङ प्रदेश अन्तरगत उमेदवार हुन पाउने छन् ।

उमेदवारको सिफारिसमा परेका ४ जना मध्ये काठेखोला गाउँपालिका र नगरपालिका प्रदेश अन्तरगतका सापकोटा र केसी प्रदेशको उमेदवार बन्न इच्छुक देखिएको एमाले स्रोतले जनाएको छ । जैमिनी र बरेङ क्षेत्रको प्रदेशका २ जना नेताहरु प्रदेश भन्दा प्रतिनिधिसभामा उमेदवार बन्न खोजेको बताइएको छ ।

नेकपा एमालेको जनमतका हिसावले काठेखाला गाउँपालिका र बागलुङ नगरपालिका अन्तरगतको प्रदेशमा विजय प्राप्त गर्न सहज हुने भएकाले पनि उक्त क्षेत्रका दुवै जनाको ध्यान प्रदेश अन्तरगत रहेको एक जिल्ला सदस्यले बताए ।

विगतमा ३ निर्वाचन क्षेत्र मध्ये १ नंम्बर क्षेत्रको अधिकांश क्षेत्र रहेको उक्त क्षेत्रमा एमालेको जनमत बलियो रहेकोछ । भर्खरै सम्पन्न निर्वाचनमा पनि काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकामा एमालेले बहुमत सहित अध्यक्ष र नगर प्रमुखमा विजय प्राप्त गरेको छ ।

८ वटा वडा रहेको काठेखोला गाउँपालिकामा एमालेले अध्यक्ष सहित ५ वटा वडा र जम्मा १४ वडा मध्ये प्रदेश सभा अन्तरगत पर्ने ११ वडामा एमालेले ९ वटा वडा र नगर प्रमुखमा विजय प्राप्त गरेको छ, जनमत बलियो भएकोले सापकोटा र केसी दुवैले प्रदेशलाई केन्द्रविन्दु बनाएको एमाले कार्यकर्ताहरु बताउछन् ।

एमाले जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका संयोजक डिल्लीराज गौतम भने स्थानीय निर्वाचनमा बामपन्थी र राप्रपा समेतसंग तालमेल गरेका कारण विजय प्राप्त गर्न सहज भएको बताउछन् । स्थानीय तहमा पाएको सबै मत एमालेको नभएकाले प्रदेश सभाको निर्वाचनमा पनि कडा प्रतिस्पर्धा हुने उनको विश्लेषण छ । अर्कोतिर बागलुङ नगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधीको अलोकप्रिय गतिविधीले पार्टी छविमा नकारात्मक प्रभाव परेको आम कार्यकर्ताहरुको बुझाई रहेको छ ।

मुख्य प्रतिस्पर्धीका रुपमा नेपाली कांग्रेस रहेको उक्त प्रदेशमा जिल्ला अध्यक्ष सापकोटा र २०७० को निर्वाचनमा उमेदवार बनेर थोरै मतले पराजित भएका युवा नेता हिराबहादुर केसीको दावी परेकोले कडा प्रतिस्पर्धा रहेको स्रोतको भनाइ छ ।

उमेदवार सिफारिस गर्ने क्रममा प्रदेश संगठन कमिटिमा केसीको स्पष्ट बहुमत र जिल्ला कमिटिमा सापकोटाको स्पष्ट बहुमत आउने भएपछि दुवै पक्षका बीच कार्यदल बनाएर प्रदेश र प्रतिनिधि सभा नभनी दुवै जनालाई सिफारिस गर्ने सहमति भएको बुझिएको छ ।

प्रदेश कमिटिमा विगतमा निर्वाचन हारेर घाईते भएकालाई पहिलो प्राथमिकता दिनु पर्ने भनाई राख्नेहरु बढी भएको र बागलुङमा विगतका निर्वाचनहरुमा पनि एमालेबाट एक पटक हारेकाले मात्रै जितेको यथार्थताका कारण पनि केसीलाई प्रदेशमा दिनु पर्ने माग उनी समर्थकहरुको छ ।

बागलुङ क्षेत्र नं १ मा नेकपा एमालेका तर्फबाट २०४८ सालमा उमेदवार बनेका गोविन्द अधिकारी पराजीत भएका थिए तर २०५१ को मध्यावधी निर्वाचनमा उनलाई टिकट दिदा निर्वाचन जितेका प्रशंगलाई उनिहरुले अगाडी सारेका छन् । यस्तै २०५६ सालको आम निर्वाचनमा रामजीप्रसाद शर्मालाई उमेदवार बनाएकोमा उनी पराजीत भए तर २०६४ को संविधानसभा निर्वाचनमा शर्मालाई नै उमेदवार बनाउदा उनी विजयी बनेको अर्को उदाहरुण पनि उनिहरुले प्रस्तुत गरेका छन् ।

२०७० सालमा हिराबहादुर केसी उमेदवार बने तर उनी थोरै मतले पराजित हुन पुगे । २०७१ सालको चैतमा सम्पन्न उपनिर्वाचनमा हिरा केसीको सट्टा मनकुमारी केसीलाई उमेदवार बनाइयो तर विजयी हुन सकिनन् । विगतको परम्परालाई मध्येनजर गरेर पीडित भएकालाई उमेदवार बनाउदा पार्टीका उमेदवारले जित्न सक्ने स्थानीय कार्यकर्ताहरु बताउछन् ।

केसीलाई प्रदेश सभा भन्दा प्रतिनिधि सभामा पठाउनु पर्ने सुझाव जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा निकटका कार्यकर्ताहरुको दवाव छ । केसी विगतमा संविधानसभा निर्वाचनमा उमेदवार बनेर पराजित भएकोले प्रदेश नभएर प्रतिनिधि सभामा जानु पर्ने उनीहरुको तर्क छ । जिल्ला अध्यक्षलाई प्रदेश र केसीलाई प्रतिनिधिसभामा उमेदवार बनाउन सके दुवैले विजय प्राप्त गर्ने उनीहरुको विश्लेषण छ । तर केसी निकटका कार्यकर्ताहरुले वरिष्ठताका आधारमा प्रतिनिधिसभा र प्रदेश सभामा उमेदवार छनौट गर्नु पर्नेमा जोड दिएका छन् । बागलुङ एमालेमा सापकोटा र केसीबीच पार्टी नेतृत्वमा पुग्ने विषयमा समेत कडा प्रतिस्पर्धा रहेको देखिन्छ । विगतमा युवा संघमा समेत संगै कार्य गरेका उनीहरु सापकोटाले युवा संघ नेपालको महासचिव र केसीले उपाध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् ।

गत वर्ष माघमा भएको नेकपा एमाले जिल्ला अधिवेशनमा पनि सापकोटा र केसीबीच प्रतिस्पर्धा थियो । उनीहरुबीचको प्रतिस्पर्धाले पार्टीलाई क्षति गर्ने भन्दै एउटा समुहले तत्कालीन उपाध्यक्ष नरबहादुर थापालाई उमेदवार बनाएपछि स्थिति सहज बनेको थियो ।

यतिबेला बागलुङ एमालेमा अन्य उमेदवारहरुको भन्दा सापकोटा र केसी मध्ये कसले प्रदेश र कसले प्रतिनिधिसभाको उमेदवार पाउने हुन् भन्ने चर्चा छ । यद्यपी प्रतिनिधि सभाका लागि निवर्तमान जिल्ला अध्यक्ष श्रीप्रसाद शर्मा र २०७० को संविधानसभा निर्वाचनमा क्षेत्र नं. २ बाट उमेदवार बनेका डा.सूर्य पाठक पनि सिफारिसमा परेका छन् ।

जनमतका हिसावले क्षेत्र नं. २ एमालेको कमजोर आधार इलाका हो, २०७० को संविधानसभा निर्वाचनमा ३२ सय मत आएको क्षेत्र नंं २ का २० मध्ये १७ गाविस अहिलेको प्रतिनिधिसभा क्षेत्र नंं. १ मा पर्दछन् ।

प्रदेश सभा अन्तरगत जैमिनी र बरेङ खण्डमा जमनत कम भएकैले शर्मा र पाठकको प्रदेश भन्दा प्रतिनिधिसभातर्फ बढी चासो रहेको बताइन्छ । यद्यपी उनीहरु दुवै जनाले प्रदेश वा प्रतिनिधिसभा जहाँ भए पनि प्रतिस्पर्धी बन्ने बताई सकेका छन् ।

सिफारिस भएका ४ जना मध्ये एक जनाले प्रतिनिधिसभा, २ जनाले प्रदेश सभामा पाउने भएपछि एक जना प्रतिस्पर्धाबाट बाहिर रहनु पर्ने अवस्था छ । बाहिर को रहला भन्ने विषय एमाले नेता कार्यकर्ताहरुका लागि यतिबेला चर्चाको विषय बनेको छ । जिल्ला अध्यक्ष सापकोटा अधिवेशनबाट निर्वाचित भएर आएको ९ महिना मात्रै भएकाले र उनले समग्र जिल्लाको निर्वाचनलाई हाँक्न पर्ने भएकाले अरु तिन जनालाई उमेदवार बनाएर उनले निर्वाचन हाँक्नु पर्ने एक थरीको सुझाव छ भने अर्का थरीले जिल्ला अध्यक्षलाई निर्वाचनमा लिएर जादाँ निर्वाचन परिचालन थप प्रभावकारी हुने धारणा राख्दै आएका छन् ।

निर्वाचनमा सिफारिस भएका मध्ये २ जना विगतमा निर्वाचनमा उमेदवार भइसकेका र पार्टीको मुख्य भूमिकामा पनि नरहेकोले उनीहरुलाई पहिलो प्राथमिकता दिएर अगाडि बढ्नु पर्ने सुझाव पनि कार्यकर्ताहरुको छ ।

धौलागिरिका चार जिल्लाको केन्द्र भागको रुपमा रहेको बागलुङ क्षेत्र नं. १ र त्यसको पनि केन्द्र भागमा रहेको प्रदेश सभा (क) काठेखोला, बानपामा कसले उमेदवार पाउने भन्ने विषयमा चर्काे लविङ भैरहेको स्रोतले जनाएको छ ।

२०७१ को उपनिर्वाचनमा थोरै मतले पराजित भएकी वैकल्पिक केन्द्रीय सदस्य मना केसीलाई सबै मिलेर समानुपातिकमा जान आग्रह गरेपछि सापकोटा र केसीबीच प्रतिस्पर्धा भएको हो । केन्द्रीय सदस्य मना केसी प्रतिनिधि सभातर्फ समानुपातिकतर्फ सिफारिसमा परेकी हुन् ।

प्रतिनिधि सभा अन्तरगत बागलुङ क्षेत्र नं. २ बाट पाका नेता मोहनलाल शर्मा सर्वसम्मत उमेदवारका लागि सिफारिसमा परेका छन् । एमाले बागलुङका संस्थापक समेत रहेका शर्मा २०५४ सालको स्थानीय निकायको निर्वाचनमा जिल्ला विकास समितिको उपसभापति बनेका थिए ।
क्षेत्र नं. २ अन्तरगत प्रदेशसभा (क) गलकोट नगरपालिका, बडीगाड गाउँपालिका र ताराखोला गाउँपालिकाबाट प्रेम खरेल, तिर्थमणी भुषाल, रत्ना भण्डारी, गुणनिधि घिमिरे, यामबहादुर श्रीस र कमल घिमिरे सिफारिसमा परेको एमाले बागलुङले जनाएको छ ।

बागलुङ क्षेत्र न.ं २ प्रदेशसभा (ख) ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकाबाट दधिराम अर्याल सर्वसम्मत सिफारिसमा परेका छन् ।

एमाले जिल्ला कमिटि बागलुङले समानुपातिक तर्फ वैकल्पिक केन्द्रीय सदस्य मना केसी सहित ८ जनालाई प्रतिनिधिसभातर्फ सिफारिस गरेको छ । सिफारिसमा पर्नेहरुमा वैकल्पिक केन्द्रीय सदस्य तिलबहादुर विश्वकर्मा, भीमप्रसाद तुलाचन (सुनिल) ममतादेवी शर्मा, लालबहादुर थापा, हरिनारायण गौतम, धनबहादुर परियार र झकप्रसाद शर्मा रहेका छन् ।

एमाले बागलुङले प्रदेश सभाको समानुपातिकतर्फ वैकल्पिक केन्द्रीय सदस्य गोविन्द नेपाली सहित २१ जनालाई प्रदेशसभातर्फ सिफारिस गरेको छ । सिफारिस हुनेहरुमा गीता शर्मा, टेकबहादुर केसी, लिला शेरचन, शान्तिकुमारी जिसी, सावित्रा राना, कुलबहादुर राना, हुमाकुमारी जिसी (अञ्जु), मोहमद हुसेन, बिनाकुमारी थापा, संदिप थापा, रामकृष्ण शर्मा, फरेन्द्र थापा, डिलबहादुर कार्की, हरिप्रसाद शर्मा, कुमार खड्का, रामप्रसाद शर्मा, दिपक माझी, सुभास राजभण्डारी, पद्यचन्द्र राजभण्डारी रहेका छन् ।

जिल्लाबाट आएका नामलाई प्रदेश संगठन कमिटिले असोज २३ गतेसम्ममा आफ्नो राय सहित स्थायी कमिटिमा सिफारिस गर्ने र अन्तिम निर्णय स्थायी कमिटिले गर्ने जनाइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *