साताको तस्वीर : पौँदी अमराईको सरायँ नाँच !

कौरव खत्री, गुल्मी २०७४ असोज २१ । बडा दशैँका अवसरमा गुल्मी जिल्लाका विभिन्न कोतघर, देवीका मठमन्दिर लगायतका शक्तिपीठहरुमा खेलिने सरायँ नाँचको विशेष महत्व छ । यो सरायँ नाँच बडा दशैँको एकादशी देखी कोजाग्रत पूर्णिमा सम्म नाँच्ने गरिन्छ । बाईसे चौवीसे, भूरे टाकुरे राजाहरुका पालादेखी कोत मन्दिर, सत्तल (घर)मा राखिएका वा मठ मन्दिरमा चढाईएका खुकुरी, तरवार, खुँडा, भाला हातमा लिएर लामबद्ध भै विजयोत्सवका रुपमा नाँचिने नाँच नै सरायँ नाँच हो । यो नाँच पञ्चेबाजाको तालमा नाँच्ने गरिन्छ ।

सराया भन्नाले उच्च भूभागमा निर्मित सत्तल वा विसौना घर भन्ने बुझिन्छ । तत्कालीना राजाहरुले यसै सत्तल घरमा सामरिक महत्वका हात हतियारहरु संग्रह गर्ने र दशैँको मौकामा यिनै हतियार समातेर लामबद्ध भएर नाँचिने नाँच भएकाले यसलाई सरायँ नाँच भनिएको बुढापाकाहरुको विश्वास छ । एककिसिमले सरायँ नाँच तत्कालीन राजाहरुले आफना हतियार (शक्ति) प्रदर्शन गर्र्ने परम्परापनि हो ।

पौराणिक धर्मग्रन्थ अनुसार असत्य माथि सत्यको विजय उत्सवका रुपमा अर्थात शत्रु माथिको विजय हासिल गरेको खुसियाली स्वरुप दशैका अबसरमा सराय नाच खेल्ने गरिन्छ ।

धार्मिक तथा साँस्कृतिक महत्वका हिसावले पनि दशै पर्वसँग जोडिएको सरायँ नाचको आफ्नै मौलिक विशेषता रहेको छ ।

गुल्मी जिल्लाका विभिन्न कोतघर, मठमन्दिरहरुमा सरायँ नाँच प्रदर्शन गरिन्छ । गुल्मी संग जोडिएका बागलुङ, अर्घाखाँची, प्यूठान लगायतका जिल्लाहरुमा सरायँ नाँचको संस्कृति रहेको छ । कुनै ठाउँमा केहि भव्य र केहि ठाउँहरुमा सामान्य किसिमले सरायँ नाँच नाचिन्छ । गुल्मीका केहि ठाउँमा नाचिने सरायँ हेर्न छिमेकी जिल्लाहरुबाट समेत मानिसहरु आउने गर्छन् ।

गुल्मीको पौँदी अमराई, नेटा आदिका कोत घरहरुमा दशैँमा देखाईने सरायँ नाँच त्यस भेगमा निकै लोकप्रिय रहेको छ । पछिल्लो समय यस नाँचमा बालबालिका, युवायुवतीहरुको आकर्षण बढेकाले नाँचमा युवा समुहको सहभागित बढेको छ ।

बडा दशैँको एकादशी देखी कोजाग्रत पूर्णिमाका दिन सम्म गुल्मी जिल्लाको पौँदीअमराई स्थित भगवती माईको मन्दिरमा सरायँ नाँच भएको थियो । पौदीअमराई बाङ्गेमा भएको सराय नाचमा उल्लेख्य मात्रमा बालकदेखि युवा महिला र वृद्ध वृद्धासम्मको सहभागिता रहेको थियो ।

सोही सरायँ नाँचमा सहभागी ईष्मा गाउपालिका ४ का मान बहादुर घर्तीले सरायँ नाँचप्रति महिलाहरुको उपस्थिति बढ्दै जानुले यस नाँचको संरक्षण र प्रर्वद्धन थप बल पुग्ने भन्दै यो सबैका लागि खुसीको कुरा भएको ईबागलुङलाई बताए । सरायँ नाचलाई लोप हुनबाट बचाउन बाल बालिका सार्थ युवाहरुको बढदो सहभागिताबाट ठुलो बल मिलेको बताए ।

मुसिकोट नगरपालिका २ का १९ बर्षीय युवा सराय नाचका सहभागि कृष्ण सिँहले सरायँ नाँच जोगाउन धौ–धौ भएको भन्दै आफ्ना लेबलका साथीहरु प्राचीन संस्कृतिको रुपमा सरायँ नाँचलाई जोगाउन र संरक्षण गर्न क्रियाशील र जागरुक हनु पर्ने बताए ।

उनले कतिपय ठाँउमा सरायँ नाँचमा पुरुषको संख्या घट्दै जान थालेको अहिलेको अवस्थामा महिलाहरुको उत्साहपूर्ण सहभागिता र सक्रियताले सरायँ नाँचको संरक्षण एवं प्रवद्र्धनमा दरिलो आत्मविश्वास पलाएको बताए । ईबागलुङसंग कुरा गर्दै युवा कलाकार सिँहले आफूले पनि अग्रजहरुको देखासिकी गरेर सरायँ नाच खेल्दै आएको र आफू भन्दा तल्ला पुस्ताहरुलाई आफ्नो सिको गरेर सराय नाचको सिको गर्न आग्रह समेत गरे ।

सराय नाचलाई उचित संरक्षण र प्रवद्र्धन र पचार पसार गरि राष्ट्रिय स्तरमा परिचित गराई कला संस्कृति र परम्पराको जर्गेना गर्न पाका पुस्ताहरु पनि अझै सक्रिय देखिन्छन् ।

यसैवीच कोजाग्रत पूर्णिमाका दिन भगवती माई पूजा समिति पौदीअमराई बाङ्गेव्दारा सञ्चालित सरायँ नाँचमा मुसिकोट नगरपालिका १ अरेवाका १३ बर्षीय बालक कपिल रायमाझीले भेषभूषामा सजिएर सांकेतिक हतियार सहित सराय नाच खेलेपछि हर्ने दर्शकहरुलाई छक्क पारेका थिए ।

यता समितिले रायमाझीलाई उत्कृष्ट घोषित गदै प्रोत्साहन र हौसला स्वरुप नगद पुरस्कारले सम्मान गरेको थियो ।

बालक रायमाझीले ठुलाबडाहरुले सरायँ नाँच खेलेको देखेर यसैको सिको गदै आफूले पनि सराय नाच सिक्दै विगत एक बर्ष यता सराय नाचमा सहभागिता हुदै आएको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *