स्थानीय तहको विकासमा सबै पार्टी र जनप्रतिनिधि एक भएर लाग्नु आवश्यक : राज्यमन्त्री खड्का

क्लबलाई राजनीतिक गन्ध नआउने गरि नि:स्वार्थ रुपमा सामाजिक कार्यमा लाग्न नेपालीको आग्रह !

लोकेन्द्र निरासी, बुर्तिबाङ २०७४ असोज २० । बुर्तिबाङ राईजिङ युवा क्लबको १५ औं वार्षिकोत्सव तथा कोजाग्रत पूर्णिमा मेला २०७४ को आज एक कार्यक्रमका बीच गरिवी निवारण तथा सहकारी राज्य मन्त्री चम्पादेबी खड्काव्दारा उद्घाटन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी मन्त्री खड्काले उद्घाटनपछि बोल्दै स्थानीय तहको विकासको लागि सबै पार्टी र जनप्रतिनिधिहरु एक भएर लाग्नु पर्नेमा जोड दिईन । लामो समयपछि मात्र जनप्रतिनिधिहरुले स्थानीय तहको विकास गर्ने अवसर प्राप्त गरेकाले स्थानीय विकासमा यो पार्टी र त्यो पार्टी नभनी सबै एक भएर लाग्नुपर्ने उनको भनाई थियो । राज्यमन्त्री खडकाले बाँझो भूमिलाई उर्बर बनाउँदै कृषि क्षेत्रको विकासलाई जोड दिन सके र पर्यटकीय विकासलाई महत्व दिन सके देश छिटै समृद्ध हुने बताईन् ।

ढोरपाटन बुर्तिबाङ क्षेत्र पर्यटकीय दृष्टिले समेत महन्वपूर्ण भएकाले यहाँको विकास कार्यमा आफूले सधै सक्दो सहयोग समेत गर्ने बताउँदै राज्य मन्त्री खड्काले क्लबलाई शुभकामना दिएकी थिईन् । कार्य व्यस्तताका कारण कार्यक्रमको उद्घाटन पश्चिात राज्य मन्त्री खड्का आजै बागलुङ फर्किएकी छन् ।

त्यसैगरि कार्यक्रमका विशिष्ट अतिथि ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले कार्यक्रममा बोल्दै आफू यसै क्षेत्रमा जन्मे हुर्केको भएकाले ढोरपाटन बुर्तिबाङ क्षेत्रको विकासमा आफूले निस्वार्थ भावले काम गर्ने बताउँदै सबै जनताहरुलाई संगै हातेमालो र सहयोग गर्न आग्रह गरेका थिए ।
नगर प्रमुख नेपालीले आफू एमालेबाट निर्वाचित भएपनि यस क्षेत्रको विकासको लागि सबै पार्टीसंग समान रुपमा सहकार्य गर्ने बताए ।

बुर्तिबाङ राईजिङ युवा क्लबलाई नगर प्रमुख नेपालीले राजनीतिक गन्ध नआउने गरि निस्वार्थ रुपमा सामाजिक कार्यमा लाग्न समेत आग्रह गरेका थिए । कार्यक्रमकै अवसरमा उनले क्लबलाई व्यक्तिगत रुपमा नगद रु. १ लाख १ हजार रुपैयाँ समेत प्रदान गरेका छन् भने नगरपालिकाबाट पनि केही बजेट विनियोजन गर्ने बताउँदै क्लबलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष चन्द्रलाल अर्याल, पूर्व बुर्तिबाङ नगर विकास समितिका अध्यक्ष अर्जुन शेरचन साथै क्लबका पूर्व अध्यक्ष नरहरि भुसाल लगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाको १५ औं वार्षिकोत्सव तथा कोजाग्रत पूर्णिमा मेला २०७४ को अवसरमा क्लबले खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता, खुल्ला दोहोरी गीत प्रतियोगिता, खुल्ला एकल तथा सामुहिक नृत्य प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, स्लो बाइक रेस प्रतियोगिता, खुल्ला पुरुष तथा महिला छेलो प्रतियोगिता, रस्साकस्सा प्रतियोगिता, पन्चेबाजा प्रतियोगिता, तारा खेल प्रतियोगिता, कृषि प्रदर्शनी प्रतियोगिता लगायतका कार्यक्रमहरुको आयोजना गरिएको छ । आयोजित खेलकुद कार्यक्रमहरु भोलि विहानदेखि नै संचालन गरिने जनाएको छ ।

कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, नव निर्वाचित जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, क्लबका सम्मानित, मानार्थ र आजीवन सदस्यहरु, आयोजक समितिका पदाधिकारीहरु, स्थानीय समाजसेवी बुद्धिजीवी, कलाकार, पत्रकार लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

क्लबका अध्यक्ष विनोद भण्डारीको अध्यक्षता र उपाध्यक्ष बुद्धजंग सिर्पालीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन राम प्रसाद आचार्य र मिनु विसीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *