जिल्लाको पश्चिम क्षेत्रमै दशैँमा सबैभन्दा बढी बलि चढ्ने थापागाउँको खाँडामष्ट मन्दिर

लोकेन्द्र निरासी, बुर्तिबाङ, २०७४ असोज १७ । निसीखोला गाउँपालिका थापागाउँमा अवस्थित खाँडामष्ट मन्दिरमा यस वर्षको वडादंशैमा बागलुङ जिल्लाको पश्चिम क्षेत्रमै सबैभन्दा बढी बलि चढेको छ । यस मन्दिरमा हरेक वर्ष वडादंशैको महाअष्टमीका दिन भेडाको बली दिने गरिन्छ । यस वर्षको दंशैमा १ सयभन्दा बढी भेडाको बली चडेको मन्दिरका पुजारी विद्याधर रेग्मीले जानाकारी दिए ।

बाईसे चौबिसे राज्यको समयमा जुम्ला र डोटीको रेगाम भन्ने ठाउँबाट रेग्मीहरुको कुल खानदान छुटेर बोहरागाउँको थापागाउँमा आएको विभिन्न ऐतिहासिक प्रमाणहरु भेटिन्छन् । रेग्मीहरुको पुर्खाले जैसी लेख्ने गरेको पाइन्छ । रेगाम भन्ने ठाउँबाट आएका कारण उनीहरुलाई रेग्मी भन्न थालेपछि उनीहरुले पछि थर पनि रेग्मी नै लेख्न थालेको हुन । सोह«ौं शताब्दीको अन्त्यतिर अर्नाकोटमा राजा हुने बेला नारद जैसी (रेग्मी) राजाका पुजारी थिए । पछि उनका छोरा सुजन जैसी (रेग्मी) ले थापागाउँमा सानो पातीले बारेको मन्दिर बनाई कुल देवता खाँडा मष्टको पूजा गर्ने गरेको र पछिका सन्ततिहरुले त्यसै स्थानमा २२ हात लामो घर बनाई एक छेउँमा पूजा कोठा बनाई लामो समयसम्म त्यहींबाट पूजाआजा गर्ने गरेको प्रमाणहरु रेग्मी बंशावलीमा भेटिएको स्थानीय शिक्षक शिवलाल रेग्मीले बताए । पछि मन्दिर बनाएपछि पूजाआजालाई व्यवस्थित बनाउँदै लगेको देखिन्छ । अहिलेको मन्दिर वि.सं. २०४० सालतिर निर्माण गरिएको हो ।

यस खाँडामष्ट मन्दिरमा पूजाआजा र भाकल गरे मनोआकांक्षा पूरा हुने विश्वास पहिलेदेखि नै रहि आएको छ । त्यसैले विस्तारै रेग्मीहरुले मात्र नभई सबै जातजातिहरुमा खाँडामष्टप्रतिको आस्था र विश्वास रहँदै गएपछि सबैले पूजाआजा र भाकल गरि देवतालाई मान्ने प्रचलन बढ्दै गएको देखिन्छ । यस मन्दिरमा बडादंशैमा विशेष विधिपूर्वक पुजाआजा गर्ने गरिन्छ । घटस्थापनादेखि पुजारीले एक छाक मात्र खाएर चोखोनिष्ठाका साथ विधिपूर्वक पूजा गर्ने गरिन्छ । महाअष्टमीको दिन विधिपूर्वक पुजाआजा गरि बली दिइन्छ । स्थानीयबासीले प्रत्येक घरबाट भेटी र धजा अक्षता समेत चढाउने गर्छन् । सोही दिन बेलुका भजनकृतन गरि कालरात्री मनाउने प्रचलन समेत रहेको छ ।

परम्परागतदेखि नै मन्दिर भित्र पुजारी थरमात्र प्रवेश गर्न पाउँछन् भने मन्दिरको माथिल्लो तलामा देवताको मूर्ति रहेको स्थानमा पुजारी बाहेक कोही पनि जान अनुमति छैन । मन्दिरमा देवताको निकै पुरानो कुनै प्रतापी मूर्ति रहेको जानाकारहरु बताउँछन् । तर त्यसलाई पुजारीबाहेक अरुले हेर्ने अनुमति छैन । एउटा पुजारीको शेषपछि क्रमश ः नियमानुसार अर्काे पुजारी बन्ने परम्परा रेग्मीहरुमा रहेको छ ।

गाउँबाट विवाह गरि अन्त गएका जो कोही चेलीबेटीहरुले पनि अनिवार्य खाँडामष्टलाई पाठो चढाउने प्रचलन छ । दंशैमा पाठो चढाएपछि प्रत्येक ३ वर्षमा हुने रेग्मीहरुको कुलपूजा (देवाली) मा पनि अनिवार्य रुपमा पाठो चढाउनु पर्ने मान्यता रहेको छ । त्यसैले कुलपूजा (देवाली) को वर्ष दंशैमा पनि अरु वर्षभन्दा बढी बली चढ्ने गर्छ । यस वर्ष मंसिरमा रेग्मीहरुको कुलपूजा (देवाली) समेत परेको छ । दंशैमा भेडाको पाठो चढाइन्छ भने देवालीमा बाख्राको पाठो चढाउने (बलि दिने)प्रचलन छ ।

यो मन्दिर दशैंको कोतघर समेत हो । मन्दिरमा घटस्थापनामा विधिपूर्वक जमरा राख्ने र विजया दशमीको दिन टीका चढाएर विधिपूर्वक साइत गरेपछि मन्दिरको टीका जमरा लगेर गाउँलेहरुले आफ्नो टीका जमारामा मिसाई टीका लगाउने प्रचलन समेत छ । कोही मन्दिरमै आएर पुजारीको हातबाट टीका लगाउने पनि गर्छन् ।

आफ्नै साँस्कृतिक र धार्मिक महत्व बोकेको यस मन्दिर प्रचारप्रसारको अभावले ओझेलमा परेपनि यसको साँस्कृतिक महत्वलाई संरक्षण र जगर्ना गर्न सके यहाँको धार्मिक, साँस्कृतिक र पर्यटकीय संभावनाहरुलाई विकास गर्न सकिने देखिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *