ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण

महेन्द्र केसी,पर्वत २०७४ असोज १६ । सांसद विकास लम्सालले कुस्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष कुमार सुवेदी र वडा अध्यक्ष राजेन्द्र पौडेललाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका छन् ।

निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत आर्थिक वर्ष ०७३/७४ को बजेटमार्फत सांसद लम्सालले रु १० लाख रुपैयाँ र प्रवासीको सहयोगमा उक्त एम्बुलेन्स खरिद गरिएको हो । एम्बुलेन्स सेवा शुरु भएसँगै नगरपालिकाका साविकका गाविसहरु खौलालाकुरी, आर्थरडाँडाखर्क, पकुवा, कार्किनेटा लगायतका बासिन्दाहरु बढि मात्रामा लाभान्वित भएका छन् ।

सांसद लम्सालले विकास निर्माणको काममा एकजुट भएर लाग्न नगरबासीलाई आग्रह गरे । उनले गाउँको विकासमा स्थानीयनै सक्रिय हुनुपर्ने भन्दै सवै एक जुट हुनुपर्नेमा जोड दिए । गाउँमा एम्बुलेन्स सेवा शुरुभएसँगै स्वास्थ्य क्षेत्रमा सहज हुने बताए ।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेश तिमिल्सिनाले नेपाली नागरिकले चाहेजस्तो संविधान झण्डै ७ दशकपछि प्राप्त भएको बताउँदै अब संविधानको सफल कार्यान्वयसँगै मुलुकको आर्थिक, सामाजिक र राजनीतिक विकासमा लाग्नुपर्ने बेला आएको बताए । उनले आफु जिल्ला विकास समितिको सभापति रहकै बेला पर्वत जिल्लाको भाग्यरेखा कोरिएको बताउँदै भएका सम्भावनाहरुलाई अधिकतम उपयोग गरेर समग्र जिल्लाको दिगो विकास निर्माणका कुराहरुमा जोड दिनुपर्ने बताए ।

जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडेलले पर्वत जिल्लाका समग्र विकासका निम्ति स्थानिय तहहरु सक्रिय हुनुपर्नेमा जोड दिए ।
जिल्लाका सात स्थानीय तहहरुले आआफ्ना गाउँ÷नगरबासीको समस्या समधान र विकासको पूर्वधार तयार गरी दिगो विकासमा लाग्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य हेमराज सापकोटा, नेकपा एमाले केन्द्रिय संघीय मामिला विभागका सदस्य मेघनाथ सुवेदी, माओवादी केन्द्रका केन्द्रिय सदस्य ढाकाराम गौतम, नेपाली काग्रेसका प्रतिनिधि विष्णुवहादुर विक, नेकपा एमालेका गुमा गौतम लगायतले बोलेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *