सहकारी ऐनमा ७५ प्रतिशत राम्रा कुरा छन् ,बाँकी अझै सुधार गर्नु पर्ने छ- उप्रेती

बागलुङ, २०७४ असोज १२ । राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रवन्ध सञ्चालक के.बी. उप्रेतीले राज्यले बनाउने नीति नियम अनुसार सहकारी संघ संस्थाहरु सञ्चालन गर्न सहकारीकमीहरुलाई आव्हान गरेका छन् ।

जिल्ला सहकारी संघ बागलुङले बिहीवार बागलुङ बजारमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा सहकारी ऐन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कुनै पनि नीति नियम बनाउनु भन्दा पूर्व सल्लाह, सुझाव र दवाव दिए पनि पारित भैसकेपछि त्यसलाई कार्यान्वयन गर्नुको विकल्प नभएको उनको भनाइ थियो ।

संसदबाट पारित सहकारी ऐनमा ७५ प्रतिशत राम्रा कुरा रहेको र २५ प्रतिशत अझै सुधार गर्नु पर्ने विषय रहेको जानकारी गराउदै उनले सकारात्मक विषयलाई पूर्ण रुपमा कार्यान्वयन गर्दै सुधार गर्नु पर्ने विषयमा संशोधनका लागि पहलकदमी गरिरहनु पर्नेमा जोड दिए ।

सहकारी क्षेत्रको विकासका लागि प्रवद्र्धन कोष, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधीकरण, कालो सूचीको व्यवस्था, प्रतिनिधिमुलक साधारणसभा, कर समायोजन लगायतका विषय सकारात्मक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले ऐनको बारेमा जानकारी गराउदै उत्पादन तथा सेवा क्षेत्रका सहकारीहरुलाई थप गति दिनका लागि ऐन सहयोगी हुने उनले धारणा व्यक्त गरेका थिए ।

केसीले विशिष्ठिकृत सहकारी संघको अवधारणा ल्याएर जलविद्युत, यातायात, कृषि उपज, फलफूल प्रशोधन, चिनी उद्योग, शीत भण्डार, अस्पताल लगायतका कार्यहरु गर्न सहकारीहरुले संयुक्त लगानी गर्न सक्ने प्रावधानले सहकारीमार्फत उत्पादन र सेवा क्षेत्रमा काम गर्नेहरुलाई उत्साहित बनाएको बताए ।

कार्यक्रममा बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष अञ्जु जिसी, वचत तथा ऋण सहकारी संघ बागलुङका सचिव ऋषिराम गौतम, वचत तथा ऋण सहकारी संघ काठमाडौंका सञ्चालक तारानाथ सापकोटा लगायत विभिन्न सहकारी संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना व्यक्त गर्नुका साथै जिज्ञासा राखेका थिए ।

कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष अशोकगोविन्द राजभण्डारीको स्वागत र सचिव युक्तप्रसादद कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *