ठेउले खोलामा निर्मित बेलिबृजको उद्घाटन : कालीगण्डकी करिडोरमा सवारी आवागमन सुरु !

किरण आचार्य, बागलुङ २०७४ असोज १० । नेपाली सेना व्दारा निर्माणाधीन कालीगण्डकी करिडोर सडक अन्तर्गत बागलुङ जिल्लाको जैमिनी नगरपालिका ठेउले खोलामा निर्माण सम्पन्न भएको बेलीबृजको सोमबार प्रधानसेनपति महारथी राजेन्द्र क्षत्रीव्दारा एक भव्य समारोहकावीच शिला स्तम्भ अनावरण गरी समुद्घाटन गरिएको छ । सोहि अवसरमा प्रधान सेनापति महारथी क्षत्री तथा सांसद प्रकाश शर्मा पौडेलले संयुक्तरुपमा रिवन काटेर पुलको उद्घाटन गरिएको थियो ।

नेपाली सेनाले ठेउले खोलाको जैमिनी घाटमा झण्डै ४ करोडको लागतमा निमार्ण गरेको बेलीब्रिज डिएसआर मोडलको करिब ३२ मिटर लम्बाई र १४ फिट चौडाई, भारबहन क्षमता ३० देखि ३२ मेट्रिक टन रहेको छ ।

बेलिबृज उद्घाटनका लागी प्रधान सेनापति महारथी क्षत्री हेलिकपटरबाट आईपुग्दा जैमिनी नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेल, उपप्रमुख लिला राना लगायत जनप्रतिनिधीहरु, पन्चकन्या, प्रजिअ विष्णुबहादुर थापा लगायत सर्वसाधारणले पन्चेबाजा सहित भव्य स्वागत गरेका थिए ।

बेलिबृजको उद्घाटन पछि बोल्दै प्रधान सेनापति महारथी क्षत्रीले ‘जहाँ अप्ठेरो त्यहाँ सेना भन्ने सिद्धान्तका साथ सेनाले काम गरिरहेको’ उल्लेख गर्दै ‘सबै मिलेर काम गर्दा जस्तो सुकै अप्ठ्यारो काम पनि सम्पन्न गर्न सकिने, बताए ।

कार्यक्रममा सांसद प्रकाश शर्मा पौडेलले दशैँ पछी कालीगण्डकी करिडोरको बजेट निकासा हुने बताउदै करिडोरको सडक विस्तार गरी १० मिटर चौडा बनाउने र ग्राविलिङ गरी कालोपत्रे गर्न सडक विभागलाई दिने जानकारी दिए ।

सो अवसरमा कालीगण्डकी करिडोर सडक निमार्ण कार्यदलका प्रमुख सेनाली इ रेश्मीराज भट्टराईले अहिले सम्म सडक निर्माणमा ९५ करोड खर्च भएको विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रमका अवसरमा जैमिनी नगरपालिकाका प्रमुख शर्मा र उपप्रमुख रानाले प्रधान सेनपति महारथी क्षत्रीलाई सम्मान पत्रका साथै मायाको चिनो प्रदान गरेका थिए ।

८० किलो मिटर लामो कालीगण्की करिडोर सडकमा चार बेलिबृज र दुई काठे पुल निर्माण गरिएका छन् । गुल्मी खण्डको घुमाउने र पालुङ खोला तथा बागलुङको ठेउले खोलामा बेलिबृज निर्माण सम्पन्न भएको छ भने बागलुङ बेलबगरमा पनि सम्पन्न हुने अवस्थामा रहेको छ ।

श्रोतका अनुसार आजै पाँच ओटा सवारीहरु बुटवलबाट बागलुङका लागि छुटेका छन् भने सडक पूर्णरुपमा सन्चालनमा आएको छ, सवारी साधनहरु ओहोर दोहोर गरिरहेका छन् । बागलुङबाट बुटवल पुग्न अब ५ घण्टा भन्दा बढी नलाग्ने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *