युवा उद्यम कार्यक्रम सञ्चालनका लागि त्रिपक्षीय सम्झौता

सुमन जि.सी, बागलुङ २०७४ असोज ९ । स्थानीय स्तरमा रहेको युवा जनशक्तिको समावेशी विकास सहित स्थानीय स्तरमा स्वरोजगारी सिर्जना गरी युवा पलायनको अवस्थालाई न्यूनिकरण गरी ग्रामिण क्षेत्रमा युवा उद्यम विकास गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद्को दीर्घकालिन योजना र परिकल्पना अनुरुप नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनसंगको सहकार्यमा सञ्चालित युवा उद्यम कार्यक्रम अन्तर्गत बागलुङमा आज एक कार्यक्रमका विच त्रिपक्षीय सम्झौता कार्य सम्पन्न भएको छ ।

जिल्ला युवा समिति बागलुङ, वित्तीय सेवा प्रदायक संस्थाको रुपमा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङ र जिल्लामा परियोजना सञ्चालनका लागि प्रस्ताव पेश गरी छनौट भएका उद्यम समुह विच सम्झौता कार्य सम्पन्न भएको हो ।

युवा उद्यम कार्यक्रम सञ्चालनका लागि बागलुङबाट ४ वटा समुहहरु छनौटमा परेका थिए । १ उद्यम समुहमा १० जना व्यक्तिहरु रहने प्रावधान रहेको छ । छनौटमा परेका समुहहरुलाई कार्यक्रम सञ्चालनका लागि प्रत्येक समुहलाई ५ वर्षका लागि रु. ५ लाख रुपैया निरब्याजे दिने र विभिन्न समयमा जिल्ला युवा समिति र सिवाईसीले उद्यम सञ्चालन भए नभएको बारेमा स्थलगत निरीक्षण गरी समुहहरुलाई आवश्यक निर्देशन दिन सक्ने लगाएतका विषयहरु सम्झौतामा उल्लेख छ ।

सम्झौता कार्यक्रममा युवा विकास समिति बागलुङका प्रमुख कुश्मराज सुवेदी, सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल र नेफ्स्कून फिल्ड कार्यालय पोखराका प्रमुख जगन्नाथ लामिछानेले कार्यक्रमको बारेमा उद्यम समुहहरुलाई स्पष्ट पारेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *