राज्यले कृषि क्षेत्रमा गर्ने लगानी सहकारीमार्फत परिचालन गर्नु जोड

बागलुङ, २०७४ असोज ९ । मिर्मिरे कृषि सहकारी संस्था लिमिटेड बानपा–३ कृषि गाउँ बागलुङले आयोजना गरेको २ दिने सहकारी शिक्षा तथा नेतृत्व विकास तालिम सोमबार सम्पन्न भएको छ ।

तालिमका सहभागी कृषकहरुले जनतालाई आत्मनिर्भर बनाउनका लागि कृषि पेशालाई समय सापेक्ष बनाउनका लागि राज्यको सहयोगी भूमिका हुनु पर्नेमा जोड दिएका छन् ।

राज्यले कृषकलाई दिने सेवा सुविधा टाठा बाठाले लिने गरेको गुनासो गर्दै सहभागीहरुले सहकारी मार्फत राज्यका सेवा सुविधा ल्याउन सके आम कृषकहरुमा सहज रुपमा पुग्ने बताएका थिए ।

सहकारीमा विपन्न वर्गका कृषकहरुको पनि सिधै पहुँच हुने भएकाले राज्यले कृषि क्षेत्रमा गर्ने लगानी सहकारी मार्फत परिचालन गर्दा लक्षित वर्गमा पुग्ने र त्यसबाट प्रतिफल समेत आउने उनीहरको भनाइ थियो ।

तालिमबाट सहकारी सञ्चालन, कृषि र पशुपालन व्यवसाय मार्फत आयआर्जन र वचत, संस्थागत रुपमा काम गर्नका लागि श्रम, शिप र प्रविधिको प्रयोग, उत्पादित वस्तुको बजारीकरणका लागि बोल्ने कला लगायतका विषयमा जानकारी प्राप्त भएको भन्दै उनीहरुले सिकेको सिप र ज्ञान कृषि क्षेत्रको विकासमा लगाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिमका प्रशिक्षक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले कृषि पेशालाई मर्यादित, व्यवस्थित र व्यावसायिक बनाउन सकियो भने आयआर्जनमा वृद्धि गरी रोजगारी सिर्जनामा सहयोग पुग्ने बताए ।
उनले तालिममा सिकेको कुरा सहकारीका सदस्य लगायत नजिकका कृषकहरुलाई सिकाएर सबैलाई उत्पादनमा लाग्न, उत्पादित वस्तुको बजारीकरण संस्थागत रुपमा गर्न सुझाव दिए ।

तालिम समापन कार्यक्रममा संस्थाका उपाध्यक्ष चन्द्रनिधी पौडेल, सहभागीहरु मिना शर्मा, शान्तिदेवी शर्मा, जगबहादुर विक लगायतले प्रतिवद्धता मन्तव्य व्यक्त गरेका थिए ।

तालिम समापन कार्यक्रम संस्थाका अध्यक्ष गंगाबहादुर थापाको अध्यक्षता र सदस्य नविन थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी र नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले सहजीकरण गरेको तालिममा संस्थाका सञ्चालक तथा लेखा समितिका पदाधिकारी तथा सदस्यहरु, अगुवा कृषक शेयर सदस्यहरु र कर्मचारी गरी २५ जनाको सहभागिता रहेको कोषाध्यक्ष थानेश्वर सुवेदीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *