तीन लाख मुल्यका अर्ध सक्कली चाँदीका गरगहना सहित भारतीय नागरिक पक्राउ !

सरोकारवाला निकायबाट बागलुङका सुनचाँदी पसलहरुको प्रभावकारी अनुगमन हुन जरुरी !

रबिना बोहरा, बागलुङ, २०७४ असोज ८ । बागलुङमा बिक्री गरिने सुनचाँदीका गरगहनामा मिसावटको मात्रा बढी हुने चर्चा बाहिर आएकै समयमा एक जना भारतीय नागरिक पचास प्रतिशतमात्र सक्कली चाँदी र पचास प्रतिशत मिसावटबाट बनेका झण्डै ४ सय तोलाका गरगहना र सामान सहित पक्राउ परेका छन् ।

बागलुङमा यस घटनाले बषौँ देखि सुनचाँदीको अबैध कारोबार चल्दै आएको पुष्टि भएको छ । प्रहरीको यस सफलताले बागलुङका सुनचाँदी पसलका व्यापारीहरु प्रति पनि प्रश्न चिन्ह उठाएको छ । हरेक महिना घातक पदार्थ मिसावट गरी व्यवसायीहरुले विक्रि गर्ने सुनचाँदीमा आम उपभोक्ताहरु ठगिदै आएको छन् ।

बागलुङ नगरपालिका–२ जिल्ला हुलाक कार्यालय अगाडीको चोकमा भारतको मोतिहारी जिल्ला औरहिया थाना आधापुर–४ बस्ने ५१ बर्षका सुरेन्द्र साहलाई झोला भित्र प्लाष्टिकले पोको पारेर ३ सय ९३ तोला अर्ध सक्कली चाँदीका गरगहना लिएर हिडिरहेको अवस्थामा पक्राउ गरेको आाईतवार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले जानकारी गराएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चन्द्र कुवेर खापुङले विशेष सुराकीको आधारमा हालको बजार मुल्य अनुसार ३ लाख २० हजार रुपैँया पर्ने ४ किलो ५ सय ग्राम चाँदी निज साहबाट बरामद भएको जानकारी दिँदै कानुनी कारबाहीका लागी अवैध चाँदीलाई भन्सार कार्यालय सुनौली पठाउने बताए ।

निज भारतीय नागरिक साहका साथबाट बरामद भएको सामानहरुमा पाउजु, कम्मरबन्ध, बाला, सिन्दुर राख्ने बट्टा लगायतका विभिन्न किसिमका चाँदीका सामानहरु रहेका छन् । उक्त सामानमा ५० प्रतिशत मात्रै चाँदी मिसिएको स्वयं पक्राउ परेका साहले स्वीकार गरेका छन् ।

वीरगञ्जको रक्सौल नाका हुदैँ साह बागलुङमा चाँदी विक्रिका लागि आएको खुलेको छ । साहले आफु ६/७ बर्ष देखि लगातार महिनाको एक पटक बागलुङ आउने गरेको पनि पत्रकार सम्मेलनमा बताए ।

अहिले सम्म बागलुङका सुनचाँदी पसलहरुको प्रभावकारी अनुगमन हुन सकेको छैन । अन्य समयमा भन्दा चाडपर्वहरुमा यस्ता गतिविधी धेरै हुने हुनाले यस्ता गतिबिधिहरुलाई न्युनीकरण गर्न जिल्ला प्रहरी कार्यालय बागलुङले सादा पोशाकमा प्रहरीलाई परिचालन गरेको बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *