पोखराको शुभकामना सहकारी, साधारणसभा गर्न बेनीमा !

म्याग्दी, २०७४ असोज ७ । धेरैलाई सहकारी संस्था भन्दा साथ वित्तीय कारोबार गरेर नाफा कमाउने संस्था भन्ने लाग्छ, तर सहकारीले केवल वित्तीय कारोबार मात्रै गर्दैनन्, वित्तीय कारोबार गर्ने संस्था मात्रै भनियो भने सहकारी क्षेत्रलले अन्य क्षेत्रमा गरेको योगदानमाथि अन्याय हुन्छ ।

सहकारीले आफ्ना सदस्यको आयस्तर माथि उठाउन, समाजमा आर्थिक गतिविधिलाई अगाडि बढाउन, समाजमा हुने साह्रो गाह्रोमा जनतालाई साथ दिनुका साथै पर्यटन प्रवद्र्धनमा समेत उल्लेख्य योगदान गर्दै आइरहेका छन् ।

देशभर स्थापना भएका ३५ हजार सहकारी संघ संस्था मध्ये ५० प्रतिशत सहकारीहरुले वार्षिक रुपमा भ्रमणको कार्यक्रम सञ्चालन गर्ने गर्छन, यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको होटल व्यवसायीहरुले बताउने गरेका छन् ।

सहकारीहरुले समाज विकासमा राम्रो काम गरेका छन्, तर राज्य र निजी क्षेत्रले सहकारीका कमजोरी मात्रै खोज्छन, सहकारीकर्मीहरुको गुनासो छ ।

सहकारीहरुले पर्यटन प्रद्धर्वनका लागि काम गर्दै आउने क्रममा पोखराको सिर्जनाचोकमा सञ्चालित एक वचत सहकारीले आफ्नो वार्षिक साधारणसभा म्याग्दीको बेनीमा सम्पन्न गरेर आन्तरिक पर्यटन प्रवद्र्धनलाई टेवा पु¥याउने प्रयत्न गरेको छ ।

पोखरा लेखनाथ नगरपालिका वडा नं. ८ सिर्जनाचोकमा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना ३ सय १५ जना शेयर सदस्यहरुलाई सहभागी गराएर बेनीमा संस्थाको आठौ वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

शनिवार बेनीमा आयोजित वार्षिक साधारणसभाको राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले उद्घाटन गरेका हुन ।

उनले सहकारीहरुले आफ्ना सदस्यहरुलाई आयआर्जन वृद्धि गर्न, आम्दानी गरेको रकम वचत गर्न, व्यवसायिक बन्न, सामुहिक रुपमा काम गर्न प्रेरित गर्नुका साथै घरेलु तथा साना उद्योग सञ्चालन गर्न, जलविद्युत, पर्यटन, स्वास्थ्य शिक्षा, सञ्चार लगायतका क्षेत्रमा लगानी गरी पूँजि वृद्धि गर्न योगदान गरेको बताए ।

प्रत्यक्ष रुपमा पूँजि निर्माणको कामका साथै अप्रत्यक्ष रुपमा सहकारीहरुले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएको उहाँको बताउनुभयो । पोखराको सहकारीले बेनीमा ३ सय भन्दा बढी सदस्यलाई सहभागी गराएर साधारणसभा गर्दा बेनी बजारको व्यापार व्यवसाय वृद्धिमा सहयोग पुगेको उनको भनाइ थियो ।

साधारणसभामा जिल्ला सहकारी संघ बागलुङका सञ्चालक तथा आदर्श सञ्चार सहकारी संस्था बागलुङका उपाध्यक्ष अञ्जु जि.सी, संस्थाका संस्थापक अध्यक्ष नरबहादुर कार्की, सल्लाहकार महेश पराजुली, शेयर सदस्यहरु कृष्णप्रसाद सापकोटा र जमुना आचार्यले सहकारीहरु मार्फत देशको आर्थिक विकासमा गर्न सकिने धेरै अवसर भए पनि राज्यको नीति र सहकारी क्षेत्रमा देखिएको संकुचन समस्या भएको बताएका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष दलबहादुर जिसीको अध्यक्षता, उपाध्यक्ष प्रमिलादेवी लामिछानेको स्वागत र सचिव प्रेम शंकर बरुवालको सञ्चालनमा सम्पन्न भएको थियो ।

साधारणसभामा संस्थाका सचिव बरुवालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष ठाकुरप्रसाद सापकोटाले आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक रामचन्द्र आचार्यले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा जन्मिएर पोखरा गई स्थायी वा अस्थायी बसोबास गर्नेहरु मिलेर सञ्चालन गरेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाले वार्षिक साधारणसभा धौलागिरिका चारवटै जिल्लामा पालैपालो गर्ने निर्णय गरेको छ ।

३ सय १५ जना शेयर सदस्य रहेको संस्थामा गत आर्थिक वर्षको अन्त्यसम्म २ करोड ५० लाख शेयर रकम, ४ करोड २० लाख वचत र ५ करोड ८० लाख लगानी रहेको कोषाध्यक्ष ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *