सहकारी क्षेत्रको श्रम, सीप र पूँजीलाई उत्पादन र सेवामा परिचालन गरौ- जि.सी.

म्याग्दी, २०७४ असोज ७ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी क्षेत्रमा भएको श्रम, सीप र पूँजिलाई उत्पादन, प्रशोधन र बजारीकरणका साथै सेवा क्षेत्रमा केन्द्रीत गर्नु पर्नेमा जोड दिएका छन् । पछिल्लो समयमा जनताले सहकारीलाई अप्ठेरोको साथीको रुपमा ग्रहण गरेपनि जीवन स्तर परिवर्तनका लागि अझै ध्यान दिनु पर्ने उनले बताए ।

न्यू नेशनल वचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनी म्याग्दीले शनिवार आयोजना गरेको एक दिने सहकारी प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै जिसीले यस्तो बताएका हुन् ।

सहकारीलाई विश्वास गर्ने, सहकारी क्षेत्रमा लगानी गर्ने, वचत गर्ने र सहकारी मार्फत पेशा व्यवसाय गर्नेको संख्या बढेको छ, यसलाई अझै प्रतिफलमुखी बनाउनका लागि सहकारी क्षेत्रमा रहेको श्रम, सीप र पूँजिलाई उत्पादन र सेवा क्षेत्रमा लगाउनु पर्ने नको भनाई थियो ।

सहकारीलाई वित्तीय कारोबार गर्ने माध्यमका रुपमा मात्र देख्ने राज्य सञ्चालकहरुको अवधारणालाई परिवर्तन गर्नका लागि सहकारीहरुले ऐक्यवद्धताका साथ प्रतिफलमुखी काममा ध्यान दिनु पर्ने उनको सुझाव थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका सञ्चालक तथा आदर्श सञ्चार सहकारी संस्था बागलुङका उपाध्यक्ष अञ्जु जिसीले सहकारीले महिलाहरुलाई आर्थिक रुपमा सक्षम र सामाजिक रुपमा सचेत बनाउदै आएको बताईन । राज्यका हरेक तहमा महिलाको ३३ प्रतिशत सहभागितालाई संविधानले नै सुनिश्चित गरेपनि अझै महिलाहरु नेतृत्वमा पुग्न नसकेको भन्दै उनले महिलाहरुलाई हरेक क्षेत्रमा नेतृत्वदायी भूमिकामा लैजानका लागि सहकारी उपयुक्त माध्यम हुने धारणा व्यक्र गरेकी थिईन् ।

कार्यक्रममा धन जनता मावि मुनाका प्रधानाध्यापक पुस्कर भण्डारी, संस्थाका संस्थापक अध्यक्ष रुद्रलाल उपाध्याय, लेखा समितिका संयोजक अमृतदेवी बाँनिया लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाकी अध्यक्ष अमृता भण्डारीको अध्यक्षता, सचिव गीता रिजाल शर्माको सञ्चालन र सहसचिव प्रताव बाँनियाको स्वागतमा सम्पन्न भएको कार्यक्रममा संस्थाका सञ्चालक, कर्मचारी र सक्रिय शेयर सदस्यहरु सहित २५ जनाको सहभागिता रहेको थियो ।

तालिममा सहकारी संस्था सञ्चालनका लागि आवश्यक विधि, नीति र प्रविधि लगायत सहकारी ऐनका बारेमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *